आईपीएलमा बालबालिका

आईपीएलमा बालबालिका

यसपालीको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि कसले जित्यो भन्ने भाइबहिनीहरूलाई थाहै छ। गत आइतबार भएको रोमाञ्चक फाइनलमा चिरप्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सलाई एक रनको झिनो अन्तरले पराजित गर्दै मुम्बई इन्डियन्सले चौथो पटक उपाधि जितेको थियो। उपाधिसँगै मुम्बईले ठूलो धनराशिको पुरस्कार पनि पायो। मुम्बईले २५ करोड भारतीय रुपैयाँ (४० करोड नेपाली रुपैयाँ) पुरस्कार हात पार्‍यो। यसैगरी दोस्रो हुने चेन्नईले १२ करोड ५० लाख भारतीय रुपैयाँ (२० करोड नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्‍यो। प्रतियोगितामा तेस्रो हुने टोली दिल्ली क्यापिटल्सले १० करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पायो। चौथो हुने टोली सनराइजर्स हैदराबादको भागमा आठ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पर्‍यो।

यस पटकको आईपीएलका खेल जति रोचक र रोमाञ्चक भयो, त्यसलाई अभैm रोचक बनाउने काम स–साना भाइबहिनीहरूले गरे। धेरै भाइबहिनीले टेलिभिजनको स्क्रिनमा आफ्नो टोलीलाई सपोर्ट गरे। क्रिकेट स्टेडियममै पनि ठूलो संख्यामा उपस्थित भएर भाइबहिनीले आ–आफ्नो टोलीलाई समर्थन गरे। फेस पेन्ट गरेर स्टेडियममा आफूजस्तै साना साथीहरू पुगेको टेलिभिजनमा हेर्दा धेरै जना उद्वेलित पनि भयौ होला।

आईपीएलका खेल चलिरहँदा टेलिभिजन पर्दामा सर्वाधिक चर्चामा आइन्, जीवा। जीवा चर्चित भारतीय खेलाडी महेन्द्रसिंह धोनीकी छोरी हुन्। चार वर्षीया जीवा बुवा धोनीको टोली चेन्नई सुपर किङ्सको हरेक खेलमा आमा साक्षीसँगै मैदानमा पुग्ने गरेकी थिइन्। उनले प्याराफिटमा बसेर बुवा धोनीले ब्याटिङ गर्दै गर्दा ‘कम अन पापा’ भनेको भिडियो निकै भाइरल बनेको थियो। चेन्नईको प्रशिक्षणका क्रममै पनि मैदान पुगेर जीवाले बुवासँग खेलेको भिडियो भारतीय मिडियाका लागि मसला बनेका थिए। जीवा चेन्नईकै सुरेश रैनाकी छोरी ग्रासिया र हरभजन सिंहकी छोरी हिनायाका साथ मैदानमा दौडिएकी थिइन्।

आईपीएल लामो समय चल्ने टीट्वेन्टी क्रिकेट लिग हो। डेढ महिनाभन्दा बढी समयसम्म चल्ने आईपीएल विभिन्न देशका खेलाडी जमघट हुने संसारकै लोकप्रिय लिग हो। त्यसैले आईपीएलमा आउने अधिकांश विदेशी खेलाडीहरू आफ्नो परिवारसहित आउने गर्छन्। भारतीय तथा विदेशी खेलाडीलाई परिवारसँगै बस्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले छुट दिएको छ। त्यसैले धेरै खेलाडी परिवारसहित खेल स्थल पुगेका थिए।

मुम्बई इन्डियन्सका आक्रामक ब्याट्सम्यान काइरन पोलार्ड परिवारसहित भारत आएका थिए। वेस्ट इन्डिजको टिडिनाड एन्ड टोबागोका खेलाडी पोलार्ड पत्नी जेन्ना अली र छोरा काइदेनसँगै भारतमा आएका थिए। यस्तै चेन्नईका प्रारम्भिक ब्याट्सम्यान सेन वाट्सन पनि पत्नी लि फर्लोग, छोरा विलियम र छोरी माटिल्दा भिक्टोरियासँगै भारत आएका थिए। यस बाहेक पनि अन्य थुप्रै साना साना भाइबहिनी आफ्ना अभिभावकसँगै भारत आएका थिए। उनीहरू आफ्ना आमाबुवासँगै हरेक चौका र छक्कामा रमाएका थिए।

विस्फोटक ब्याट्सम्यानको छवि बनाएका वाट्सनका छोरा विलियमलाई केही भारतीय सञ्चार माध्यमले भारत बसाइँका बारेमा सोधेका थिए। उनले मैदानमा बुवा हुँदा र नहुँदा पनि आफूलाई आईपीएलले रोमाञ्चक बनाउने बताएका थिए।

खेलाडीका छोराछोरी मात्र होइन, थुप्रै बालबालिका आईपीएल हेर्न स्टेडियम पुगेका थिए। शनिबार र आइतबार भारतमा सार्वजनिक बिदा हुने भएकाले पनि आफ्नो घर नजिकै हुने खेलमा उनीहरू स्टेडियम पुग्ने गरेका थिए। उनीहरूले आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर स्टेडियम जाने र खेल अवधिभर सपोर्ट गर्ने गरेका थिए।

के भन्छन् नेपाली बालबालिका ?

विद्यालय जान बल्खुमा बस कुरिरहेका सोनम लामा आईपीएलको कुरा गर्नासाथ उत्साहित भए। कक्षा ६ मा पढ्ने उनले आफ्नो टोली मुम्बई इन्डियन्सले उपाधि जितेकोमा खुसी व्यक्त गरे। हार्दिक पान्ड्याका फ्यान उनले आईपीएलका सबै खेल हेर्न नपाए पनि बुवाआमासँग झगडा गरेर पनि फाइनल हेरेको बताए।

कीर्तिपुरको नयाँबजार चोकमा भेटिएका मिलन बस्नेत भने दिल्ली क्यापिटल्सका फ्यान थिए। उनले नेपाली खेलाडी सन्दीप लामिछानेका कारण दिल्लीको समर्थन गरेको बताए। दिल्लीले सन्दीपलाई सबै खेलमा नखेलाएकोमा आफूलाई दुःख लागेको उनले बताए। कीर्तिपुरकै सुशान्त महर्जनले भने आईपीएलका बारेमा अनभिज्ञ रहेको बताए। कक्षा ४ मा अध्ययनरत उनले आईपीएलको कुनै पनि खेल हेर्न पाएनन्। तर विद्यालयमा धेरै साथीहरूले यसैबारेमा कुराकानी गरेको सुनेर आफूलाई पनि यसप्रति रुचि जागेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.