कान्समा स्टारका फेसन
पेरिस : फ्रान्समा सुरु भएको ७२औं कान्स फिल्म फेस्टिभलमा अहिले विश्वभरका सेलिब्रिटीको मेला लागेको छ। मंगलबारबाट आरम्भ भएको यो महोत्सव विभिन्न उत्कृष्ट फिल्म प्रदर्शन गर्दै ११ दिनसम्म चल्ने छ। महोत्सवमा सहभागी हुन आउने स्टारहरूको पहिरन हेर्नलायक हुन्छ। कोभन्दा को कमको शैलीमा लाखौं डलर खर्चेर तयार पारिएका डिजाइनमा सजिएका स्टारहरूले दैनिक रेड कार्पेट नापिरहेका छन् ।
विश्वकै ठूला मानिएका बलिउड र हलिउड मात्रै होइन; चीन, इजरायल, जापान, कोरियालगायतका देशबाट पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै नायकनायिका पुगेका छन्। अघिल्ला वर्षमा भन्दा यस वर्ष महोत्सवमा धेरै नयाँ अनुहार देखिएका छन्। महोत्सवमा सिल्भर स्क्रिनका अनुहार मात्रै होइन; गायकगायिका, मोडल र खेल स्टारसमेत देखिएका छन् ।
सेलेना गोमेज, इवा लोंगोरिया, एले फैनिंग रेड कार्पेटमा देखिएका ग्ल्यामरस व्यक्तित्व हुन्। फ्रेन्च रिवेरियामा भइरहेको फिल्म फेस्टिभलमा बलिउडबाट दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, सोनम कपुर, कंगना रनावत, दैना पेंटी, मलाइका अरोरा र हिना खान कान्सको समुद्री तटमा उपस्थिति जनाउँदै छन्।