प्रहरीकै पैसा लिएर दुर्व्यसनी फरार

प्रहरीकै पैसा लिएर दुर्व्यसनी फरार

बागलुङ : लागुऔषध मुद्दामा प्रायः कि भरिया पक्राउ पर्छन् कि प्रयोगकर्ता। ठूला बिक्रेता वा मुख्य व्यक्ति किन पक्राउ पर्दैनन् ? बारम्बार सोधिने प्रश्नमा प्रहरीको जवाफ हुन्छ, ‘अनुसन्धान जारी छ।’ यस्तै जवाफ दिँदा–दिँदा आजित बनेको जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध ओसारपोसार गर्ने मुख्य व्यक्ति पक्राउ गर्न विशेष योजना बनाएको छ।

नियमित लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका व्यक्तिले दिएको बयानका आधारमा मुख्य व्यक्तिसँग सम्पर्क गराउने र औषधीसहित पक्राउ गर्ने प्रहरीको योजना छ। डीएसपी झवीन्द्र भट्टराईको कमाण्डमा सादा पोशाकमा खटिएको टोलीले लागुऔषध प्रयोगकर्तामार्फत् कुमार भनिने ठूलो लागुऔषध कारोबारीलाई १० हजार पाँच सय रुपैयाँ दिएको प्रहरी प्रमुख कृष्णहरी शर्माले बताए। पैसा बुझेपछि उनी सम्पर्कविहिन् भएको उनले बताए।

आर्थिक अवस्था कमजोर भएकाभन्दा सम्पन्न परिवारका छोराछोरी कुलतमा बढी फस्ने गरेको प्रहरीको भनाइ छ।

‘लागुऔषध बिक्रेताले हाताहात बेचबिखन गर्दैनन्, उनीहरुले पहिले पैसा लिने र केही समयपछि राखेको ठाउँबाट लिएर बेच्ने गरेको अनुसन्धानबाट थाहा हुन आयो’, एसपी शर्माले भने, ‘तर हामीले पक्राउ गर्न खोजेको व्यक्ति पैसा बुझेपछि फरार भएका छन्। सायद उसले पक्राउको संकेत थाहा पाइसकेको हुनुपर्छ।’ एसपी शर्माका अनुसार प्रहरीबाट केही कमजोरी भएकाले उनी फरार हुन सफल भएको हुन सक्छ। तर कुनै न कुनै विधि अपनाएर लागुऔषध ओसार पोसारमा सम्लग्नलाई पक्राउ गरेरै छोड्ने उनले बताए।

घरदैलोमा प्रहरी

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध बिक्री वितरण तथा सेवन रोक्न अभियान सुरु गरेको छ। प्रहरीले कानुनी कारवाहीभन्दा लागुऔषध सेवनकर्तालाई सम्झाइबुझाइ दुर्व्यसनीरोक्न घरदैलोमा पुगेर सम्बन्धित व्यक्ति र अभिभावकसँग छलफल एवं परामर्श दिने गरेको छ। लागुऔषध प्रयोगकर्तालाई अभिभावकसँगै राखेर दुव्र्यसनको असर, यसबाट जोगिने उपायका बारेमा जानकारी दिने गरेको छ।

प्रयोगकर्ताको पहिचान गरी घरघरमै परामर्श दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी कृष्णहरी शर्माले जानकारी दिए। नसुध्रिने अवस्थामा पुगेका लागुऔषध प्रयोगकर्तालाई पुर्नस्थापना केन्द्रमा पठाउने गरिएको उनले बताए। फागुन २५ गतेदेखि अभियान सञ्चालन गरेको प्रहरीले वैशाख मसान्तसम्म सदरमुकामका ४० जना लागुऔषध प्रयोगकर्ताको घरमै पुगेर परामर्श दिएको प्रहरीले जनाएको छ। यस अवधीमा २७ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तीमध्ये १३ जनालाई सम्झाइबुझाई अभिभावकको जिम्मा लगाएको, ६ जनालाई सुधार केन्द्र र ८ जनालाई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

अभियानमा प्रहरीले पहिलो चरणमा २ टोली निर्माण गरी रामरेखा र गुठी क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सुची संकलन गरेको थियो भने दोस्रो चरणमा प्रयोगकर्ताको घरमै पुगेर परामर्श दिएको थियो। प्रहरीको अभियानपछि भर्खर लागुऔषधको कुलतमा फसेका युवा गलत बाटो त्याग्ने क्रम बढेको एसपी शर्माको दाबी छ। आर्थिक अवस्था कमजोर भएकाभन्दा सम्पन्न परिवारका छोराछोरी कुलतमा बढी फस्ने गरेको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.