हिपातले चौपाया मरेपछि : चौपाया किसानलाई प्रदेश सरकारबाट २० लाख राहात
पोखरा : अधिक हिमपातका कारण दुई महिना अघि मुस्ताङ जिल्लामा धेरै चौपाया मरेपछि गण्डकी प्रदेश सरकारले किसानलाई २० लाख रुपैयाँ दिने भएको छ। किसानले पालेका याक, चौरी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया मरेपछि गण्डकी प्रदेश सरकारले राहात दिने भएको हो।
व्यवसायीक किसानले हिमपातका कारण चौपाया मरेर ठूलो नोक्सान बेहोरर्नु परेपछि प्रदेश सरकारले मुस्ताङ जिल्लाका किसानलाई राहातका लागि २० लाख बजेट छुट्याएको गण्डकी प्रदेशको पशुपक्षी महाशाखा प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. दीर्घनाथ ढुंगनाले जानकारी दिए।
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा मात्र हिमपातको कारण र हिमपात लगतै भेडा च्याङ्ग्रामा छेर्ने रोगका कारण २ हजार ७ सय ६७ चौपाया मरेको लोमान्थाङ गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले बताए।
याक, चौरी गाई, भेडा, च्याङ्ग्रा, लु गाई लगायतका चौपाया गरी यति ठूलो संख्यामा चौपाया मरेका हुन्। मुस्ताङमा ६ करोड बढीको चौपाया मरेको बताइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र अयोजना, स्थानीय गाउँपालिका समेतले किसान माझ पशु विमा कार्यक्रम लग्दा कुनै किसानले पनि पशु विमा नगर्दा ठूलो नोक्सानी बेहोर्न परेको छ।
लोमान्थाङ गाउँपालिकाले राहातका लागि छुट्यायो ७ लाख ३१ हजार
हिमपातका कारण गत महिना मुस्ताङको लोमान्थाङ गाउँपलिकामा ठूलो संख्यामा किसानले पालेका चौपाया मरेपछि गाँउपालिकाले राहातका लागि ७ लाख ३१ हजार रुपौयाँ छुट्याएको छ।
किसानलाई थोरै राहात भए पनि उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको बैठकले यो निर्णय गरेको लोमान्थाङ गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले जानकारी दिए।
गाउँपालिकाले १ लाख पर्ने याक चौरीलाई १ हजार रुपौयाँ राहात दिने भएको हो। लोमान्थाङमा २ सय ५२ याक चारी मरेका तथ्याङ्क छ। यसै गरी १५ देखि १८ हजार पर्ने प्रति भेडा च्याङ्ग्रालाई ३ सय, पोथी भेडालाई २ सय, रमालाई ५० र याकको बाच्छाबाच्छीलाई ५ सय रुपौयाँको दरले लोमान्थाङ गाउँपालिकाले वडाको सिफारिसको आधारमा राहात दिने भएको हो।
मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले हिमपातको कारण मरेका चौपायालाई कति बजेट छ्ट्याउने भन्ने बारे छलफल भइरहेको बताएको छ।
यस गाउँपालिकामा करिव ४ सय चौपाया हिमपातको कारण मरेको उनले सुनाए। थोरै राहात दिएर खुशि पार्नु भन्दा पनि गाउँपालिकाले अव हुने यस्ता घट्ना नदोहोरिने उपाय तर्फ गाउँपालिकाले व्यवस्थापन गर्ने अध्यक्ष विष्टले सुनाए।
पशु विमा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन गाउँपालिका लाग्ने पनि उनले बताए। अन्य गाउँपालिकाले पनि राहातको बारेमा छलफल भइरहेको बताएका छन्। प्रदेश सरकारले दिने बजेटको आधारमा थप केही राहात किसानलाई दिने गाउँपालिकाले बताएका हुन्।