तीन सातामा दुई चिकित्सकको निधन : अग्रवालको अन्त्यष्टि

तीन सातामा दुई चिकित्सकको निधन : अग्रवालको अन्त्यष्टि

विराटनगर : प्रदेश १ को स्थायी राजधानी विराटनगरले तीन साताको अवधिमा दुई चर्चित चिकित्सक गुमाएको छ। 

प्रदेशकै ठूलो सरकारी अस्पताल कोसीमा कार्यरत १० औं तहका वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको वैशाख १८ गते निधन भएको थियो। त्यसको तीन साता पछि कोसी अस्पतालकै वरिष्ठ बाल रोग विशेषज्ञ एवं प्रदेश १ का लोकप्रिय चिकित्सक ४३ वर्षीय डा. विमल अग्रवालको पनि मंगलबार निधन भयो। 

छात्तीमा समस्या देखिएपछि गत वैशाख २४ गते उपचारका लागि आफै कार हाँकेर नोबेल शिक्षण अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

मस्तिष्कघात भएसँगै उनलाई नोबेलमै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। ‘हामीले उपचार सुरु गर्दा अवस्था अन्तिम बनिसकेको थियो। त्यतिबेलै ‘ब्रेन डेड’ भइसकेको थियो,’ उपचारमा संलग्न अस्पतालका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपालले भने, ‘यहाँबाट निकालेर उपचारका लागि अन्यत्र लैजान सक्ने अवस्था पनि थिएन। मस्तिष्कघातका कारण उहाँलाई बचाउन सकिएन।’ नेपालका अनुसार ईसीजी गर्दा मुटुमा समस्या देखिएको र इन्जीयोग्राफीका क्रममा मस्तिष्कघात भएको पत्ता लागेको थियो। 

अग्रवाल ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत थिए। छोटै समयमा बालबालिकाको उपचारमा निक्कै ख्याती कमाएर चर्चित र लोकप्रिय बनेका थिए। आफ्ना नानी बिरामी हुँदा उपचारका लागि अभिभावकले उनको नाम पहिलो नम्बरमा लिने गरेको स्वास्थ्यकर्मी एवं अग्रवाल निकट दिनेश ठाकुरको भनाइ छ। ठाकुरका अनुसार मिजासिला स्वभावका डा. अग्रवाल सबैसँग चाँडै घुलमिल हुने, दुःख परेकाहरुलाई सहयोग गर्ने र गरिबका छोरा छोरीको निःशुल्क उपचार गर्ने विशेषज्ञ चिकित्सक हुन्। 

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले तीन साताको अवधिमा दुई सहकर्मी विशेषज्ञ चिकित्सक गुमाउनु परेकोमा दुःख व्यक्त गरे। 

परिवारका सदस्यले भने नोबेलका चिकित्सकको लापरवाहीले अग्रवालको निधन भएको आरोप लगाएका छन्। उनका दाजु सन्दीप अग्रवालका अनुसार चिकित्सकले उपचारमा ढिलाई र लापरवाही गर्दा परिवारको सदस्य गुमाउनु परेको पीडा पोखे। 

‘समस्यालाई गम्भीर रुपमा लिएर चिकित्सकले बेलैमा उपचार सुरु गरेको भए भाइ बाँच्ने थियो। उपचार सुरु गर्न नै ३ घण्टा ढिलो गरिदिए,’ उनले भने, ‘चिकित्सकको ढिलाइकै कारण स्वास्थ्य अवस्था जटिल बनेर गएपछि उपचार सम्भव भएन।’

डा. अग्रवालको विराटनगर–८ स्थित विश्रान्ती घाटमा बुधबार दिउँसो अन्त्येष्टि गरिएको छ। उनको अन्तिम बिदाइमा डाक्टर, विराटनगर महानगरका मेयर, राजनीतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्तकको बाक्लो उपस्थिति थियो। त्यस अघि उनको शवलाई श्रद्धाञ्जलिका लागि विराटनगर–९ स्थित घरमा राखिएको थियो। अग्रवालकी पत्नी डा. कोपिला अग्रवाल विराट टिचिङ अस्पतालमा कार्यरत छिन्। अग्रवाल दम्पतिका १४ वर्षीय एक छोरी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.