वीभत्स हत्याको एक साताअघि : जब थुक्पामा सिसा भेटिएको थियो
पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा गएराति ९ जनाको हत्या भएको छ। दुई परिवारका ९ जनाको हत्या भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी निरीक्षक अरुणकुमार पौडलका अनुसार मध्यरातमा दुई परिवारका नौ जनाको हत्या भएको हो। ‘घटना निर्मम देखिन्छ’, पौडेलले भने, ‘गहन अनुसन्धान अघि यसै भन्न सकिन्न।’
हत्या हुनेमा अनुमानित ७०/७५ वर्षीया बमबहादुर फियाक, श्रीमती ७०–७५ वर्षीया पुर्सिमाया फियाक, कान्छी छोरी ३५ वर्षीया मनकुमारी फियाक, बमबहादुरकी नातिनी (साइँली छोरीकी छोरी) १० वर्षीया आसिका खजुम रहेका छन्।
त्यसैगरी बमबहादुरका ज्वाइँ अनुमानित ३३–३४ वर्षीया धनराज शेर्मा, श्रीमती ३५ वर्षीया जस्मिता फियाक, छोरी १२ वर्षीया युहाना शेर्मा, छोरी १० वर्षीया मुना शेर्मा, भाइकी छोरी (भतिजी) ८ वर्षीया इक्सा शेर्माको हत्या भएको हो।
घटनास्थलबाट भाग्न सफल अनुमानित १५–१६ वर्षीया सीता खजुम घाइते छन्। उनलाई उपचारका लागि झापा पठाइएको छ।
पारिवारिक कनेक्सन
प्रहरीले घटना पारिवारिक झगडाका कारण भएको आशंका गरेको छ। श्रीमतीसहित मध्यरातमा ससुराली र साढु दाइको परिवारको हत्या भए लगत्तै मिक्लाजुङ ८ का मानबहादुर माखिम झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनामा परिवारको संलग्नताको आशंका गरेको हो।
‘घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले भने, ‘घटनाको अनुसन्धान धेरै कोणबाट गर्नुपर्ने देखिन्छ। पारिवारिक झगडासमेत रहेकाले आजै आत्महत्या गरेका मानबहादुरमाथि पनि शंका गर्ने ठाउँ छन्।’
मानबहादुर मनकुमारीका श्रीमान हुन्। उनको घर घटनास्थलबाट करिब साढे दुई घण्टाको पैदलमा पर्छ। पारिवारिक बेमेल भएपछि मनकुमारी मानबहादुरलाई घरमा छोडेर माइत बस्दै आएकी थिइन्।
घटनास्थलमा बच्न सफल सीता खजुमले एकजना मखुण्डो लगाएका व्यक्तिले आक्रमण गरेको प्रहरीलाई बताएकी छन्। यो भनाइले प्रहरीको अनुसन्धान ज्वाइँ मनबहादुतर्फ केन्द्रित भएको देखिन्छ। हत्या भएका फियाक र शेर्मा परिवारको घर १५ मिनेटको पैदल दूरीमा पर्छ।
एक साताअघि...
गाउँमा ठूलो घटना घटेपछि मिक्लाजुङका स्थानीयले भने एक साताअघि जस्मिता फियाकको घरमा पाकेको थुक्पामा सिसा भेटिएको विषयमा अनुसन्धान नगर्दा ठूलो दुर्घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उक्त घटनासँग सोमबार रातिको वीभत्स हत्याकाण्डको केही सम्बन्ध छ वा यी दुई घटना संयोगमात्र हुन् थाहा छैन तर स्थानीयहरू अघिल्लो घटनाको अनुसन्धान नहुँदा ठूलो घटना घट्न पुगेको शंका गर्छन्।
घटनास्थल पुगेका अन्नपूर्णका पाँचथर सम्वाददाता भीम बाँस्कोटा भन्छन्, ‘घटना गम्भीर देखिन्छ। स्थानीयले भने एकसाता अघि जस्मिताको घरमा पाकेको थुक्पामा सिसा भेटिएको र १० जना बिरामी परेको घटनाको प्रहरीले अनुसन्धान नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।’
के हो थुक्पामा सिसा ?
स्वास्थ्य जाँच गराएर जिल्ला अस्पताल फिदिम बाहिर बसेका बिरामीहरु । तस्बिर : भीमकुमार बाँस्कोटा
जेठ १ गते मिक्लाजुङ गाँउपालिका–३ आरुबोटस्थित दुई बालिकासहित आठजना स्थानीय थुक्पा खाएपछि अचानक बिरामी परेका थिए।
ढाका बुन्ने तालिममा सहभागी भएका ६ जना महिला र खाजा खुवाउने घरका दुई बालिका बिरामी परेका थिए।
मिलन केन्द्र पाँचथरले आयोजना गरेको तीनमहिने ढाका बुनाई तालिममा सहभागी भएका उनीहरुले वैशाख ३१ गते स्थानीय जस्मिता फियाकको घरमा थुक्पाको खाजा खाएका थिए।
ढाका बुनाई तालिममा जस्मिता प्रशिक्षक समेत थिइन्। थुक्पा खाएका नौ वर्षीया मुहाना शेर्मा र १३ वर्षीया मूना शेर्मासहित लक्ष्मी फियाक, मनिषा नेपाली विष्णु बिक, मनकुमारी फियाक, सोना लिम्बू र मेनुका दास बिरामी परेका थिए।
नुनमा सीसा मिसाएकाले खाजा खानेजति सबै बिरामी परेको पाँचथर अस्पतालले जानकारी दिएको थियो।
थुक्पा खाइसकेपछि बटुकाको पिँधमा सीसाको टुक्रा भेटिएको बिरामीले बताएका थिए। खाजा खाइसकेपछि घाँटीमा केही अड्कीएजस्तो हुन थालेको र पेट दुख्न थालेको भन्दै बिरामीलाई अस्पताल पुर्याइएको थियो।
खाजा खाइसकेपछि बटुकाको पीँधमा सीसाको टुक्राजस्तो देखिएपछि खोजी गर्दा नुनमा सीसा मिसाइएको पाइएको भए पनि यो विषयमा प्रहरीले गम्भीर अनुसन्धान नगरेको स्थानीयको आक्रोश छ।