सैनिक र नेपाल प्रहरीको विजयी सुरुवात
भक्तपुर : आयोजक सैनिक आवासीय महाविद्यालय र नेपाल प्रहरी स्कुलले भक्तपुरमा बुधबारदेखि जारी अठारौं अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
आयोजक सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा सैनिक ए ले त्रियोग स्कुललाई ५-० गोलले हराएको हो। लिगकम नकआउटको आधारमा खेलाइएको अर्को खेलमा पनि सैनिकको बी टीमले ईपीएसलाई १-० गोलले पन्छाएको छ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलले डीएभीमाथि ५-० गोलको जीत निकाल्यो। अन्तिम खेलमा बुढानिलकण्ठ स्कुल र भ्याली पब्लिक २-२ गोलको बराबरीमा रोकिए।
प्रतियोगिताको उद्घाटन सैनिक आवासीय महाविद्यालयस्थित नेपाली सेनाका प्रमुख सेनानी देवबहादुर क्षेत्री र स्कुलका प्रिन्सिपल सुरेन्द्र पनेरुले गरेका थिए।
प्रतियोगितामा काभ्रेसहित काठमाडौं उपत्यका १४ वटा स्कुलका १५ वटा टीमको सहभागिता रहेको छ। ती टीमहरुलाई चार वटा समूहमा बाँडिएको छ। जसअनुसार समूह ए, सी र डीमा चारचा र समूह बीमा तीन स्कुल रहेका छन्।
समूह ए मा आयोजक सैनिकको ए टीम, त्रियोग, सेनाकै रिपुमर्दिनी स्कुल र राजन मेमोरियल स्कुल छन्। समूह बीमा आयोजक सैनिकको बी टीम, ईपीएस र साइपाल एकेडेमी रहेका छन्।
त्यस्तै समूह सीमा नेपाल प्रहरी स्कुल, जेम्स, काठमाडौं भ्याली स्कुल र डीएभी तथा समूह डीमा बुढानिलकण्ठ, लिटिल एञ्जेल्स, अरुनिमा र भ्याली पब्लिक स्कुल रहेका छन्।
प्रतियोगिताका विजेता र उपविजेतालाई उपाधिसँगै आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको स्कुलका खेलकुद इञ्चार्ज रञ्जित राणाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले पुरस्कृत गरिने छ।
सत्रौं संस्करणसम्ममा आयोजक सैनिक स्कुलले १३ पटक उपाधि उचालिसकेको छ। त्यस्तै सिद्धार्थ वनस्थलीले दुईपटक र एसओएस हर्मन माइनर तथा बेलर इन्टरनेसनलले एकएकपटक प्रतियोगिताको उपाधि जितेका छन्।