ला लिगाको अन्तिम खेलमा मेसीको २ गोल, बार्सिलोना बराबरीमा
एजेन्सी : स्पेनिस ला लिगाको यस सिजनको अन्तिम खेलमा उपाधि विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । दुई खेल बाँकी छँदै उपाधि पोल्टामा पारिसकेको बार्सिलोना एइबरसँग २–२ को बराबरीमा रोकिएको हो ।
एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान मेसीले २ गोल गरेपनि टोलीको जितका लागि त्यो पर्याप्त भएन । एइबरका मार्स कुकुरेल्लाले २० औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । ३१ औं र ३२ औं मिनेटमा मेसीले लगातार गोल गर्दा बार्सिलोना २–१ ले अघि बढेको थियो तर ४५ औं मिनेटमा एइबरका लागि पाब्लो डे ब्लासिसले गोल गरी खेल बराबरी गरे ।
पहिलो हाफ मै २–२ को बराबरी पुगेको खेलमा दोस्रो हाफमा कुनै गोल हुन नसक्दा बराबरीमै सकियो । बार्सिलोनाले निरन्तर दबाद बनाए पनि घरेलु मैदानमा एइबरका खेलाडीले कडा प्रतिरक्षा गर्दै मौकाको सदुपयो गरी बार्सिलोनामाथि आक्रमण गरे ।
३८ खेल खेल्दा ८७ अंक बनाएर बार्सिलोनाले यो सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले ३८ खेल मध्ये २६ मा जित, ९ मा बराबरी र ३ खेलमा हारकाे नतिजासहित यस सिजनको उपाधि जित्न सफल भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७६ अंक रह्यो । उपाधि दाबेदार मध्येको एक टोली रियल मड्रिड भने ६८ अंकका साथ तेस्रो स्थानमै सीमित भयो ।
ला लिगाको यस सिजनमा सर्वाधिक गोलकर्ता लियोनल मेसी बने उनले ३६ गोल गरे । मेसीपछि धेरै गोल गर्नेको दोस्रो सूचीमा पनि बार्सिलोना कै लुइज सुवारेज रहे । उनले २१ गोल गरे ।