पाँचथर हत्याकाण्ड : परिवारका नौ जनाको हत्या लगत्तै मानबहादुरले आत्महत्या गरेपछि..
धरान : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा आइतबार राति एउटै परिवारका नौ जनाको हत्या भए लगत्तै मानबहादुर माखिम लिम्बुले आत्महत्या गरेका छन्।
श्रीमती मनकुमारी फियाकसहित ९ जनाको हत्या लगत्तै मानबहादुरको शव झुन्डिएको अवस्थामा भेटिएको हो। परिवारमा बेमेल भएपछि श्रीमती मनकुमारी फियाक मानबहादुरलाई छाडेर माइती घरमा बस्दै आएकी थिइन्।
मानबहादुर भने मिक्लाजुङ ७ को घरमा एक्लै बस्दै आएका थिए। श्रीमतीले छाडेपछि उनी मानसिक रुपमा विज्ञिप्त बनेका थिए। श्रीमतीसहित नौ जनाको हत्यालगत्तै उनले आत्महत्या गरेपछि प्रहरीले परिवारको हत्यामा उनकै संलग्नता रहेको आशंका गरेको छ। अनुसन्धान उनीतर्फ मोडिएको प्रहरी अधिकारीको भनाइ छ।
‘बच्न सफल बालिकाको भनाइ र उनको आत्महत्याले हत्यामा उनको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ’, अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले भने, ‘अहिले नै यसै भन्न सक्ने अवस्था छैन।’
गएराति सुरुमा बमकुमार फियाक लिम्बुको घरमा घटना घटेको देखिन्छ। सबै सुतिरहेका बेला मखुण्डो लगाएको व्यक्तिले अन्धाधुन्द हतियार प्रयोग गरेको प्रहरीले बताएको छ। बमकुमार फियाक आत्महत्या गर्ने मानबहादुरका ससुरा हुन्।
घटनाबाट बच्न सफल अनुमानित १५/१६ वर्षीया सीता खजुमले एकजना मखुण्डो लगाएको व्यक्तिले सबैको हत्या गरेको बताएकी छन्। ‘मध्यरातमा अनुहारमा मखुण्डो लगाएको व्यक्तिले सबैलाई खुकुरी हानेको हो ’, बालिकालाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘म भाँगेर बच्न सकेँ।’
सुरुमा आत्महत्या गर्ने मानबहादुरका ससुरा, सासु, श्रीमतीसहित चार जनाको हत्या भएको देखिन्छ। त्यही घरबाट १२ वर्षीय सीता खजुम भने भाग्न सफल भएकी हुन्।
प्रहरीका अनुसार सुरुमा चार जनाको हत्यापछि आत्महत्या गर्ने मानबहादुरकै साढुदाइ धनराज शेर्माको परिवारका पाँच सदस्यकाे हत्या भएको छ। त्यहाँ मानबहादुरका साढुदाइ धनराज र उनकी श्रीमती जस्मिता, छोरीहरु १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इच्छा शेर्माको हत्या भएको छ। धनराज पाँच महिना अगाडि मेलेसियाबाट घर फर्किएका थिए।
नौ जनाको हत्या लगत्तै मानबहादुरले झुन्डिएर आत्महत्या गरेपछि प्रहरी अनुसन्धान उनीतर्फ केन्द्रित भएको हो। यद्यपि एउटै व्यक्तिले ९ जनाको हत्या कसरी गरे भन्ने विषयमा गहन अनुसन्धानपछि मात्र बोल्न सक्ने एक प्रहरी अधिकारीको भनाइ छ।
मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक (लिम्बु) र उनका ज्वाइँ धनराज शेर्माका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलको भनाइ छ।
घटनाको अनुसन्धानका लागि अहिले प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल र संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री घटनास्थलतर्फ गएका छन्। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिँदै रिजाल र खत्री आफै घटनास्थलतर्फ हिँडेका हुन्।
शेर्माको परिवार
अनुमानित ३३/३४ वर्षीया धनराज शेर्मा
श्रीमती ३५ वर्षीया जस्मिता फियाक
छोरी १२ वर्षीया युहाना शेर्मा
छोरी १० वर्षीया मुना शेर्मा
छोरी ८ वर्षीया इच्छा शेर्मा
फियाक परिवार
अनुमानित ७०/७५ वर्षीया बमबहादुर फियाक
श्रीमती ७०/७५ वर्षीया पुर्सिमाया फियाक
छोरी ३५ वर्षीया मनकुमारी फियाक
बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक
घाइते
अनुमानित १५/१६ वर्षीया सीता खजुम । उनलाई उपचारका लागि झापा पठाइएको छ ।