अमेरिकाले दक्षिण कोरिया र जापानलाई ६४ करोड डलरका मिसाइल बेच्दै
सोल : अमेरिकी विदेश मन्त्रालयले दक्षिण कोरियालाई ३१ करोड ४० लाख अमेरिकी डलरबराबरको हवाई प्रतिरक्षा मिसाइल बेच्ने भएको छ। यसैगरी, एसियामा अमेरिकाको अर्को महत्वपूर्ण सहयोगी राष्ट्र जापानले पनि अमेरिकासँग ३१ करोड ७० लाख अमेरिकी डलरबराबरका मिसाइल किन्ने भएको छ।
जापानले आकाशबाट आकाशमै प्रहार गर्ने मध्यम दुरीका मिसाइल किन्ने डीएससीएले जनाएको छ। कोरियाली प्रायःद्विपमा उत्तर कोरियासँग फेरि अमेरिकाको तनाव बढ्न थालेपछि दक्षिण कोरिया र जापानले मिसाइल किन्न लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो।
दक्षिण कोरिया एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको मुख्य सहयोगी राष्ट्र हो। उसले जलपोतबाट आकाशमा शत्रुको मिसाइल ध्वस्त पार्ने ९४ वटा एसएम–२ मिसाइलसहित १२ गाइडेन्स सिस्टम र प्राविधिक सहायतासमेत गरी ३१ करोड ३९ लाख अमेरिकी डलर मूल्यमा किन्ने यूएस डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डीएससीए) को वेबसाइटमा उल्लेख छ।
अमेरिकी रक्षा मन्त्रालयको एउटा एकाइ डीएससीएले बिहीबार कंग्रेसलाई सम्भावित मिसाइल बिक्रीबारे जानकारी पठाएको थियो। दक्षिण कोरियाले अमेरिकासँग गर्न लागेको मिसाइल खरिदको भर्खरै मात्र उत्तर कोरियाले आलोचना गरेपछि मिसाइल बिक्री सार्वजनिक भएको हो। उत्तर कोरियाले अमेरिकाबाट किनेको एफ–३५ बमवर्षक विमानको पहिलो खेप दक्षिण कोरिया आइपुगेकोमा पनि विरोध जनाएको थियो।
उत्तर कोरिया–अमेरिकाबीच भियतनाममा भएको निःशस्त्रीकरणसम्बन्धी दोस्रो शान्ति वार्ता बिना निष्कर्ष टुंगिएपछि उत्तरले धमाधम शस्त्र परीक्षण गरिरहेको छ। वार्ता गत फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको थियो।
विश्व समुदायबाट अलग उत्तर कोरिया र प्रजातान्त्रिक तथा सम्पन्न दक्षिण कोरिया प्राविधिक शब्दावलीमा भन्नु पर्दा अझै पनि युद्धरत नै छन्। किनभने दुवै कोरियाबीच सन् १९५०–५३ सम्म भएको द्वन्द्व शान्ति सम्झौतामा नभएर युद्धविराममा टुंगिएको थियो। अर्को शब्दमा त्यो युद्ध टुंग्याउन दुवैबीच सम्झौताको साटो युद्धविराम सहमति मात्र भएको थियो।
दक्षिण कोरियाले यसअघि नै एसएम–२ मिसाइलको प्रयोग गरिरहेको छ। रेथन कर्पोरेसनले उत्पादन यो मिसाइल गरेको हो। रेथनले हिजोआज एसएम–२ लाई आकाशमै मिसाइल ध्वस्त पार्ने शस्त्रयुक्त क्षेप्यास्त्रका रूपमा विकास गरिरहेको छ। उत्तर कोरियाले भने आफूले जमिनबाट आकाशमा प्रहार गर्नसक्ने मिसाइल निर्माण गरिसकेको दाबी गर्दै आएको छ। एजेन्सी