जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै नगरपालिका
कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिकाले जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण सुरु गरेको छ। जिल्लाको सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकाले नगरको वडा नं. १ देखि ११ सम्मका ६० वर्षमाथिका सबै जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न लागेको हो।
नगरपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य संरक्षण तथा बिरामीको उपचारका लागि यो कार्यक्रम बनाएको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमूख रवीन्द्र सेजुवालले बताए। जेष्ठ नागरिकसँग मेयर कार्यक्रमका लागि आधारभुत स्वास्थ्य तथा सरसफाई शाखामार्फत ५ लाख बजेट बिनियोजन गरिएको उनले जानकारी दिए। नगरभित्रका ६० वर्षमाथिका सबैलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ।
जेष्ठ नागरिकलाई औषधि बितरण गर्दै नगर उप प्रमूख बिजया बिष्ट। तस्बिर : बिस्नप्रसाद न्यौपाने
खाँडाचक्र नगरपालिकाकी उप प्रमूख बिजया बिष्टले अनुभव र ज्ञानका खानी जेष्ठ नागरिकहरुलाई स्वस्थ जीवन जीउनका लागि नगरपालिकाले जेष्ट नागरिकसँग मेयर कार्यक्रम तर्जुमा गरेको बताइन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमूख डा.पुनेस्वर केसरीले स्वस्थ व्यक्तिको स्वास्थ्य संरक्षण तथा रोगबाट ग्रसित जेष्ठ नागरिकहरुलाई उचित उपचार गर्न वडा वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए।
खाँडाचक्र नगरपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ बैद्य लक्ष्मिप्रसाद पाण्डेले जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तरगत ५ वडाका ३४७ जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणगरी साथै औषधि वितरण गरिएको जानकारी दिए।
बाँकी ६ वडामा पनि जेष्ठ नागरिकको क्रमश स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने उनले बताए।
जेष्ठ नागरिकहरुलाई मधुमेह, उक्त रक्तचाप, बाथ, दम, अम्लपित्त, मुत्र रोग लगायत रोगकासाथै शक्तिबर्धक औषधिहरु च्यावनप्रास, अश्वगन्धा चूर्ण, सिलाजित क्याप्सुल वितरण गरिएको छ।