कलाकृतिमा खेल
२०७३ साल पुसमा पूर्वाञ्चल विकास क्षेत्रमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनस्थल विराटनगरको सहिद रंगशालाको चमक छुट्टै थियो। रंगशालामा विभिन्न कलाकृतिका साथै सातौं राष्ट्रिय खेलकुदको मस्कट अर्नाको मूर्तिले सबैलाई आकर्षित गरेको थियो। उद्घाटन सत्रको औपचारिक कार्यक्रम सुरु हुनुअघि र त्यसपछि पनि मस्कटसँग फोटो खिच्नेको भीड नै लागेको थियो। यही प्रवृत्ति दोहोरियो आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि। आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन भएको नेपालगन्ज रंगशालामा पुग्नेहरू हात्तीको छावाको मस्कटसँग सेल्फी खिच्न झुम्मिएका थिए। सहिद रंगशाला र नेपालगन्ज रंगशालाबाहेक ती मस्कट विभिन्न प्रतियोगिता स्थलमा समेत पुर्याइएको थियो। त्यहाँ पनि फोटो खिच्नेको लाइन नै लागेको थियो।
राष्ट्रिय खेलकुदको ३८ वर्षे इतिहासमा सुरुका तीन संस्करणबाहेक पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई वर्षको अन्तरालमा आयोजना भएको थियो। सातौं आयोजना भएको दुई वर्षमै आठौं राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो।
नेपाली खेलकुद क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको यही दुई प्रतियोगितालाई आकर्षक बनाउन भूमिका खेलेका थिए, सुनसरीको इटहरी निवासी अभिषेक तिम्सिनाले। लामो समयदेखि मूर्तिकलामा संलग्न रहँदै आएका अभिषेकले सातौं र आठौं राष्ट्रिय खेलकुदको मस्कटलाई सजाउने काम गरेका थिए।
२०५० सालदेखि मूर्तिकलाको काम गर्दै आएका अभिषेकले विभिन्न पार्क, स्मारक सजाउनेदेखि विभिन्न ख्याति प्राप्त नेताहरूको मूर्ति कुँद्नेदेखि राष्ट्रिय खेलकुद प्रतियोगितालाई पनि अविस्मरणीय बनाउने काम गर्दै आएका छन्। सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट निर्माण गरिसकेका उनले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरलाई तिनै मस्कटले सजाउने काम पनि गरेका छन्।
सातदोबाटोमा निर्मित मस्कटले अहिले धेरैलाई आकर्षित गर्ने गरेको छ। यसबाहेक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक टर्च निर्माणको काम पनि उनले सुरु गरेका छन्। आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी रंगशालामा दुई वटा हात्तीमाथि ओलम्पिक टर्च निर्माण गर्न लागिएको छ। उनलाई ती संरचना दुई महिनाभित्र निर्माण गरिसक्नुपर्ने समयसीमा दिइएको छ।
राष्ट्रिय प्रतियोगिताको मस्कट बनाउनुअघि अभिषेकले नेपाली खेलकुदका तत्कालीन संरक्षक धीरेन्द्रवीरविक्रम शाहको मूर्ति बनाएका थिए। २०६२÷०६३ को जनआन्दोलन अघि निर्माण गरिएको धीरेन्द्र शाहको मूर्ति जनआन्दोलनपछि एकाएक गायब पारिएको उनले बताए। ‘मैले मूर्ति तयार गरेर राष्ट्रिय खेलकुद परिषद्लाई बुझाएको थिएँ। जनआन्दोलनपछि त्यो मूर्ति कहाँ पुग्यो मलाई थाहा भएन’, उनले भने।
सुरुआती दिनमा तिम्सिना दाजुभाइले निकै दुःख बेहोरे। उनीहरू लामो समय लगाएर मूर्ति कुँद्थे। तिनमा रङ भर्थे। त्यसपछि बिक्रीका लागि विभिन्न स्थानमा धाउँथे। त्यसबेला विभिन्न देवीदेवताका मूर्ति र कलाकृति मात्र उनीहरू बनाउँथे। नेताको सालिक र पार्क तथा उद्यानको कामबारे उनीहरूले सोचेकै थिएनन्।
अभिषेकले कटारीचोकको भूगोलपार्क, मदन भण्डारी पार्कलगायत पार्क र सहिद स्मारक सजाउने र तिनको मास्टर प्लानको काम पनि गरिसकेका छन्। यसैगरी बीपी संग्रहालयमा विभिन्न नेताहरूको मूर्ति पनि उनले कुँदिसकेका छन्। उनले झापादेखि बाँकेसम्म पुगेर पार्क, स्मारक बनाउने र कलाकृति बनाउने काम गरिसकेका छन्। यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सञ्चालन गरेको मेची–काली रथयात्राको डिजाइन पनि उनले नै गरेका थिए। घोडाको बग्गीमा उनले आकर्षक कला भरेका थिए।
अभिषेकले मूर्तिकलाको काम ठूलो दाजु विक्रमबाट सिके। ठूलो दाजुले भारतको कलकत्तामा सिकेको कलालाई दुई भाइ अभिषेक र कान्छो भाइ अशेषलाई सिकाएका थिए। अभिषेकले भाइ अशेषसँगै बसेर कलाकृतिका काम सिके। घरेलु सिकाइले नै आफू खारिएको उनी बताउँछन्। सुरुमा तीन दाजुभाइले संयुक्त रूपमा काम गर्दै आएकोमा अहिले उनीहरूले छुट्टाछुट्टै रूपमा काम गर्दै आएका छन्।
अभिषेकले फाइबर, ढलोट, सिमेन्ट र ढुंगाका कलाकृति बनाउँदै आएका छन्। उनले खेलकुदका कलाकृति र संरचना फाइबरबाट निर्माण गरेका छन्। उनले ढुंगाको सालिक र खेलकुदका मस्कट बनाउन उक्तिकै गाह्रो रहेको बताए। ‘एउटा ढुंगाबाट मानिसका आकृति बनाउन जति गाह्रो हुन्छ राष्ट्रिय खेलकुदका मस्कट बनाउन पनि उक्तिकै गाह्रो हुन्छ’ अभिषेकले भने ‘अरूले डिजाइन गरेअनुसार बनाउन अप्ठ्यारै हुन्छ।’
अभिषेकको वर्कसप भने इटहरीमै छ। वर्कसपमा दैनिक १५ जनाले काम गर्दै आएका छन्। अभिषेकले डिजाइन गरेका कलाकृति र मूर्ति उनीहरूले कुँद्ने र रङ भर्ने काम गर्दै आएका छन्।
सुरुआती दिनमा तिम्सिना दाजुभाइले निकै दुःख बेहोरे। उनीहरू लामो समय लगाएर मूर्ति कुँद्थे। तिनमा रङ भर्थे। त्यसपछि बिक्रीका लागि विभिन्न स्थानमा धाउँथे। त्यसबेला विभिन्न देवीदेवताका मूर्ति र कलाकृति मात्र उनीहरू बनाउँथे। नेताको सालिक र पार्क तथा उद्यानको कामबारे उनीहरूले सोचेकै थिएनन्। निकै मेहनत गरेर निर्माण गरेका सामग्री धेरै ठाउँ डुलाउँदा पनि बिक्री नभएपछि उनीहरू निरास हुन्थे। तर, तीनै दाजुभाइले हरेस भने कहिले खाएनन्। उनीहरू जतिसुकै दुःख सहेर पनि यही पेसामा डटिरहे। ‘पहिले मूर्ति र कलाकृति बनाएर मात्र हुँदैनथियो। विभिन्न स्थानमा पुगेर बिक्री गर्नुपथ्र्यो।
धेरै ठाउँमा डुल्दा पनि बिक्री नभएपछि निकै निरास बनाउँथ्यो’ उनी भन्छन् ‘अहिले कामले भ्याइनभ्याई छ। काम खोज्न बाहिर जानु पर्दैन।’ उनी कलाकृतिका काममा पहिलेभन्दा निकै सुधार आएको बताउँछन्। यो पेसालाई अझ व्यावसायिक बनाउन माटोको मूर्तिलाई पकाएर बनाउने टेराडोरा प्रविधि भित्र्याउन लागेको बताए। उनले यो प्रविधि ल्याएपछि आफ्नो वर्कसपमा बनेका मूर्ति युरोप र अमेरिकामा निर्यात गर्ने योजना रहेको सुनाए।
पहिले तीन दाजुभाइले सँगै काम गर्दै आएकोमा अहिले सबैले छुट्टाछुट्टै रूपमा काम गर्दै आएका छन्। तीनै दाजुभाइको कमाइ राम्रै रहेको उनले बताए। उनले आफ्नो परिवारलाई पनि यही पेसामा लगाउने बताए। आफूले अपनाएको पेसालाई पुस्तान्तरण गर्नुपर्छ’ उनले भने ‘छोरी हिन्दुलाई विदेशमा यससम्बन्धी पढ्न पठाएर भविष्यमा यही पेसामा लगाउने छु’, उनले भने।
उनले निर्माण गरेको सबैभन्दा महँगो स्मारक कटारी चोक हो। कटारी चोक उनले ४२ लाख रुपैयाँमा निर्माण गरेका थिए। यसैगरी बेतिनी सिमसार ३८ लाख र खेलकुदका मस्कटलगायतका संरचना ४० लाखमा निर्माण गरेका छन्। उनले अहिले पनि थुप्रै संरचना निर्माण गरिरहेका छन्।
अभिषेकलाई पहिले पहिले यो पेसामा बेक्कारै लागेछु भनेर पछुतो लागे पनि अहिले भने यस पेसाप्रति गर्व लाग्छ। उनले यही पेसाबाट राम्रैसँग परिवार पाल्न सकेका छन्। उनी सबै खर्च कटाएर वार्षिक १०÷१५ लाख रुपैयाँ बचत हुने गरेको बताउँछन्।