विश्वकपका लागि इङ्ल्यान्डको टोली घोषणा
लन्डन : घरेलु मैदानमै आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि इङ्ल्यान्डले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा जोफरा आर्चर, टम कुर्रान र लियाम दावसनलाई पनि समावेश गरिएको छ । डेभिड विल्ली र जोय डेनलीलाई भने विश्वकपका लागि घोषित अन्तिम टोलीमा समावेश गरिएको छैन । बार्बाडसमा जन्मिएका २४ वर्षीय आर्चर गत मार्चमा पहिलो पटक इङ्ल्यान्डको टोलीमा परेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीबाट केवल तीनवटा एकदिवसीय प्रतियोगिता खेलेका छन् ।
आगामी विश्वकपमा इङ्ल्यान्डले आफ्नो पहिलो खेल मे ३० तारिखमा दक्षिण अफ्रिकासँग खेल्दै छ । विश्वकपका लागि घोषित इङ्ल्यान्डको अन्तिम टोलीमा इयोन मोर्गन (कप्तान), मोइन अली, जोफरा आर्चर, जोनी बेयरस्ट (विकेटकिपर), जस बट्लर (विकेटकिपर), टम कुर्रान, लियाम दावसन, लियाम प्लनकेट, अदिल रसिद, जोय रुट, जासन रोय, बेन स्टोक्स, जेम्स भिन्स, क्रिस वाक्स र मार्क उड रहेका छन् ।
यसैगरी पाकिस्तानले पनि आगामी विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरिसकेको छ । घोषित १५ सदस्यीय पाकिस्तानी टोलीमा आसिफ अली, मोहम्मद आमिर र वाहब रियाजलाई पनि समावेश गरिएको छ । यसअघि विश्वकपका लागि घोषित प्रारम्भिक टोलीमा यी तीनैजना खेलाडीलाई समावेश गरिएको थिएन । यसअघि प्रारम्भिक टोलीमा परेका आविद अली, फाहिम असरफ र जुनैद खानलाई भने १५ सदस्यीय टोलीबाट हटाइएको छ ।
हालै सम्पन्न इङ्ल्यान्डविरुद्घको एकदिवसीय शृंखलापछि यी तीनैजना खेलाडीलाई टोलीबाट हटाइएको हो । पाँच खेलको उक्त शृंखलामा पाकिस्तान ४—० ले पराजित भएको थियो । विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल मे ३१ तारिखमा वेस्ट इन्डिजसँग खेल्नेछ । आगामी विश्वकप मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ ।
आगामी विश्वकपका लागि घोषित पाकिस्तानको अन्तिम टोलीमा सरफराज अहमद (कप्तान तथा विकेटकिपर), आसिफ अली, बाबर आजम, फाकर जामन, ह्यारिस सोहेल, हसन अली, इमान वसिम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद हाफिज, मोहम्मद होसैन, सदाब खान, साहिन अफ्रिदी, सोएम मलिक र वाहब रियाज रहेका छन् ।