ट्वाइलेट बनाउन सोच परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री राउत
धनुषा : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।
'सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ' उनले भने। मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानमा सहयोग गर्नका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताका लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गरिदिने बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियानअन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको पनि जानकारी गराए। ‘सम्पूर्ण प्रदेशवासीको महत्वपूर्ण अभिभारा खुला दिसामुक्त एवं स्वच्छ बनाऔँ, गाउँ शहर सारा’ भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति प्रदेश-२ ले आयोजना गरेको कार्यशालामा धनुषा र महोत्तरीका गाउँ र नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियाे। रासस