गाई बाँड्दै रेडक्रस
चितवन : नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ। रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो।
यो सँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ। शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १० गाई वितरण गरिएको हो। वन्यजन्तुको आक्रमण र बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई गाई र मल बिउ पनि वितरण गरिएको हो।
माडीका सबै क्षेत्रसँगै भरतपुरको जगतपुरमा रेडक्रस ग्राम र मङ्गलपुरको नारायणी तटीय क्षेत्रमा गाई वितरण गरिएको उनले बताए। पिप्लेमा पनि बाढीबाट प्रभावित भएकालाई प्राथमिकता दिएर गाई वितरण गरिएको थियो। सभापति न्यौपानेका अनुसार एउटा गाई खरीदका लागि कृषकलाई रु ५५ हजार उपलब्ध गराइएको थियो।
एक छाकमा कम्तिमा पाँच लिटर दूध दिने र दुई बेतभन्दा बढी नब्याएका गाई स्वयं कृषकलाई नै खरीद गर्न लगाइएको र उनीहरूले रू ५५ हजारदेखि रू एक लाख दुई हजारसम्मका गाई खरीद गरेका उनले बताए। नपुग रकम कृषक आफैँले थप गरेर गाई किनेका हुन्।
रेडक्रसको सम्बन्धित उपशाखा प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा कृषक छनोट गरिएको हो । छनोट गर्दा गरीब र काममा जाँगरिला कृषक छनोट गरिएको सोसाइटीले जनाएको छ।रासस