उपत्यका बाहिर ५ नयाँ मेडिकल कलेज
कार्यदलले स्थलगत अध्ययनपछि प्रतिवेदन बनाए पनि मेडिकल कलेज स्थापनाको आर्थिक भार बेहोर्न कठिन भएकाले तत्काल कार्यान्वयनमा जान नसक्ने।
काठमाडौं : काठमाडौं उपत्यका बाहिर ५ जिल्लामा मेडिकल कलेज खोल्न सकिने रायसहितको प्रतिवेदन सरकारलाई बुझाइएको छ।
शिक्षा मन्त्रालयको अनुरोधमा पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका प्राध्यापक मधुसुदन सुवेदी संयोजकत्वको कार्यदलले विस्तृत अध्ययन गरेर प्रतिवेदन दिएको हो। प्रतिवेदनअनुसार मेडिकल कलेजका लागि डोटीको सिलगढी नगरपालिकाको ग्वालासेन उपयुक्त छ। यो ठाउँमा ३ सय ३४ रोपनी जग्गा उपलब्ध गराउन सकिने कार्यदलको ठहर छ। क्षेत्रीय अस्पताल परिसरको ८४ रोपनी र अन्य वन तथा सार्वजनिक जग्गा छ। यो जिल्लाका ४ ठाउँमा टोलीले अध्ययन गरेको थियो।
डडेल्धुराको उप–क्षेत्रीय अस्पताल (पुरानो टिम अस्पताल) र डडेल्धुरा बहुमुखी क्याम्पसको जग्गामा मेडिकल कलेज स्थापना गर्न सकिने कार्यदलको निष्कर्ष छ। अस्पताल परिसरमा १ सय ७१ र र क्याम्पसको १ सय ४४ रोपनी जग्गा छ। यसबाहेक कार्यदलले डडेल्धुराकै भागेश्वर गाउँपालिकाको विरादे, अजमेरु गाउँपालिकाको पुइलेख, अमरगढी नगरपालिकाको घोडा बस्ने डाँडा र छचौडामा पनि सम्भाव्यता अध्ययन गरेको थियो।
पाँचथरको फिदिम नगरपालिकालको बत्तिसे डाँडामा निर्माणाधीन गणेशमान सिंह पार्कको ठाउँलाई मेडिकल कलेज स्थापनाका लागि उपयुक्त हुने सुझाव अध्ययन टोलीको छ। यो पार्क क्षेत्रमा रहेको ६२ रोपनी, नजिकै रहेको वन क्षेत्रको अन्दाजी ३५ रोपनी रोपनी जग्गामा पनि मेडिकल कलेज राख्न सकिने उसको राय छ।
यसबाहेक फिदिमकै दुमा र लबे्रकोटीमा समेत मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको भए पनि भौगोलिक अवस्थिति तथा जग्गाका कारण अन्यको तुलनामा यी ठाउँमा केही कठिनाइ हुने निष्कर्ष अध्ययन टोलीको थियो।
इलामको भोटेटार क्षेत्रस्थित २ हजार ६० रोपनी सार्वजनिक जग्गामा मेडिकल कलेज खोल्न सकिने कार्यदलको निष्कर्ष छ। इलामकै इलाम नगरपालिकामा रहेको घटिटार साँघुरीमा पनि कार्यदलले अध्ययन गरेको थियो। उदयपुरमा पनि मेडिकल कलेज स्थापना गर्ने क्रममा ८ ठाउँमा कार्यदलले अध्ययन गरेको थियो। तीमध्ये त्रियुगा नगरपालिकाको फर्सेट बगर क्षेत्रमा रहेको करिब ४० बिघा जग्गा मेडिकल कलेजका लागि उपयुक्त हुने कार्यदलको निष्कर्ष छ। सगरमाथा लोकमार्गले जोड्ने हुँदा यो स्थानमा अन्य जिल्लाबाट पनि आवातजावत गर्न सहज देखिन्छ। कार्यदलका अनुसार यो ठाउँको विकल्पमा कटारी नगरपालिकाको ताराघारी, कटारीकै देवीधाप पनि सम्भावित ठाउँ हुन सक्छन्।
सबै नागरिकलाई स्तरीय र सहज स्वास्थ्य सेवा दिने सरकारी नीतिअनुसार यी जिल्लामा मेडिकल कलेज खोल्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ।
डेढ महिनाअघि शिक्षामन्त्रीलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि भने कुनै प्रक्रिया आरम्भ भएको छैन। कार्यदलले सम्बन्धित क्षेत्रमै अध्ययन गरेर प्रतिवेदन तयार गरे पनि मेडिकल कलेज स्थापनाको आर्थिक भार बेहोर्न कठिन भएकाले तत्काल कार्यान्वयनमा जान नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले बताएको छ।
मन्त्रालयका एक उपसचिवका अनुसार उपत्यका बाहिर र विशेषगरि दुर्गम क्षेत्रका बासिन्दालाई चिकित्सा शिक्षा पहुँच विस्तार गर्न मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन गर्न कार्यदललाई जिम्मा दिएको हो। तर प्रतिवेदन सार्वजनिक भए कलेज खोल्न सम्बन्धित क्षेत्रबाट दबाब आउने त्रासका कारण मन्त्रालयले सार्वजनिक गरेको छैन। मेडिकल शिक्षा सुधारको माग गर्दै पटक पटक आन्दोलन गरेका डा.गोविन्द केसीले उठाउँदै आएका मागको भावनालाई प्रतिवेदनले समेट्छ।
कार्यदलका सदस्यसमेत रहेका मन्त्रालयका एक अधिकारीले भने, ‘अध्ययन टोलीले सम्बन्धित जिल्लाको स्थलगत अध्ययन नै गरेको छ। प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्न सकियो भने काठमाडौंदेखि टाढा रहेका विद्यार्थीलाई पनि मेडिकल शिक्षाका पहुँच विस्तार गर्न सकिन्छ।’