विद्यार्थी टिकाउन निशुल्क खाजा
रुकुमपश्चिम : यमुनानन्द नमुना माध्यामिक विद्यालयले विद्यार्थीका लागि निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ।खाजाको व्यवस्था गरेपछि विद्यार्थी नियमित स्कुल जान थालेका छन्। मुसीकोट नगरपालिका ५ सेरगाउँस्थित यमुनानन्द नमुना माध्यामिक विद्यालयले शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको हो।
साताको हरेक आइतबारदेखि बिहीबारसम्म दिउँसो १ बजे स्कुलले खाजा खान दिने गर्छ। विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलका अनुसार आइतबार पुरी-तरकारी, सोमबार हुलावा, मंगलबार चिउरा-तरकारी, बुधबार चना र बिहीबार नमकिन-अचार खुवाउने गरिएको छ।
बालबालिकालाई विद्यालय आउन उत्प्रेरित गर्ने र शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको प्रअ पौडेलको भनाई छ। मुसीकोट नगरपापलिकाको आर्थिक सहयोगमा विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने गरिएको हो। विद्यालयले दिवा खाजाको साथै विद्यालय समय सकिएपछि थप एक घण्टा अतिरिक्त कक्षा समेत संञ्चालन गरेको छ।