ठोरीका पौरखी महिला : काठ चिर्दै, किला ठोक्दै, अब उद्योग नै खोल्ने...

ठोरीका पौरखी महिला : काठ चिर्दै, किला ठोक्दै, अब उद्योग नै खोल्ने...

वीरगन्ज : फर्निचर निर्माणको काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने पुरानो मान्यता गलत पुष्टि गरिदिएका छन् पर्साको ठोरीका महिलाहरुले ।

ठोरी हनुमाननगरस्थित २ नम्बर वडा कार्यालयको परिसरमा पुग्दा यस्तो थाहा हुन्छ । उनीहरु फर्निचर बनाउने काममा दिनभर व्यस्त हुन्छन् । वडा कार्यालयको परिसरमा आराले काठ चिर्दै सुशीला सापकोटा भन्छिन्, ‘फर्निचर बनाउने काम पुरुषको मात्र हो भन्छन् तर आँट गरियो भने हामीले पनि यो काम गर्न सकिने रहेछ ।’

पर्साको ठोरीमा सञ्चालित ‘फर्निचर मेकर तालिम’मा सुशीलासँगै २० जना गृहिणी महिला सहभागी छन् । सुशीला थप्छिन्, ‘तालिम सकिएपछि घरमै सानोतिनो फर्निचर उद्योग चलाउने सोच बनाएको छु, श्रीमानले पनि सहयोग गर्छु भन्नु भएको छ ।’

दिउसोको समय घरमै फुर्सदिला रहेका गृहिणी महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारको सहयोगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्र वीरगन्जले ठोरी गाउँपालिका–२ हनुमाननगरमा फर्निचर मेकर सम्बन्धी तीन महिने निशुल्क तालिम सञ्चालन गरिरहेको हो ।

तालिममा उनीहरुले पिर्का, टेबल, डेस्क, बेन्च, कुर्सी, पलङ लगायत फर्निचर सामाग्री बनाउने सीप सिक्दै छन् । तालिमको पहिलो १५ दिनको अवधिमा विभिन्न फर्निचरका ड्राफ्टिङ तथा औजार चलाउने तरिका सिकिसकेको बताउँछन् सहभागी महिलाहरु । तालिममा सहभागी रसिला अधिकारी भन्छिन्, ‘गुरुले काठ चिर्ने, टुक्रा पार्ने, रन्दा लगाउने, किला ठोक्ने तरिका सिकाइरहनु भएको छ । तीन महिना सम्पन्न भइसक्दा पिर्कादेखि बक्स पलङसम्म बनाउने सीप सिक्ने लक्ष्य छ ।’

त्यसो त, तालिममा राम्ररी काम सिकिएको खण्डमा घरमै साना फर्निचर बनाएर गाउँ र बाहिर बेचेर आम्दानी गर्ने आशामा छिन् अधिकारी । गौतम नगरकी २५ वर्षीया गृहिणी मुना अधिकारी पनि यस्तो सीप सिकेर साना व्यवसाग गर्ने सोचमा रहेको बताउँछिन् । गृहिणी महिलाले पनि यस्तो काम गर्न सक्छन् भन्ने सन्देश आफूले दिनसक्ने अठोट् छ उनको छ ।

साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका प्रशिक्षक मणिभुषण शर्माका अनुसार गृहिणी महिलालाई फर्निचर मेकरको निशुल्क तालिम दिइएको हो । जहाँ दिनभर फुर्सद हुने महिलाहरु उत्साही बनेर तालिममा सहभागी छन् । उनीहरुको उत्सुकताले तीन महिनाको अवधिमा बक्स पलङ समेत बनाउन सक्ने अपेक्षा गरिएको छ ।

साथै तालिम सकिएलगत्तै तालिममा सहभागी २० जना महिलाहरुलाई नै कुनै फर्निचर उद्योग वा फर्निचरको ठेक्कापट्टाको काम गर्ने कम्पनीमा लगेर एक वर्षसम्मका लागि रोजगारीको प्रवन्ध संस्थाले नै मिलाइदिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.