गुमनाम ‘यो लुम्बिनी’ का परिकल्पनाकार
सिंगो भूगोल आकर्षित गर्ने सामथ्र्य राख्ने ठाउँ हो– लुम्बिनी। लुम्बिनीसँगै धेरैले उच्चारण गर्ने नाम हो– प्रा. केन्जो टाँगे। अर्थात् जापानी वास्तुकलाविद्। सन् १९७८ मा उनै टाँगेले ६ वर्ष लगाएर तयार पारेका थिए– लुम्बिनी गुरुयोजना। हरेक पुरुषको सफलतामा नारीको भूमिका अहं हुन्छ भन्ने भनाइ जोड्ने हो भने टाँगेसँग जोडिएको एउटा महत्वपूर्ण व्यक्तित्व हो– गजेन्द्रराज देवकोटा। यी उनै व्यक्तित्व हुन्, जसले गुरुयोजना बन्नुअघि र बनेपछि लुम्बिनीलाई लुम्बिनी बनाउन भगीरथ प्रयत्न गरेका थिए। तर देवकोटा ‘बत्तीमुनिको अँध्यारो’ जस्तो सधैं गुमनाम रहे।
‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वसामु चिनाउनुपर्छ भन्ने विचार, चिन्तन र सोच राखी देश–विदेशमा पुगेर भेटेजति सबैलाई घच्घच्याउने एक मात्र व्यक्ति गजेन्द्रराज देवकोटा थिए भन्दा अतिशयोक्ति हुन्न’, प्रताप खत्रीले ‘बुबा !’ कृतिभित्र ‘ओझेलभित्र कर्मयोगी गजेन्द्र’ शीर्षकमा लेखेका छन्। चार दशकअघिको त्यो सपना सपनामै सीमित छ। उक्त गुरुयोजना चार दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। सरकार र लुम्बिनी विकास कोषले पटकपटक अब दुईचार वर्षमा सम्पन्न हुन्छ भने पनि अझै ६ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। तर अहिलेसम्म गुरुयोजनाको काम मात्र ८० प्रतिशत सकिएको छ।
त्यसबेला लुम्बिनी रूपन्देही माझखण्ड तप्पाअन्तर्गत थियो। त्यहाँ टाँगे त पछि आएका हुन्। टाँगेको गुरुयोजनाको जग उनै गजेन्द्रले बसाएका थिए। ५४ वर्षको उमेरमा २०२६ साल माघमा गजेन्द्रको निधन भयो। उनको निधनको झन्डै डेढ दशकपछि २०४२ सालमा लुम्बिनी विकास कोष ऐन बनेको हो। लुम्बिनी गुरुयोजनालाई कार्यान्वयन गर्ने हेतुले प्राविधिज्ञ टाँगेलाई नियुक्त गरिएको थियो। ‘गुरुयोजना प्रस्ताव श्री ५ को सरकारबाट सन् १९७८ मा स्वीकृत गरेको सन्दर्भ सम्झँदा स्वर्गीय गजेन्द्रराजले चिन्तन गरी प्रारम्भ गरेका कार्यहरूले बल्ल गति पाउन प्रारम्भ गर्यो भन्ने लाग्दैछ’, खत्रीले लेखेका छन्।
इतिहासविद् ज्ञानमणि नेपालले सुब्बा गजेन्द्रराज देवकोटाले त्यसबेला लुम्बिनी क्षेत्रको विकासका लागि सहरबजार बस्ती बसाइ स्तूप र चैत्य विहार बनाउने प्रयत्न गरेर गुरुयोजना बनाई राजाप्रजामा आह्वान गरेको उल्लेख गरेका छन्। ‘सुब्बा गजेन्द्रको गुरुयोजना यस्तो थियो, लुम्बिनी सुधारलाई देशविदेशबाट चन्दा संकलन गर्नुपर्छ, धर्मशाला यात्रु र बौद्धधर्मीका लागि विहार निर्माण गर्नुपर्छ। लुम्बिनी विहार स्तूप र तलाउ अशोक विहार शुद्धोधन विहार निर्माण गर्नुपर्छ’, नेपाल लेख्छन्, ‘वैशाख शुक्ल पूर्णिमामा बुद्ध जन्म दिन विशाल मेला, नाचगान र भजनकीर्तनले आगन्तुकलाई मनोरञ्जन गराउनुपर्छ।’
अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको लुम्बिनीलाई लुम्बिनी बनाउन जीवनका ऊर्जा खर्चिएका गजेन्द्रको नाम भने गुमनाम छ।
गोरखाका गजेन्द्रराज देवकोटा लुम्बिनीको प्रथम परिकल्पनाकार हुन पुग्नुमा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेरसँगको निकटता देखिन्छ। नेता पशुपति शमशेर राणाले यसको पुष्टि गरेका छन्। छोरा चैतन्यराज देवकोटाले तयार पारेको कृति ‘बुबा !’ मा उनै राणाले शुभकामनामा लेखेका छन्, ‘गजेन्द्रले लुम्बिनीको विकास, भैरहवामा नयाँ हवाई मैदान निर्माण गर्ने साथै नयाँ नगरहरू आबाद गुल्जार गर्नेजस्ता रचनात्मक कार्य गरेका अभिलेखहरू देखियो।’
‘त्यो लुम्बिनी’ मा मानव बस्ती नहुँदै ‘यो लुम्बिनी’ को परिकल्पना गर्ने गजेन्द्रलाई दार्शनिक मान्न सकिन्छ। प्रा.डा. विष्णुराज आत्रेयले देवकोटालाई ‘लुम्बिनी विकास अभियानका पहिलो अगुवा’ को संज्ञा दिएका छन्। आफू ७÷८ वर्षको हुँदाको अवस्था स्मरण गर्दै उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय महत्वको आफ्नै देशको गौरव थलो त्यस लुम्बिनीमा स्याल कराउने र मानव बस्ती नभएकाले एक्लै हिँड्न पनि डरलाग्दो देख्दा तात्कालिक नेपाल सरकार बुटवल–भैरवा (भैरहवा) बजार अड्डाका हाकिम सुब्बा गजेन्द्रलाई साह्रै दुःख लाग्यो।
उनको हृदय चिरियो। ऐतिहासिक तथा पुरातात्विक क्षेत्र उपेक्षामा परेको देखेर उनी छट्पटिए।’ उनका अनुसार, त्यस ठाउँलाई उजागर गर्न गजेन्द्रले तीनवटा प्राथमिक अभियान चालेका थिए– मन्दिरपरिसरबाहिर सर्वसाधारणलाई घरघडेरी दिने, घर बनाउन निःशुल्क लकडी सुविधा दिएर बस्ती बसाउने। नेपाल र भारतका व्यापारीलाई सरसुविधा दिन्छु भनी मनाई सहर बसाउने र बुद्ध (चण्डी) पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउन ठूलो मेला आयोजना गर्ने साथै बुद्ध जन्मभूमिको प्रचार–प्रसार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा गराउने।
हिन्दु धर्ममा भगवान्का मुख्य १० अवतारमध्ये नवम अवतार भगवान् बुद्ध मानिएका छन्। ‘यसबेला बुद्धावतारको पालो छ’, योगी नरहरि नाथले भनेका थिए, ‘ब्रह्माले सृष्टि गर्छन्, विष्णुले पालन गर्छन् र रुद्रले संहार गर्छन्। विष्णु भगवान्का नवम अवतार बुद्ध हुन्। हिन्दु संस्कृतिका मूल संस्कृत वाङमयका मुख्य अमर कोषमा पनि ब्रह्मा, विष्णु, शिवभन्दा प्रथम बुद्धका नाम छन्।’ योगी नरहरिनाथले भगवान् बुद्धलाई ‘हिन्दुराष्ट्र नेपालका नेपाली हिन्दु’ भनेका थिए।
लुम्बिनी चिनाउने उनै गौतम बुद्धको २५६३औं जन्मजयन्ती मनाइरहेका छौं। गजेन्द्रका छोरा चैतन्य ११ वर्षको उमेरमा बुवा गजेन्द्रसँग लुम्बिनी पुगेको स्मरण गर्छन्। उनका अनुसार २००९ सालको वैशाख पूर्णिमामा बुद्धजयन्तीमा पहिलोपटक लुम्बिनीमा सात दिन मेला लगाएर सो मेलामा सर्कस र नौटंकी समेत देखाउने व्यवस्था गराएको थियो। त्यसैबेला लुम्बिनी क्षेत्रलाई ‘बुद्धको स्थल’ भनेर चिनाउन गजेन्द्र मरिमेटेर किन लागिपरे भन्नेमा धार्मिक भावनासँगै मुख्य प्रेरणास्रोत कान्छी श्रीमती प्रमुख थिइन्।
जेठो छोरो युवराज (बद्री) बितेपछि गजेन्द्र बिरक्तिएर काठमाडौं पुगेका थिए। अर्का छोरा चैतन्य भन्छन्, ‘बुवाको डेरानजिकै नघलको कीर्ति विहार थियो। नघलनिवासी चिनियाँदेवी शाक्य भिक्षु बारम्बार कीर्ति विहार जाँदा उनी बुबालाई खरदार बाजे भन्दै लैजाने गर्थिन्। त्यहाँ बुद्ध धर्मबारे बुवाले गहन अध्ययन गर्ने मौका पाउनुभयो र पछि चिनियाँदेवीले नै बुवालाई लुम्बिनी र चार धामको भ्रमण गराएकी थिइन्। बुवा त रामभक्त हुनुहुन्थ्यो, चिनियाँदेवीको प्रभाव र प्रेरणाले मोडिनुभएको हो। पछि बुवाले चिनियाँदेवीलाई नै कान्छी स्वास्नी बनाउनुभयो’, चैतन्य भन्छन्।
‘रोपेजस्तो फुल्दैन, फुलेजस्तो फल्दैन’ भन्दै गजेन्द्रले चिताएका सबै काम शतप्रतिशत हुन नसकेको सरोकारवालाहरू टिप्पणी गर्छन्। अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको लुम्बिनीलाई लुम्बिनी बनाउन जीवनका ऊर्जा खर्चिएका गजेन्द्रको नाम भने गुमनाम छ। ‘यद्यपि बुवाको सपना पूरा हुँदै छ भन्छु म’, चैतन्य थप्छन्, ‘आज हामी लुम्बिनीको सपना देख्दै छौं, त्यो सुब्बा गजेन्द्रकै श्रम, साधना र कर्मठताको परिणाम थियो।’ त्यतिबेलै यतिबेलाको लुम्बिनी र यसको भविष्य देखेर परिकल्पना गर्ने गजेन्द्रको सालिकसम्म लुम्बिनीको बृहत गुरुयोजनाको कुनै कुनामा पनि कहींकतै नअटाउनु बिडम्बनाकै विषय हो।
धार्मिक एवं सांस्कृतिक पर्यटनका दृष्टिले अब्बल लुम्बिनी सन् १९९७ मै विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ। ईशापूर्व तेस्रो शताब्दीदेखि अवलोकनका लागि मानिसहरू लुम्बिनी पुग्न थालेको अभिलेखमा उल्लेख छ। बर्सेनि लाखौं देशीविदेशी आउने लुम्बिनीको ४० वर्षअघिकै गुरुयोजना पूरा गर्न अझै ६ अर्ब र तीन वर्ष लाग्ने प्रक्षेपण गरिएको छ। तर सरकारले केवल ५३ करोड छुट्याएको छ। ११ सय ५० बिघामा फैलिएको लुम्बिनीको लागि त्यतिबेला जग्गा अधिग्रहण गर्दा आसपासका सात गाउँ विस्थापित भएका थिए। कोषका अनुसार गुरुयोजनाअन्तर्गत अझै १६ प्रकारका काम हुनै बाँकी छन्। यस्तो अवस्थामा गजेन्द्रराज देवकोटा र केन्जो टाँगेका सपना पूरा होलान् त ?