दीर्घजीवनका लागि प्राकृतिक चिकित्सा
डा. यञ्जन गैह्रे। औषधिको सेवन नगरी उपचार गरिने विधि नै योग तथा प्राकृतिक चिकित्सा पद्धति हो। यो चिकित्सा पद्धति पञ्चमहाभुतामा आधारित छ। पृथ्वी, जल, तेज, वायु र आकाशमा आधारित प्राकृतिक रूपमा पाइने चिजहरूको समिश्रणबाट रोगको उपचार गर्ने गरिन्छ।
यस चिकित्सा पद्धतिमा योगथेरापी, मालिसथेरापी, अकुपन्चर, अकुप्रेसर, हाइड्रोथेरापी (पानीबाट उपचार), मड थेरापी (माटोबाट उपचार), उपवासथेरापी, फिजियोथेरापी, भोजन परामर्शलगायतका विभिन्न विधिद्वारा रोगको निदान गरिन्छ। यस पद्धतिले रोगी व्यक्तिलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउँछ।
खानपानमा लापरबाही र अव्यवस्थित जीवनशैलीकै कारण स्वास्थ्यमा खराबी आइरहेको छ। सुविधाभोगी बानीले गर्दा हिँडडुल नगर्ने शारीरिक व्यायाम गर्ने बानी घट्दै गएको छ। चिन्ता, तनाव लिने बानी बढेको छ। जसका कारण उच्च रक्तचाप, मधुमेह, हृदयाघात, मस्तिष्कघातलगायतका समस्याहरू बढिरहेका छन्।
त्यसैले हरेक दिन एक घण्टा स्वस्थ जीवनका लागि छुट्ट्याउने हो भने दीर्घजीवी हुन सकिन्छ। यस समयमा योगध्यान, नियमित व्यायाम, सामान्य खेलकुदजस्ता स्वास्थ्य रक्षा गर्ने क्रियाकलाप गर्नुपर्छ।
कार्यालयमा व्यस्त रहेको अवस्थामा पनि समय मिलाएर सामान्य तवरले हात, गोडा तन्काउने, ढाडको सामान्य व्यायाम गर्ने, आँखा चिसोपानीले धुने गर्नुपर्छ। काम गरिरहेको बेला पनि वि श्राम लिएर लामोलामो श्वास लिने, दैनिक पर्याप्त मात्रामा पानी पिउँदा पनि धेरै हदसम्म स्वस्थ्य रहन सकिन्छ।
के नगर्ने ?
· चिल्लो, पिरो, अमिलो, मसलेदार खानेकुरा सेवन नगर्ने
· लामो समय भोकै नबस्ने
· धूमपान, मद्यपान नगर्ने
के गर्ने
· प्राकृतिक जीवनशैली अपनाउने
· भोजन, व्यायाम, विचार र व्यवहारलाई सन्तुलित बनाउने
· कागती पानी, महपानी पिउने
· रेसादार परिकार खाने
· विषादिरहित तरकारी एवं फलफूल सेवन गर्ने
(डा. गैह्रे, योग तथा प्राकृतिक चिकित्सक संघका उपाध्यक्ष हुन् )