चाअ्यङदिवा चाअ्यङदिमा
नेपालमा करिब २५ वटा किरात राई भाषा छन्। तीमध्ये बान्तावा राई भाषा पनि एक हो। ती किरात राई भाषाहरूमध्ये सबैभन्दा बढी संख्याले यो भाषालाई प्रयोग गर्ने गर्छन्। यो भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्छ।
नेपालको जनगणना २०६८ अनुसार बान्तावा वक्ताहरूको संख्या एक लाख ३२ हजार पाँच सय ८३ जना छ। उक्त संख्या २०५८ को जनगणनाअनुसार तीन लाख ७१ हजार ५६ थियो। एउटा भाषिक समुदायभित्र १० वर्षको अन्तरालमा यत्रो फरक देखिनुले बान्तावा समुदायले यसलाई ‘सही तथ्यांक’ नभनी ‘मिथ्यांक’को रूपमा लिएका छन्। उनीहरूका अनुसार नेपालभरि बान्तावा वक्ताको संख्या करिब ६ लाखजति भएको अनुमान गरेका छन्। बान्तावा भाषालाई केही अन्य राई भाषिक समुदायले ‘सम्पर्क भाषा’को रूपमा पनि प्रयोग गर्छन्। गाउँघरमा ‘बान्तावा भाषा’ नभनेर ‘राई भाषा’ भनी समुदायमा प्रचलित भएकाले पनि सही तथ्यांक आउन नसकेको सम्बन्धित भाषाविज्ञहरूले अनुमान गरेका छन्।
बान्तावा राई भाषाका वक्ताहरू नेपालको पूर्वी
पहाडी जिल्लाहरूमा बसोबास गर्छन्। भोजपुर, धनकुटा, पाँचथर, इलाम आदि जिल्लामा मुख्य बसोबास क्षेत्र भए पनि हाल बसाइँसराइका कारण उदयपुर, सुनसरी, मोरङ, झापामा पनि बाहुल्य मात्रामा बान्तावाहरूको बसोबास छ। त्यस्तै भारतको दार्जिलिङ, कालिम्पोङ, सिक्किम र भुटानसम्म पनि बान्तावा राईहरू स्थायी रूपमा बसोबास गर्दै आएका छन्। विदेशमा हाल हङकङ, सिंगापुर, ब्रुनाई, बेलायत, अमेरिका आदि देशमा पनि बान्तावाहरूको उपस्थिति छ।
बान्तावामा चारवटा भाषिका छन्। ती हुन्— हतुवाली, आमचोके, दिल्पाली र धनकुटे। भोजपुरका हतुवा, आमचोक र दिल्पा क्षेत्र वा थुमका नामबाट ती भाषिकाका नाम राखिएका हुन्। धनकुटामा बोलिने बान्तावा लवजबाट धनकुटे भएको हो।
यस लेखमा बान्तावा राई समुदायबीच बोलीचालीमा प्रयोग हुने बान्तावा साइनोलाई संकलन गरी प्रस्तुत गरिएको छ।
बान्तावा नेपाली अर्थ
चाअ्यङदिवा सृृष्टिको पुर्खा (पुरुष)
चाअ्यङदिमा सृष्टिको पुर्खा (महिला)
सुन्तुम पुर्खा
साक्कु डिवा बराजु (पुरुष)
साक्कु डिमा बराजु (महिला)
कयाङ डिवा मावली बाजे
कयाङ डिमा मावली बज्यू
डिवा जिजु (दिल्पाली)
डिमा जिजु मुमा (दिल्पाली)
डिवा बाजे (हतुवाली)
डिमा बज्यू (हतुवाली)
कोपा बाजे (दिल्पाली)
कोमा बज्यू (दिल्पाली)
पापा बुवा
मामा आमा
डेवा बडाबा
डेमा बढीआमा
बाङा काका
छना काकी
तायापा श्रीमान्
तायामा श्रीमती
छना फुपू
पुसइ फुपाजु
डिक्कु मामा
डिनि माइजू
ङाप्पा सम्धी
ङाप्मा सम्धिनी
छाडिवा ससुरा
छाडिमा सासू
बुवा दाजु
बब दाजु (आमचोके)
बुसुनिमा भाउजू
नाना दिदी
नाना जेठी सासू
बुवा साधु दाइ
नाना आमाजू
फेयाबुङ भेनाजु
निछा भाइ
नाम्मिट बुहारी
निछामा बहिनी
माक्छा ज्वाइँ
आनिछा देवर
आनिछामा देउरानी
आबुवा जेठाजु
आबुवा जेठान
छा छोरा
छेट्कुछा छोरी
सिओआम्छा भानिज
सिविम्मा भान्जी
साइबा सोल्टी
किप्माखा सोल्टिनी
छोक्छा भतिज
छोक्छामा भतिजिनी
सायाबुङ्छा भदै
साइबुङन भदैनी
अङ्फ सालो
अङ्फमा साली
छुछापा भान्जा
छुछामा भान्जी
नाङ्छा नाति
नाङ्छामा नातिनी
छुन्छा पनाति
छुन्छामा पनातिनी
नाङछुन्छा जनाति
नाङछुन्छामा जनातिनी
हयाक्पा ज्वाइँ वा बुहारीको दाजु वा भाइ
हयाक्मा ज्वाइँ वा बुहारीको दिदी वा बहिनी
यावा साथी
सान्दिवा गुरु
सान्दिवामा गुरुआमा
(संकलक पदम राई विगत १५ वर्षदेखि
प्रकाशन हुँदै आएको ‘बुङ्वाखा’ मासिकका सम्पादक हुन्। उनका बान्तावा भाषाका ‘लादिप्मा’ कवितासंग्रह, ‘बान्तावा सचित्र शब्दसंग्रह’, ‘किरावा सान्दिवा’ संस्मरण संग्रह, ‘बुङ्वाखाआ बान्तावा यङ खुयुङु’ कथा पुस्तकलगायतका कृति प्रकाशित छन्।)
[email protected]