देशभर ‘कांग्रेस–मेला’
काठमाडौं : देशव्यापी पार्टीको जागरण अभियान सुरु गरेको नेपाली कांग्रेसले काठमाडौंसहित देशैभर ‘नेपाली कांग्रेस–मेला’ आयोजना गर्ने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको शुक्रबारको बैठकले नजिकिँदो गणतन्त्र दिवसमा केन्द्रीय स्तरमा काठमाडौंमा र त्यसपछि देशैभर नेपाली कांग्रेसको नाममा मेला आयोजना गर्ने निर्णय गरेको हो।
उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा रहेको प्रतिष्ठानको बैठकले मेलासहित सातै प्रदेशमा महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणसहित क्रियाशील सदस्यलाई समेत प्रशिक्षण दिन निर्णय गरेको छ। सात प्रदेशका १४ स्थानमा हुने प्रशिक्षणमा महाधिवेशन प्रतिनिधिका लागि दुई दिने र क्रियाशील सदस्यका लागि एक दिने हुने प्रतिष्ठानले जनाएको छ।
आउँदो १५ जेठमा नेपालको गणतन्त्रको एक दसक पुगेको अवसरमा प्रतिष्ठानले १४ गते काठमाडौंमा ‘गणतन्त्रको एक दशक’ शीर्षकमा बृहत अन्तक्र्रिया आयोजना गर्नेछ। १६ गते संघीयता कार्यान्वयन विषयमा समेत विचार गोष्ठी आयोजना हुनेछ। प्रतिष्ठानले प्रशिक्षण प्रतिष्ठानका कार्यक्रमका लागि केन्द्रबाटै थप प्रतिनिधिसमेत पठाउने जनाएको छ। प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले पार्टीको जागरण अभियानलाई थप प्रभावकारी बनाउन मेलासहित विभिन्न तहको प्रशिक्षण कार्यक्रम ल्याएको बताए।
‘हामी पार्टीलाई तलैबाट नयाँ ढंगले प्रशिक्षित गर्ने योजनामा छौं’, दाहालले भने, ‘जसका लागि यस्ता कार्यक्रम देशभर हुनु आवश्यक छ।’ गएको २५ गते कांग्रेसले देशव्यापी पार्टी जागरण अभियान सुरु गरेको छ। केन्द्रले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई खटाएको छ। जागरण अभियान यो वर्ष तीन चरणमा हुनेछ। पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिँदैछ। भदौ २४ देखि असोज १० सम्म दोस्रो र पुसको ७ देखि १६ गतेसम्म तेस्रो चरणको अभियान सञ्चालन हुनेछ।