दार्चुला राष्ट्रिय प्रसारण लाइन जोडिँदै
दार्चुला : नेपाल विद्युत् प्राधिकरणले दार्चुला सदरमुकाम क्षेत्रलाई राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी थालेको छ। गोकुलेश्वर क्षेत्रमा रहेको ११ केभी क्षमताको प्रसारणलाइनलाई सदरमुकाममा जोड्न लागिएको विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जानकारी दिएको छ।
महाकाली नगरपालिका–७ धापस्थित थालिगाडसम्मको ३३ केभी प्रसारणलाइनमार्फत सदरमुकाम क्षेत्रमा राष्ट्रिय प्रसारण पुर्याउन लागिएको वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। ‘गोकुलेश्वरदेखि थालिगाडसम्म २५ किलोमिटर लामो ३३ केभी प्रसारणलाइन निर्माण र परीक्षणसमेत सफल भइसकेको छ’, उनले भने। धापको थालिगाडमा प्राधिकरणले ३३/११ केभीको सबस्टेसन निर्माण गरिरहेको छ। तीन वर्षदेखि निर्माणाधीन सबस्टेसन निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्काल ११ केभी लाइनमार्फत खलंगामा विद्युत् सेवा पुर्याउने प्राधिकरणको तयारी छ।
चमेलिया जलविद्युत् आयोजनास्थल बलाँचमा रहेको ३३/११ को सबस्टेसनबाट अहिले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर क्षेत्रमा विद्युत् सेवा वितरण गरिएको छ। गोकुलेश्वर क्षेत्रमा पुगेको ११ केभी विद्युत् सेवालाई तत्काल खलंगासम्म जोड्ने प्राधिकरणको तयारी छ। थालिगाडको सबस्टेसन निर्माण सम्पन्न भएपछि भने ३३ केभी विद्युत् सेवा नै जोडिने वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। ‘सबस्टेसन निर्माण नहुन्जेलसम्म ११ केभी विद्युत् सेवा जोडिने हो, सबस्टेसन बनिसकेपछि भने ३३ केभी विद्युत् उपलब्ध गराउँछांै’, उनले भने।
राष्ट्रिय प्रसारणलाइनमार्फत सदरमुकाम क्षेत्रमा सेवा दिन प्राविधिक तयारी भइरहेको प्राधिकरणका सुपरभाइजर मीनराज पन्तले बताए। जेठ पहिलो सातासम्म राष्ट्रिय प्रसारणमार्फत सदरमुकाम क्षेत्रमा विद्युत् सेवा उपलब्ध हुनसक्ने उनको भनाइ छ। चैत १८ देखि गोकुलेश्वर—थालिगाड ३३ केभी प्रसारणलाइनको परीक्षण गर्ने कार्य थालिएको छ। एक महिनामा प्रसारणलाइनको परीक्षण सम्पन्न भएको विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका प्राविधिक कर्मचारी केशवसिंह विष्टले बताए।
गोकुलेश्वर क्षेत्रमा रहेको ११ केभी क्षमताको प्रसारणलाइन सदरमुकाम जोड्न लागिएको हो।
गोकुलेश्वरदेखि नङतड, आगर, बगौरा, बरमुडे, निसिल हुँदै थालिगाडसम्म प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ। थालिगाडदेखि खलंगासम्म भने ११ केभी प्रसारणलाइन सञ्चालनमै छ। जोलजिवी हुँदै ल्याइएको भारतीय विद्युत् लाइनले जोलजीव, दत्तु, धाप र खलंगा क्षेत्रमा हाल विद्युत् सेवा पुगिरहेको छ।
भारतबाट आयात गरिएको विद्युत् सेवा गुणस्तरीय र भरपर्दो नभएको स्थानीय बासिन्दाको गुनासो छ। दार्चुलामै चमेलिया र नौगाड नदीमा विद्युत् उत्पादन भइसक्दा पनि जिल्लामा उत्पादित विद्युत् उपभोग गर्न नपाएकोमा स्थानीयबासीको असन्तुष्टि छ। साढे ३ दशकअघि निर्माण भएको दार्चुला साना जलविद्युत् केन्द्रको विद्युत् भने खलंगाको बंगाबगड क्षेत्र र महाकाली नगरपालिकाका वडा १, २ र ३ मा वितरण गरिएको जिल्ला विद्युत् प्राधिकरण दार्चुलाले जनाएको छ।