आङछिरिङको परिवारले लुम्बीनमा पाँच करोड लगानी गर्ने
भैरहवा : लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको परिवारले पाँच करोड लगानी गर्ने भएको छ। ध्यान र आवास गृह निर्माणका लागि स्वर्गीय व्यवसायी शेर्पाको नाममा उनको परिवारले आधुनिक गोन्पा (गुम्बा) निर्माण गर्न लागेकाे हो।
१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यस गरेका छन्। शिलान्यसका क्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाई, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योग्दान रहेको बताउँदै लुम्बिनीमा उनको परिवारले गरेको सहयोगको प्रशंसा गरे।
गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन र विश्वभरका भिक्षुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई वर्ष भित्रमा गोन्पाको निर्माण सम्पन्न हुने शेर्पाको भनाइ छ।
शेर्पा परिवार लगानी गर्ने इच्छा देखाएपछि लुम्बिनी विकास कोषले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिए। कोषको गुरुयोजना अन्र्तगत रहेर हालसम्म लुम्बिनी क्षेत्रभित्र २३ राष्ट्रको गोन्पा निर्माण भइसकेका छन्। ३० बढी भिक्षुको लागि गुम्बा निर्माण भएको सदस्य ज्ञवालीले बताए। तारा फाउण्डेशनसँगै रहेको जग्गामा गोन्पा भवनको निर्माण सुरु भएको छ।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा आठवटा चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ। यति एयरल्यान्सका निर्देशक समेत रहेका शेर्पाको गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।
गोन्पाको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेलगायतको उपस्थिति थियो।