सिसिफसको नियति
सुकुमबासी भएर हिँड्थ्यो समय
कालरात्रिले ढाकेको धरतीमा
आत्मबलि दिएपछि योद्धाहरूले
सूर्योदय भएको थियो देशमा
रजस्वला सुरु नहुँदै
विधवा भएकी बालिकाझैं
कलिलैमा कात्रो बेरिँदा घामको
खग्रास पसेको युगमा
रातो झण्डाले म्याराथन जितेपछि
फर्किएको थियो आस्थाको उज्यालो
कुनै जँड्याहाले जाँडको तालमा
श्रीमतीसँग खाएको कसमझैं
सहिदको शपथ खाएका सारथिहरूले
सपनाको सन्दुक जतन नगरिदिनाले
दरबार र ओढारको कोपमा परेको
विश्वासको बिरुवा बचाउन
वसन्त आएको थियो सडकमा
अस्पतालको ठेगाना हराएको एम्बुलेन्सझैं
अँध्यारो सुरुङतिर धकेलिएको छ
नयाँ बिहानको भविष्य
दोहोरिरहेछ पुरानै शृङ्खला
डढेलो दन्केको छ फेरि आकाशमा
लोकतन्त्रको ऐनामा अनुहार हेर्न
आगो चपाउँदै आए पनि इतिहासले
रोकिएको छैन सिसिफसको नियति
गृहयुद्धको गर्भधारण गर्नुपर्दा बारबार
मातृभूमिको पाठेघरमा क्यान्सर भयो भने
चन्द्रसूर्यको तेज निभ्न बेर हुँदैन।।