इङ्लिस प्रिमियर लिग क्लबमा नेपाली किशोर

इङ्लिस प्रिमियर लिग क्लबमा नेपाली किशोर

ध्रुवराज अर्याल

लन्डन : लन्डनमा बस्दै आएका नेपाली मूलका एक किशोर इङ्लिस प्रिमियर लिग खेल्ने क्लबमा आबद्ध भएका छन्। साउथ इस्ट लन्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाट्फोर्ड फुटबल क्लबको यू–१६ टोलीमा आबद्ध भएका हुन्। बिहीबार लन्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार जयले सन् २०१९÷२० सिजनमा वाट्फोर्डको यू–१६ टोलीबाट खेल्ने छन्। इङ्लिस प्रिमियिर लिग इङ्ल्यान्डको सबैभन्दा माथिल्लो तहको फुटबल लिग हो। विश्व फुटबलकै प्रतिष्ठित यो लिगमा इङ्ल्यान्डका शीर्ष २० क्लबले प्रतिस्पर्धा गर्छन्। यो सिजनमा प्रिमियिर लिग तालिकाको ११औं स्थानमा रहेको वाट्फोर्ड एफए कपमा भने म्यानसिटीसँगै फाइनलमा पुगेको छ।

वाट्फोर्डले जयलाई छनोट गर्नुअघि केही महिना लगाएर विभिन्न चरणमा उनको ट्रायल लिएको थियो। आउँदो सिजनमा उनले प्रिमियिर लिग खेल्ने अन्य सबै इङ्लिस क्लबका यू–१६ टोलीविरुद्घ खेल्ने मौका पाउने छन्। सिजन अवधिभर उनी क्लबले प्रदान गर्ने साताको चार दिन प्रशिक्षणमा पनि सहभागी बन्ने छन्। प्रिमियर लिग खेल्ने क्लबको कुनै पनि टोलीमा अवसर पाउने जय सम्भवतः नेपाली मूलका दोस्रो खेलाडी हुन्।

यसअघि विभेश गुरुङले अर्को प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसबाट खेल्ने मौका पाएका थिए। ‘यो उपलब्धिबाट हामी निकै खुसी र गौरवान्वित छौं’, जयका पिता प्रसिद्ध प्रधानले भने, ‘हाम्रो छोराले हासिल गरेको सफलता भविष्यमा अरू धेरै प्रतिभावान् नेपाली खेलाडीका लागि पनि प्रेरणाको स्रोत बन्ने छ।’ यू–१६ टोलीमा उत्कृष्ट प्रदर्शन गर्नसके भविष्यमा मुख्य टोलीबाटै खेल्न पाउने प्रबल सम्भावना रहन्छ।

अहिले मुख्य टोलीमा रहेका अधिकांश खेलाडी पनि उमेरसमूहबाटै उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढेका हुन्। प्रिमियिर लिग क्लबसँगको अनुबन्धनपछि जय पनि निकै उत्साही छन्। उनी भन्छन्, ‘मैले धेरै वर्षदेखि गरेको कठोर परि श्रमको प्रतिफल हो यो। आज मैले एउटा गतिलो प्लेटफर्म पाएको छु। अब मैले आफूलाई प्रमाणित गरेर देखाउनु छ।’

जय भन्छन्, ‘मैले सानोमा फुटबल खेल्न सुरु गरेदेखि नै एक दिन प्रिमियर लिग खेल्छु भन्ने सपना देखेको थिएँ। त्यो सपना पूरा गर्ने यो पहिलो खुड्किलो हो। अब मैले अझ बढी मेहनत र अभ्यास गर्दै अगाडि बढ्नुपर्ने चुनौती थपिएको छ।’ लन्डनमै जन्मिएका जय चार वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका हुन्। यसअघि उनले टोट्टनहाम र वेस्टहामजस्ता चर्चित प्रिमियिर लिग क्लबमा पनि ट्रायल दिएका थिए।

उनले जुनियर रेड्सबाट नन लिग तहको केन्ट लिग पनि खेलेका थिए। लन्डनमा अध्यापन पेसामा संलग्न जयका पिता एफए क्वालिफाइड प्रशिक्षक पनि हुन्। अढाई दशकअघि बेलायत आउनुअघि नेपालमा ‘ए’ डिभिजन क्लबहरूबाट व्यावसायिक फुटबल खेलेको उनले बताए। ‘मलाई जुन क्षेत्रबारे ज्ञान थियो, छोरालाई पनि सोही क्षेत्रबारे सिकाउने प्रयास गरेको हुँ’, प्रसिद्ध भन्छन्। इङ्लिस प्रिमियर लिग क्लबहरूमा एसियाली पृष्ठभूमिका खेलाडी अहिले पनि नगण्य रहेको अवस्थामा जयको उपस्थिति महत्त्वपूर्ण र सन्देशमूलक बन्ने आशा गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.