गुणस्तर सेवाले विस्तार भएको ओयो

गुणस्तर सेवाले विस्तार भएको ओयो

दक्षिण एसियाको सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र संसारकै सबैभन्दा छिटो बढ्ने फ्रेन्चाइज होटेलको सञ्जालको रूपमा विकसित भएको ओयो नेपाल भित्रिएको पनि दुई वर्ष पूरा भएको छ। २०१७ मेमा काठमाडौंको प्रिन्स प्लाजाबाट यात्रा सुरु गरेको ओयो अहिले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायत ११ सहरमा छ। ओयोको सञ्जालमा अहिले दुई सयभन्दा बढी होटेल र ३४ सयभन्दा बढी कोठा पुगिसकेको छ। ओयोले हाँसिल गरेको रफ्तारको विषयमा नेपालमा ओयोलाई भित्र्याउने तथा यसको प्रवद्र्धनमा काम गर्दै आएका होटेल व्यवसायी युवराज श्रेष्ठसँग गरिएको कुराकानी :

नेपालमा ओयो भित्र्याउने श्रेय तपाईलाई जान्छ। ओयो भित्र्याउने योजना कसरी बन्यो ?

ओयो नेपालमा आएको दुई वर्ष भएको छ। साढे तीन वर्षअघि नेपाल भित्र्याउने योजना थियो। छिमेकी राष्ट्र र भारतीय पर्यटकको एउटा राम्रो गन्तव्यको रूपमा रहेको नेपालमा आफ्नो व्यवसाय विस्तार गर्न उनीहरूले चाहेका थिए। त्यतिबेला पहिलोपटक ओयोको टोली नेपाल आएको थियो। त्यो बेला मसँग छलफल भएको थियो। तर पनि यो विषयलाई खासै महत्व दिन सकिएन। प्रस्ताव रोकियो। त्यस बीचमा उनीहरूले धेरैपटक काठमाडौंमा सेवा विस्तार गर्ने प्रयास गरे। सफल भने भएनन्। त्यसको डेढ वर्षपछि ओयोको प्रतिनिधिको रूपमा प्रसुन चौधरी काठमाडौं आए।

उनी ओयोका सञ्चालक रितेश अग्रवालका कोर टिमका मान्छे पनि हुन्। प्रसुनसँगको बसाइ र उनीहरूको नयाँ किसिमको योजनाले मलाई प्रभाव पार्‍यो। चौधरीसँग नेपालमा ओयोले गर्न सक्ने सम्भावनाका विषयमा पनि छलफल भयो। त्यसले त्यसपछि प्रविधिलाई पनि आत्मसाथ गर्नुपर्छ भन्ने मनसायका साथ दुई वर्षअघि ओयो नेपालमा भित्र्याउने काम गरें।

त्यो बेला लागेको थियो ओयोले नेपालमा धेरैमा ८–१० वटा होटेल खोल्नेछ। अहिले भएजस्तो यसले धेरै विस्तार गर्छ भन्ने मैले सोचेकै थिइनँ। त्यो बेला बजारको मागअनुसार सहमति गरेर होटेल प्रिन्स प्लाजालाई पहिलो ओयो होटेलको रूपमा सुरुवात गरियो। त्यहाँबाट सुरु भएको नेपालमा ओयोको यात्रा अहिले दुई सयभन्दा बढी होटेल सञ्चालन भइसकेका छन्। काठमाडौं, पोखरा, चितवनलगायत १८ सहरमा यो छ। दुई वर्षअघि र अहिलेको अवस्थालाई अध्ययन गर्ने हो भने ओयोले नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पुर्‍याइरहेको छ।

ओयोको परिकल्पना कस्तो हो ?

ओयो होटेलको चेन हो। सर्भिस यसको प्राथमिकता हो। ग्राहकलाई सस्तोमा राम्रो सेवा दिनु नै ओयोको परिकल्पना हो। यसले अरूको होटेललाई लिएर सेवा सुविधालाई विस्तार गर्नुका साथै आफ्नै होटेल पनि खोल्दै आएको छ। यसले विषेशगरी भारत र चीनमा ठूलो बजार विस्तार गरेको छ। सुरुवात अरूको होटेलसँग सहकार्य गरेरै व्यवसाय गर्ने थियो।

तर विस्तारै होटेल पनि खोल्ने काम यसले गर्दै आएको छ। आफैंले खोलेका होटेल भनेको प्रिमियम सेगमेन्टका छन्। यसले विस्तारै अपार्टमेन्टको पनि सेवा दिन सुरु गरेको छ। अहिले १८ देशमा सेवा दिइरहेको छ। सुरुवातमा एउटा सानो सोचका साथ अघि बढेको कम्पनी आज भर्सटाइल किसिमले अघि बढेको छ।

नेपालमा ओयोको अवस्था कस्तो छ ?

२०१७ मेबाट काठमाडौंको प्रिन्स प्लाजाबाट आफ्नो यात्रा सुरु गरेको ओयो अहिले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायत ११ सहरमा सेवा विस्तार गरिसकेको छ। ओयोको सञ्जालमा अहिले दुई सयभन्दा बढी होटेल र ३४ सयभन्दा बढी कोठा पुगिसकेको छ। नेपालको परिवेशमा सुरुमा ओयोको एप डाउनलोड गर्नकै लागि विभिन्न अफर ल्याउनु परेको थियो।

अहिले साढे पाँच लाख एप डाउनलोड भएको छ। त्यसमा पनि साढे दुई लाखको हाराहारीमा एक्टिभ प्रयोगकर्ता छन्। प्रत्येक दिन दुई हजारको हाराहारीमा ओयोबाटै रुम बुकिङ हुने गरेको छ। तर पनि कम्पनीको लक्ष्य अझै पूरा भएको छैन। कम्पनीको लक्ष्य अबको एक वर्षभित्र देशभर चार सयको हाराहारीमा होटेल बनाउने र एप डाउनलोडको संख्या १० लाख पुर्‍याउने लक्ष्य छ। यसका लागि विभिन्न योजना ल्याउने, ग्राहकलाई आकर्षित गर्ने काम कम्पनीले गर्दै आएको छ। सुरुमा जुन रफ्तारले ओयोले नेपालमा विस्तार गरेको थियो त्यो रफ्तारमा कमी आएको अनुभव गरिरहेका छौं।

त्यसैले अहिले ओयोले नेपालमा व्यवसाय विस्तारका लागि छुट्टै टिम बनाएको छ। लक्ष्य हासिल गरेसँगै कम्पनीले विस्तारै नेपालमा आफ्नै लगानीमा होटेल खोल्ने पनि योजना बनाएको छ।

ओयोको लक्षित वर्ग को हुन् ?

कम्पनीको लक्षित वर्गमा सबै पर्छन्। तर बजेट होटेल खोज्नेका लागि यो सबैभन्दा उपयुक्त छ। कम्पनीले नेपालमा लगानी पनि त्यस्तै होटेलमा गरेको छ। नेपालमा ओयोको फ्यान फलोवर्स पनि बजेट होटेल रुचाउने खालकै छन्। पाँच सयमा रुम खोज्ने ग्राहकले ओयोबाट रुम बुक गर्छन्। जो ग्राहकमा समयमा होटेल बुक गर्दा ओयोमार्फत सस्तो मुल्यमा राम्रो कोठा पाइन्छ भन्ने छ उनीहरूको रोजाइमा ओयो छ।

ओयोले सेवाको गुणस्तरलाई कसरी व्यवस्थापन गर्छ ?

सर्भिस कम्पनीको प्राथमिकता हो। ग्राहकलाई सस्तो मुल्यमा राम्रो सेवा दिनु ओयोको परिकल्पना हो। यदि कुनै होटेलमा ग्राहक बसे र उसले उक्त होटेलको रुमको विषयमा एपमार्फत कुनै किसिमको गुनासो गर्‍यो भने त्यो रुमलाई ओयोले ब्याल्क लिस्टमा हाल्छ। त्यो कोठालाई मर्मत गर्न होटेललाई समय दिन्छ। तोकिएको समयभित्रै मर्मत नभएको खण्डमा होटेल नै ब्ल्याक लिस्टमा हालेर सेवा बन्द गर्छ। त्यसैले ओयोको होटेल संख्यामा समय समयमा घटबढ भइरहेको पाइन्छ। यो नै कम्पनीको गुणस्तर मापनको एउटा तरिका हो।

कम्पनीले हरेक ग्राहकसँग प्रतिक्रिया लिन पनि काम गर्दै आएको छ। यसको सुरुवात नै भारतमा गुणस्तरीय होटेलको कमी देखेर नितेस अग्रवालले सुरुवात गरेका थिए। ग्राहकलाई गुणस्तरीय सेवा दिने योजनाका साथ यसको सुरुवात भएको थियो। त्यसैले ओयोले हरेक होटेलमा ६ वटा मापदण्ड पूरा गर्नुपर्ने नियम राखेको छ। त्यसमा फास्ट इन्टरनेट, हाइजेनिक खाना, राम्रो बाथरुम, राम्रो सत्कारलगायत छन्।

ओयो होटेल र सामान्य होटेलमा हुने फरक के हो ?

सेवा नै यी दुईबीचको फरक हो। यदि सामान्य होटेल छ र त्यहाँ कुनै रूपका ट्वाइलेट बिग्रिएको छ भने त्यो बनाउन एक हप्ता लाग्ला। तर ओयोको मापदण्डले आजको आजै बनाउनु पर्छ।

नेपालको पर्यटन क्षेत्रमा ओयोले कसरी सहयोग पुर्‍याइरहेको छ ?

नेपालमा भारत र चीनबाट ठूलो मात्रामा पर्यटन आउँछन्। त्यहाँबाट आउने पर्यटन पछिल्लो समय ठूलो मात्रामा ओयोमार्फत नेपाल भित्रिएका छन्। नेपालमा पनि बजेट लेबलमा राम्रो होटेल पाइन्छ भन्ने कुरा ओयोले स्थापित गरिदिएको छ। सबै देशमा प्रयोग हुने एप एउटै भएकाले अहिले उतैबाट नेपालका ओयो होटेल बुक गरेर आउन सक्छन्। ओयोले नेपालमा सञ्चालन गरेको अफरको बारेमा जानकारी लिन पाउँछन्। त्यसबाट प्रभावित भएर कतिपय पर्यटन पनि यहाँ घुम्न आउने गरेका छन्। यसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ।

प्रिन्स प्लाजालाई ओयो बनाउनुभयो। अन्य दुईवटा होटेल क्राउन प्लाजा र सिभम प्लाजालाई किन ओयोसँग सहकार्य गर्नु भएन ?

दुई दसकदेखि यही क्षेत्रमा काम गरिरहेका छौं। सबै होटेल ओयोसँगको सहकार्यमै चलाउने हो भने हामीले यो क्षेत्रमा यत्रो वर्ष बिताएको कुनै अर्थ रहँदैन। हाम्रो आफ्नै ब्राण्ड छ। ग्राहक पनि फरक छन्। कोही प्रिमियम त कोही बजेट रुम खोज्ने। त्यसैले सबैलाई ओयोसँग सहकार्य नगरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.