पाँचथर हत्याकाण्ड : १० जनाकै शवको धरानमा पोस्टमार्टम गरिँदै
धरान : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरूबोटेमामा साेमबार राति मृत्यु भएका १० जनाको शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ। नौ जनाको हत्या लगत्तै झुन्डिएको अवस्थामा भेटिएका अर्का एक जनाको शवको विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्याल धरानका डीएपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
शवलाई मर्चरी भवनमा राखिएको छ। परीक्षणपश्चात शवलाई परिवारको जिम्मा लगाइने विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान सहायक निर्देशक डा. विकास शाहले बताए। नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सोमबार राति सामूहिक हत्या गरेका हुन्।
बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन्।
यस्तै धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ। बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी छन्। नौ जनाको हत्या भएलगत्तै मानबहादुर माखिमले आत्महत्या गरेका थिए। उनको शव घरनजिकै झुन्डिएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।