भुक्तानी असन्तुलन ९ वर्षकै उच्च
काठमाडौं : मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो हुँदै गएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) को प्रतिवेदनअनुसार, मुलुकमा भित्रिएको र भुक्तानी दिएको रकमको खाडल ६४ अर्ब ६८ करोड रुपैयाँ छ। अघिल्लो महिना (फागुन)सम्म भुक्तानी असन्तुलन ५८ अर्ब ९९ करोड रुपैयाँ घाटामा थियो। मुलुक भित्रनेभन्दा बाहिर भुक्तानीतर्फ बढ्दो दायित्वले भुक्तानी असन्तुलन अत्यधिक बढेको छ। यो परिमाणको भुक्तानी असन्तुलन ९ वर्षयताकै उच्च हो।
आयातको भुक्तानी, बाह्य देशको भ्रमणमा नेपालीले गर्ने खर्च उच्च हुनु, विदेशमा अध्ययनमा बाहिरिने रकम लगायत बाह्य क्षेत्रमा सिर्जित भुक्तानी दायित्वले मुलुकमा भित्रिएको र बाहिरिएको रकमको अन्तर फराकिलो बनेको छ। यसका कारण मुलुकको घाटा बढ्दै गएको छ।
विप्रेषण, विदेशी सहयोगका विकास आयोजनामा प्राप्त हुने शोधभर्ना, निर्यात आय, पर्यटकबाट हुने आम्दानी, विदेशी लगानी तथा पुँजीगत ट्रान्सफरबाट मुलुकले प्राप्त गर्ने सबै रकमको योगफलभन्दा मुलुकले भुक्तानी गरेको रकम झण्डै ६५ अर्ब रुपैयाँले बढी हुँदा यसले बाह्य क्षेत्रको स्थायित्वमा दबाब सिर्जना गरेको छ।
विप्रेषण ६ खर्ब ५३ अर्ब
चालु आवको साउन–चैतसम्ममा ६ खर्ब ५३ अर्ब रुपैयाँ विप्रेषण प्राप्त भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा झण्डै २१ प्रतिशत बढी हो। यद्यपि, अमेरिकी डलरमा भने गत वर्षको तुलनामा विप्रेषण आप्रवाहको वृद्धिदर सामान्य घटेको छ। गत वर्ष सोही अवधिमा ९.६ प्रतिशतको विप्रेषणको वृद्धिदर रहेकामा यसपटक ९.५ प्रतिशतको वृद्धिदर छ। वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह वृद्धि भएकाले भने अघिल्ला वर्षको तुलनामा सुधार देखिन्छ।
विदेशी मुद्रा सञ्चितिमा चाप
बाह्य क्षेत्रमा भुक्तानी दायित्व बढ्दै गएपछि विदेशी मुद्रामा चापपर्न थालेको छ। चालु आवमा विदेशी मुद्रा सञ्चिति ५.६ प्रतिशतले घटेर ९ अर्ब ५२ करोड अमेरिकी डलरमा सीमित छ। आर्थिक वर्ष सुरु हुँदा १० अर्ब ८ करोड अमेरिकी डलर सञ्चित थियो। प्राप्त विदेशी मुद्राको तुलनामा भुक्तानी दायित्व उच्च भएकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ। केन्द्रीय बैंकका अनुसार, उपलब्ध वैदेशिक मुद्रा सञ्चितिले ७.९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। वैदेशिक मुद्रा प्राप्तिको दिगो र मजबुत आधार नभएका मुलुकमा कम्तीमा ८ महिनाको आयात धान्न पुग्ने वैदेशिक मुद्रा सञ्चिति हुनुपर्छ भन्ने मान्यता छ।
प्रत्यक्ष वैदेशिक लगानी घट्दो
चालु आवको ९ महिनामा ७ अर्ब १० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशत कम हो। गत आर्थिक वर्षको पहिलो ९ महिनामा १४ अर्ब ४१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।
उपभोक्ता मूल्यवृद्धि ४.४ प्रतिशत
उपभोक्ता मूल्यवृद्धि भने ४.४ प्रतिशत छ। ९ महिनाको औसत मूल्यवृद्धि ४.२ प्रतिशत रहेको उल्लेख छ।
व्यापारघाटा उच्च
९ महिनामा कुल १० खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको छ। गत वर्षको तुलनामा आयात २१.३ प्रतिशतले बढेको हो। यस्तै, निर्यात भने गत वर्षको सोही अवधिको तुलनामा १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा मुलुकको व्यापारघाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ छ।