ब्रेक्जिट सम्झौताका लागि मेको अर्को प्रस्ताव
सिन्ह्वा लन्डन : बेलायती प्रधानमन्त्री टेरेसा मेले यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि संसद्मार्फत अर्को ‘दमदार खाका’ पेश गर्ने आइतबार बताएकी छन्।
बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित एक लेखमा मेले भभनेकी छन्, ‘ईयूबाट बेलायतको बहिर्गमनका लागि अन्तिम प्रयासस्वरूप ‘नयाँ र सुधारिएको’ प्रस्ताव संसद्मा प्रस्तुत गरिनेछ।’ प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीले ल्याउने उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको छ। बेलायती संसद्का बहुमत सदस्यले प्रधानमन्त्रीबाट यसअघि पटक पटक ल्याइएका प्रस्तावको विपक्षमा मतदान गरेका थिए।
प्रधानमन्त्री मेले आफूले ‘पहिलेकै सम्झौतामा सांसदहरूलाई पुनः सोच्न मात्र भनेको नभई उनीहरूलाई सुधारसहितको प्याकेजका उपाय ल्याउन लागेकाले यसमा समर्थन प्राप्त हुने विश्वास व्यक्त गरिन्। मेको प्रस्ताव बेलायती संसद्ले पटक पटक अस्वीकार गरेको ब्रेक्जिट प्रक्रिया अवरुद्धतालाई समाधान गर्ने पहलस्वरूप आएको हो। मेले आफ्नो नयाँ प्रस्तावमा मतदानसँगै प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’बाट बाहिरिने समयतालिका पनि तय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।