जैविक विविधता दिवस मनाइयो
काठमाडौं : अन्तर्राष्ट्रिय जैविक विविधता दिवस बुधबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ। दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षारोपण गरिएको हो।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद् तथा स्थानीयले पनि वृक्षरोपण गरे।
‘जैविक विविधताको संरक्षण सरकार एक्लैले गरेर सम्भव छैन’, मन्त्री बस्नेतले भने, ‘सरकारले नेतृत्व लिन्छ। स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ।’
दिवसको यो वर्षको नारा ‘खाद्यान्न र स्वास्थ्य जीवनका लागि जैविक विविधता’ रहेको छ। सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ मा यो दिवस मनाइन्छ।