कालिकोटमा फोनको हालत : ६ महिनादेखि अवरुद्ध, स्थानीय सरकारलाई छैन मतलब !
कालिकोट : कालिकोटका विभिन्न गाउँमा टेलिफोन सेवा अवरुद्ध छन् । टेलिफोन टावरमा क्षति भएपछि सम्बन्धित निकायले चासो नदेखाउँदा कतिपय गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित बनेका छन् ।
स्थानीय जनप्रतिनिधिले समेत यसबारे चासो नदेखाउँदा सेवाग्राही रुष्ट छन् । नरहरिनाथ गाउँपालिका पाँच दिनदेखि सञ्चार विहीन बनेको छ । गाउँपालिकाको वडा नम्बर ८ लालुमा रहेको टेलिफोन टावरमा खराबी आएपछि जेठ १ गतेदेखि सञ्चार अवरुद्ध भएको हो ।
गाउँपालिकामा रहेको एकमात्र टावरमा खराबी आएपछि सिंगो गाउँपालिका नै सञ्चार विहिन भएको हो । पाँच दिनदेखि सेवा अवरुद्ध हुँदा समेत गाउँपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
टेलिफोन टावरमा आएको समस्यासँगै गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सामा सेवा अवरुद्ध छ । जेठ १ गते परेको चट्याङका कारण सिस्टम जलेको हुनसक्ने स्थानीयको अनुमान छ । तै पनि गाउँपालिकाले यसबारेमा स्थानीयलाई केही जानकारी दिएको छैन । सेवा सूचारु गर्ने पहल समेत सुरु गरेको छैन ।
फोन सेवा अवरुद्ध भएपछि गाउँलेहरु अत्यावश्यक सेवाका लागि समेत घण्टाँै हिँडेर फोन गर्न बाध्य भएको स्थानीय परेक दर्जीले बताए ।
उनका अनुसार गाउँपालिका वडा नं १ र २ का स्थानीय युवा फोन गर्न धारीको डाँडामा बेलुका पख जम्मा हुने गर्छन् । आफन्तलाई फोन गर्न उनीहरु २ घण्टाभन्दा धेरै पैदल हिँडेर धारीको डाँडामा जाने गरेको संगिन भण्डारी बताउँछन् ।
यसबाहेक तिलागुफा नगरपालिकामा त टेलिफोन सेवा ६ महिनादेखि नै अवरुद्ध छ । स्थानीय राधिका शाहीका अनुसार ६ महिनादेखि तिलागुफाका बासिन्दा फोन गर्न जिल्ला सदरमुकाम धाउने गर्छन् ।
कतिपय सूचना आदान प्रदान गर्न नगरमा भएको नेटले फेसबुकबाट कल गरी आफन्तहरुसँग सम्पर्क गर्ने पनि राधिकाले बताइन् । पचालझरना गाउँपालिकाको वडा नं. ८ मयमा पनि अवस्था उस्तै छ । यहाँ पनि टेलिफोन टावर निर्माण गर्न ढिलाइ भएपछि स्थानीयले विद्युतको पोलमा टावरका सामान जडान गरी सेवा सुरु गरेका छन् ।
पचालझरना गाउँपालिकाको पहलमा विद्युतको पोलमा टावरका सामान जडान गरी बल्लतल्ल टेलिफोन सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । उनका अनुसार टावर बनाउन टेकेदारले ढिलाइ गरेका कारण विद्युतको पोलमा टावरका सामान जडान गरी सेवाको सुरुवात गरिएको हो ।