अब नेपाल अशान्त हुनेछैन : प्रम ओली
लुम्बिनी : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई शान्तिको सन्देश दिने नेपालमा अब अशान्ति नहुने दाबी गरेका छन्। बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा बोल्दै ओलीले मुलुकमा शान्ति कायम गर्दै विश्वमा सन्देश फैलाउने काम नेपालले गर्ने बताए।
शान्ति प्रक्रियालाई समेत छिट्टै टुंगोमा लगाइने उनले बताए। कथमकदापि शान्ति खलबलिहालेमा पनि आफैँ समाधान गर्ने क्षमता नेपालको रहेको सन्देश विश्वभर गएको उनले बताए। ‘दुनियालाई शान्तिको मार्गमा आउन उत्प्रेरित गरिराखेको छ, त्यो मुलुकमा अशान्ति हुने छैन', ओलीले भने।
प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती अन्र्तराष्ट्रिय रुपमा स्थापित भएको भन्दै आफू भियतनाम र कम्बोडियामा जाँदा बैशाख दिवस आयोजना गरेको भेटेको बताए। ओलीले बुद्धको जन्मथलो कहाँ भन्ने कुरा लामो समयसम्म अन्योल रहे पनि अब त्यस्तो कुनै भ्रम नभएको बताए। सम्राट अशोकले राखिएदिएको स्तम्भले लुम्बिनी नै बुद्ध जन्मिएको प्रमाण दिएको भन्दै ओलीले अशोक सम्राटलाई धन्यवाद समेत दिए।
स्वार्थको टकराव, हतियार निर्माणको होड चलिरहेको विश्वका विकसिमत मुलुकमा बुद्धका शिक्षाहरु पुर्याउन आवश्यक रहेको उनले बताए। ओलीले संयुक्त राष्ट्रसंघका दोस्रा महासचिव उ थान्तलाई धन्यवाद समेत दिए। ‘लुम्बिनी विकासका लागि उथान्तले महत्वपूर्ण योगदान गर्नुभयो', उनले भने, ‘विश्वका १२ राष्ट्रको संस्था मिलेर ४९ वर्षअघि बनेको संस्थालाई फेरि सक्रिय बनाउन लागेको छु।’
आफ्नो अघिल्लो कार्याकालयता लुम्बिनी विकास गुरुयोजनाको निर्माणले तीव्रता लिएको प्रधानमन्त्री ओलीले दावी गरे। ‘मेरो सरकार बनेपछि लुम्बिनी विकासले गति लिएको छ, उनले भने। उनले लुम्बिनीलाई लुम्बिनी जस्तै बनाउन समेत आग्रह गरे। ‘चिरबिर चरा कराउन, सितलता होस्। आज बिहान थाई बिहारमा जाँदा त्यस्तो पाएँ। तर बाहिर आए ठिग्रिंङ्ग सिसौका रुख देखिन्छ। अब सिसौ रुख रोप्न छाडौं, उनले भने। आफूले फलफुलका २५६३ विरुवा रोप्ने अभियान शुरु गरेको भन्दै अन्य बिरुवा नलगाउन आग्रह समेत उनले गरे। लुम्बिनी पवित्रस्थल भएपछि स्वस्छ, सफा हराभरासँगै ज्ञान आत्मसाथ गर्न लायक हुनुपर्ने उनले बताए।
मार्न आएको अंगुलीमाल जस्तो व्यक्तिलाई बुद्ध मार्गमा ल्याउन सफल बुद्ध जस्तो चरित्र सबैमा आवश्यक रहेको उनले बताए।
बृहत्तर लुम्बिनी विकासमा सरकारको ध्यान गएको उनले बताए। ‘शुद्धोधनको दरबार, बुद्धले दरवार परित्याग गरेको द्वार सहित कनकमणि, क्रुकछन्द बुद्ध जन्मिएको स्थानसँगै रामग्रामलाई समेत लुम्बिनीका रुपमा विकास गर्नुपर्छ, उनले भने। प्रधानमन्त्री ओलीले प्रदेश ५ सरकारले गरेको लुम्बिनी भ्रमण वर्षको विषय भने उच्चारण समेत गरेनन्।