डडेलधुरा क्याम्पसमा तोडफोड, स्ववियु सभापति ऐरसहित नौ पक्राउ
डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसमा तोडफोड गरिएको छ। शुक्रबार स्ववियु सभापति जगत ऐरको नेतृत्वमा गएको एक समुहले तोडफोड गरेको क्याप्पसले जनाएको छ।
तोडफोडमा संलग्न भएको भन्दै स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिइरहेको बेला ऐरको नेतृत्वमा पुगेको टोलीले ढुंगामुढा गरेका थिए। उनीहरुले क्याम्पसका झ्यालका सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रशासनमा अभद्र व्यवहार प्रदर्शन गरेकाले प्रहरीले पक्राउ गरेको बताइएको छ।
मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको लागि भइरहेको परीक्षा बिथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए।
पक्राउ परेका विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। विद्यार्थीले ढुङ्गामुढा प्रहार गरी क्याम्पसका केही झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ।
डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागबन्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि ताला लगाएको थियो। नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो।
उता क्याम्पसले ताला तोडेर पूर्वनिर्धारित मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको बताएको छ। तीनजनाको लागि खुलेको भर्नामा १२ जनाले आवेदन दिए पनि ७ जनाले मात्र परीक्षामा सहभागिता जनाएका क्याम्पसले जानकारी दिएको छ। क्याम्पसको कर्मचारी भर्ना विज्ञापनमा स्ववियु सभापति ऐरकी श्रीमतीले पनि आवेदन दिएकी थिइन्।
सभापति ऐरलाई आफ्नी श्रीमतीलाई कर्मचारीको रुपमा भर्ना गर्न क्याम्पस प्रमुखलाई दवाव दिएको र नमानेपछि चरणबद्धरुपमा आन्दोलन गरेको आरोप लागेको छ। सभापतिसहित नौ जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै विद्यार्थीहले नारावाजीसहित जिल्ला प्रशासन कार्यालय डडेल्धुरा अगाडि प्रर्दशन गरेका थिए।