डढेलोले कैलालीमा ४० प्रतिशत वनमा क्षति
धनगढी : कैलालीको करिब ४० प्रतिशत वन क्षेत्रमा डढेलो लागेको छ। जिल्लाको मोहन्या, सुगरखाल, बुढीतोला, सहजपुर, खानीडाँडा, गोदावरीलगायत चुरेका विभिन्न ठाउँका वनमा आगलागी भइरहेको हो । यस्तै, तराईका मसुरिया, चौमाला, उदासीपुर, हसुलियालगायत ठाउँका वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।
जिल्लाको एक लाख ८० हजार हेक्टर वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्रमा आगलागीबाट प्रभावित भएको हो। क्षतिको विवरण भने यकिन हुन सकेको छैन।
राष्ट्रिय वन, सामुदायिक वन र साझेदारी वन क्षेत्रमा डढेलोका कारण हजारौँ साना तथा ठूला रुखहरू खरानी भएका छन्। गर्मी मौसम सुरु भएसँगै कैलालीको चुरे क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन भने तराईमा रहेका वन पनि आगलागीको चपेटामा परेको छ। आगलागीका कारण वनमा ठूलो क्षति भएको छ।
आगलागीबाट सबैभन्दा बढी चुरेको वन प्रभावित भएको छ। चुरे क्षेत्रमा सल्लाका रुखहरू बढी रहेका छन्। सल्लामा छिट्टै आगो सल्कनुका साथै भौगोलिक कठिनाइसमेत रहेकाले चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न चुनौती भएको सब-डिभिजन वन कार्यालय सहजपुरका प्रमुख डबल बोहराले बताए।
डढेलोका कारण वन मात्रै होइन वनमा आश्रति वन्यजन्तुको बास्थानमा समेत क्षति पुगेको छ पर्यावरणीय रूपमा महत्वपूर्ण मानिने चुरेसँगै जैविक विविधतामा अन्तर्राष्ट्रिय महत्व बोकेको कैलालीको वसन्ता जैविक मार्गमा पनि आगलागी भएको छ।
धनगढी उपमहानगरपालिकाका विभिन्न सामुदायिक वनमा पनि डढेलो लागेको छ। ‘मोटामोटी तथ्यांक संकलन गरिरहेका छ’, डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी भीम ढकालले भने, ‘तर, ४० प्रतिशतभन्दा बढी वन क्षेत्रमा आगलागी भएको अनुमान गरेका छ।’
सामुदायिकभन्दा राष्ट्रिय वन क्षेत्रमा बढी आगलागी भएको उनले बताए। गोदावरी नगरपालिकाको सेती सामुदायिक वनमा लागेको डढेलो फैलिएर चुरे पहाडसम्म पुगेको छ। बुढीतोलाको वन क्षेत्रमा लागेको डढेलोले ठूलाबाहेक स–साना सबै बोटबिरुवा जलेर नष्ट भएको स्थानीय मोहन खड्काले बताए।
मानवीय लापरबाहीले डढेलो लाग्ने गरेको छ। चुरोट, बिँडीको ठूटा जथाभाबी फाल्ने, घाँस पलाउँछ भन्ने गलत सोचले आगो लगाउने गर्नाले वन क्षेत्रमा डढेलोका घटना हुने गरेको जनाएको छ।