एमबाप्पे पीएसजीमै बस्ने
पेरिस : पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले लिगको अन्त्यसँगै क्लब छाड्ने भन्ने विषय निराधार भएको क्लबले जनाएको छ । लिग च्याम्पियन पीएसजीले प्रेस विज्ञप्ति जारी गर्दे एमबाप्ले आगामी सिजन पनि क्लबमै रहने जानकारी गराएको हो । दुई दिनअघि मात्र एमबाप्पेले ‘फ्रेन्च लिग वान प्लेयर अफ दी इयर र युथ प्लेयर अफ दी इयर’ गरी दुई अवार्ड थापेका थिए । अवार्ड थाप्लै उनले आफू नयाँ चुनौती मोल्न तयार रहेको बताएका थिए ।
सोही आधारमा समाचार माध्यमले एमबाप्पेले पीएसजी छाड्न चाहेको समाचार बाहिर ल्याएका थिए । एमबाप्पेले स्पेनिस ला लिगा टोली रियल म्याड्रिडमा अनुबन्ध हुन तयार रहेको समाचारसमेत बाहिरिएको थियो । रियलमा अहिले फ्रान्सकै जिनेदिन जिदाने प्रशिक्षक रहेकाले पनि एमबाप्पे रियल जानेका धेरैको अड्कलबाजी थियो । तर, पीएसजीले सबै अड्कलबाजी मिथ्या भएको उल्लेख गरेको छ । एमाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजीमा अनुबन्ध भएका थिए ।
सुरुमा लोनमा आएका एमबाप्पेसँग पीएसजीले पछि स्थायी सम्झौता गरेको थियो । उनलाई पीएसजीले एक सय ६६ मिलयन पाउन्डमा अनुबन्धन गरेको हो । पीएसजीसँग एमबाप्पेको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ । फ्रान्स विश्वकप विजेता टोलीका महत्वपूर्ण सदस्य एमबाप्पेले पीएसजीका लागि खेलेका ८६ खेलका ५९ गोल गरिसकेका छन् ।
उनले यस सिजनको लिगमा सर्वाधिक ३२ गोल गरका छन् । पीएसजीलाई दुई वटा लिग र फ्रेन्च कपको उपाधि दिलाएका एमबाप्पेको च्याम्पियन्स लिग चुम्ने सपना भने पूरा हुन पाएको छैन । यसपटक पीएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा इङ्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग हार खेप्दै बाहिरिएको थियो ।