सकसमा दासढुंगा

सकसमा दासढुंगा

‘नढाँटेर भन्देऊ न त अमर लामा डाइभर

थियो कि त महलमा बस्ने रहर

छाद्नुपर्छ एक दिन त नचाहिँदो खाएको

आईसी हो कि डलर हो कि तिम्ले पाएको’

दासढुंगामा तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते निधन भएपछि लोकगायक बमबहादुर कार्की र उनको समूहले बजारमा ल्याएको गीति क्यासेटको पहिलो गीतका अन्तिम पंक्ति हुन् यी। त्यतिबेला म ठिमीस्थित आदर्श मावि लायकुमा कक्षा ७ मा पढ्दै थिएँ। ०४६ पछि धेरैपटक चितवन र काठमाडौं गरियो। तर जेठ ३ को घटनाभन्दा पहिले मैले दासढुंगाको नामैसम्म सुनेको रहेनछु। सो समयमा हाम्रो गाउँ चितवनको जुटपानीस्थित भटेनीमा बिजुली पुगिसकेको थिएन। क्यासेट बजाउनुपर्‍यो भने ब्याट्रीको सहयोग लिनुपथ्र्यो। हाम्रो घरमा त क्यासेटै पनि थिएन। त्यसैले दसैंमा घर जानुपूर्व मैले त्यो गीत ब्रेलमा उतारें। यसो गर्नुको एउटा उद्देश्य मजस्तै, तर पढ्ने अवसर नपाएका जेठा दाइलाई त्यो गाएर सुनाउनु थियो। किनभने उनी राजनीतिमा गहिरो अभिरुचि मात्रै राख्दैनथे, मदन भण्डारीको विचार र बोलीबाट प्रभावितसमेत थिए। गीतमा झैं अधिकांश मानिसले मदन–आश्रितको निधन दुर्घटना नभई सुनियोजित भएको ठाने। गाउँका मान्छेलाई वरिपरि राखेर मैले त्यो गीत सुनाएको २५ वर्ष भइसकेछ। यो २५ वर्षका बीचमा एउटा नयाँ पुस्ता नै मुलुकका लागि तयार भइसकेको छ। धेरै राजनीतिक परिवर्तन भएका छन्। तैपनि दासढुंगाको रहस्य उजागर हुन सकेको छैन।

छानबिनका केही आधार हुन्छन्। सबैभन्दा ठूलो आधार घटनाका असली साक्षी चालक अमर लामा थिए। उनी रहुन्जेल यो घटनाको वास्तविकता बाहिर आउनेमा थोरै भए पनि आशावादी हुने ठाउँ थियो। माओवादी विद्रोह उत्कर्षमा पुगेका बेला छापामार शैलीमा उनकै पनि हत्या भयो। त्यसैले लाग्छ, जतिसुकै हत्यारा पत्ता लगाउने भनिए पनि दासढुंगा प्रकरण के थियो भन्नेमा अब निचोडमा पुग्न सजिलो हुने छैन। विश्व इतिहास हेरियो भने न अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यारा पत्ता लागेको छ न त उत्तर कोरियाका वर्तमान शासक किम जोङ उनका दाजुको मलेसियामा भएको हत्या प्रकरणले तथ्य भेटाउनेछ। जसरी जेठमै भएको दरबार हत्याकाण्डका बारेमा छानबिनले यथार्थ बाहिर ल्याएन या ल्याउन सकेको छैन ठीक त्यसरी नै रहस्यमयी रहन सक्छ मदन–आश्रित प्रकरण। ५० सालपछिको पुस्ताले मदन आश्रितका बारेमा त्यति चासो राख्ने छैनन् जति कुनै न कुनै रूपले उनका बारेमा सुनेकाहरूले राख्थे। नयाँ पुस्ता आफ्नै समस्यामा छ। तिनको निराकरण उनीहरूको पहिलो प्राथमिकता हो।

मदन भण्डारी नेपाली राजनीतिमा उदाउँदै गरेका थिए। प्रत्यक्षरूपले उनले देशलाई केही गरिहाल्न पाएका त थिएनन् तर आफ्नो चमत्कारिक वाक्कलाबाट धेरैलाई आकर्षित पार्न सफल भइसकेका थिए। आशाको नजर उनीतिर परिसकेको थियो। त्यसैले होला अमेरिकी पत्रिकाले लेख्यो— कार्ल माक्र्स नेपालमा बस्छन्। यसरी अन्तर्राष्ट्रिय रूपमै चर्चा बटुल्दै गरेका भण्डारीको अप्रत्यासित निधनले एमाले पंक्ति मात्र होइन, सिंगो देश शोकमा डुब्यो। एमालेले त्यो घटनालाई केवल दुर्घटना मान्न सकेन। सडक आन्दोलन लामै समयसम्म चल्यो। कहिले निशाना सत्तामा रहेको नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि सोझिन्थ्यो भने कहिले त्यो अमेरिकी राजदूत जुलिया चाङ ब्लकसम्मै पुग्थ्यो। अनि कहिले त्यो दक्षिणी छिमेकीतिर तेर्सिन्थ्यो भने कोहीकोहीले त एमाले भित्रैकामाथि पनि आशंका गर्थे। विशेष गरेर एमाले विभाजन भएपछि वामदेव गौतमको नेतृत्वको नेकपा मालेबाट यस्तो आशंका गरिएको थियो। कोइराला सरकारले अनिल आयोग बनाउँदा एमालेले अहिलेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा र नागरिक समाजका तर्फबाट पद्मरत्न तुलाधरको नेतृत्वमा अलगअलग आयोगहरू बनाइए। ओली आयोगले हत्या हो भन्नेबाहेक खासै छानबिनमा प्रगति भएन। बरु एमालेले हत्यारा पत्ता लगाउन आफू सत्तामा पुग्नुपर्ने महसुस गर्‍यो।

नेकपा सत्तामा गएकै हुँदैनथ्यो भने दासढुंगा प्रकरणमा उसको आवाज आक्रामक हुन्थ्यो। तर ऊ अहिले सत्तामा छ र पनि तत्सम्बन्धी खोजीमा खासै केही गरेको छैन।

काठमाडौं क्षेत्र नं १ को उपनिर्वाचनमा एमालेले वर्तमान राष्ट्रपति तथा मदनपत्नी विद्या भण्डारीलाई उम्मेदवार बनाएपछि मजस्ताले उनी संसद्मा पुगेमा दासढुंगाबारे धेरै कुरा खोजी गर्न सहज हुने आकलन गरेका थियौं। विद्या भण्डारी धेरैपटक सासंद मात्र होइन सत्तामै पुगिन्। नेपाली पहिलो महिला राष्ट्रपतिसमेत भएकी छन् तर दासढुंगा जस्ताको त्यस्तै छ। मदन भण्डारी राष्ट्रका नेता हुन्। त्यस अर्थमा उनीप्रति जनताको चासो रहनु स्वाभाविक हो। सत्यतथ्य बाहिर आओस् भन्ने आकांक्षा अपेक्षित हो। सँगसँगै अर्को यथार्थ के पनि हो भने जति मदन भण्डारीका बारेमा हामीले सोचेका हौंला, पक्कै पनि त्योभन्दा धेरै उनकै परिवारले सोचेको होला। हामीलाई भन्दा मदन नहुँदाको अभाव र पीडा उनकै परिवारलाई होला। त्यसैले, दासढुंगा प्रकरणसँग जोडिएर विगतमा जे बोलियो, जे सोचियो र गरियो सत्तामा रहँदा त्यसको हेक्का राख्दै छानबिन होस् भन्ने जनअपेक्षा स्वाभाविक हुन आउँछ।

विद्या भण्डारी राष्ट्रपति हुनुका अतिरिक्त दुइटा कम्युनिस्ट दल एक भएर बनेको शक्तिशाली नेकपाको सरकार, त्यसमा पनि एमालेले बनाएको आयोगका संयोजक स्वयं केपी ओली नै प्रधानमन्त्री। यो भन्दा सायदै उत्तम अवसर फेरि जुर्ला। त्यसैले होला मूर्छित आशा कताकता बौरिन खोज्दा रहेछन्। कतिपयले एमालेलाई दासढुंगा घटनालाई सत्तामा पुग्ने लिस्नो बनाएको आरोप लगाउने गर्छन्। हुन पनि नेपालमा वामपन्थीलाई सत्तामा पुर्‍याउने काम मदन–आश्रितको निधनपछि मात्रै भएको हो। जसको नाममा आन्दोलन गरियो र जसको विचारमा टेकेर तत्कालीन एमाले सत्तामा पुग्यो उसैको बारेमा सत्तामा पुगेपछि जयन्ती मनाउने स्थितिमा बाहेक खासै सरोकार नराखे झैं जनतामा छाप पर्नु निश्चित रूपमा सुखद होइन। विडम्बना नै ठान्नुपर्ला, दासढुंगा अब विस्तारै एउटा कर्मकाण्डमा रूपान्तरण हुँदैछ। हरेक जेठ ३ गतेलाई सम्झना त गरिन्छ तर त्यो मदनको गुणगान गाएर उनको पदचाप अनुसरण गर्ने प्रतिबद्धतासहित सकिनेछ। यसपटक पनि त्यस्तै भयो। चाहे त्यो दरबार हत्याकाण्ड होस् या दासढुंगा, सरकारमा रहेकाहरू हत्यारा पत्ता लगाउँछौं भन्न छोड्ने छैनन्। हुनसक्छ, त्यसो भन्नु उनीहरूको बाध्यता हो, राजनीति हो र कतिपय अवस्थामा रणनीति पनि। यसपटक गृहमन्त्रीले त्यही आशय दोहोर्‍याए। निश्चितै छ, मन्त्रिमण्डल फेरबदल भएन भने आगामी जेठ ३ गते पनि अहिलेका गृहमन्त्रीले उही प्रतिबद्धता दोहोर्‍याउने छन्।

गुनासो गर्ने सत्ता पक्षसँग हो। अपेक्षा गर्ने पनि उसैसँग हो। दबाब दिने पनि उसैलाई हो। किनभने आधिकारिक ठाउँमा उनीहरू नै हुन्छन् र जिम्मेवारी बहन गर्नु उनीहरूकै कर्तव्य हो। नेकपा सत्तामा गएकै हुँदैनथ्यो भने दासढुंगा प्रकरणमा उसको आवाज आक्रामक हुन्थ्यो। तर ऊ अहिले सत्तामा छ र पनि तत्सम्बन्धी खोजीमा खासै केही गरेको छैन। विगतमा तत्कालीन एमालेले गरेको सडक आन्दोलनसँगै आफ्नो दलप्रति निशाना सोझिएको र नेकपा नै सत्तामा पुग्दासमेत अवस्था जस्ताको तस्तै रहेकोमा छब्बीसौं जयन्ती मनाइरहँदा जेठ ३ गते कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा नेकपाप्रति लक्ष्यित गर्दै आश्चर्यको भावमा लेखे, ‘इमानदार कार्यकर्ताले आज मदन–आश्रितको तस्बिरमा फूल चढाएर कर्तव्य पूरा भएको ठान्ने छैनन्। प्रश्न तेस्र्याउने छन्– आफ्नै सरकारलाई रेशमी पर्दापछाडि लुकेका दोषी कहाँ छन्।’ यसरी हेर्दा लाग्छ– दासढुंगा आफैंमा पीडित छ। उसमाथि दुई नेता निलेको आरोप छ। बोल्न सक्थ्यो भने उसले बताइदिन्थ्यो सत्य के हो। तर ऊ बोल्न सक्दैन। त्यसैले अरूलाई सजिलो छ दासढुंगाको सकसमा राजनीति गर्न।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.