थापालाई राष्ट्रिय स्रष्टा सम्मान
काठमाडौं : गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मान २०७५ बाट गीतकार नगेन्द्र थापालाई सम्मान गर्ने भएको छ। थापालाई एक लाख नगदसहित सम्मान गरिने छ।
डायस्पोरा गीतकार सम्मान यस वर्ष हङकङमा बस्ने गीतकार रामकृष्ण वान्तवालाई ११ हजार नगदसहित प्रदान गरिने छ। संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो।
वर्ष गीत पुरस्कार २०७५ का लागि अरुण तिवारी, वसन्तराज अज्ञात, दिनेश सुवेदी, जानु लिम्बु, डीआर उपाध्याय, टिका चाम्लिङ, हाङयुग अज्ञात, झोटन मेहता, रमेश दाहाल र अर्जुनरत्न भिखारी उत्कृष्ट दसमा छानिएका छन्।
कार्यक्रम हुने दिन जेठ २५ गते उत्कृष्ट एकको नाम घोषणा गरी ५१ हजारसहित पुरस्कृत गरिने संघका अध्यक्ष चुडामणि देवकोटाले जानकारी दिए।
वर्ष गीत पुस्तकका लागि सात पुस्तक आएकोमा उर्मिला कोइरालाको दिलको गजुर, गौरव गुरुङको पहाडको गीत र रविन्द्र आशिष शैलीको माया महल उत्कृष्ट तीनमा छनोट गरिएका छन्। सोही दिन उत्कृष्ट एकलाई पनि ५१ हजारसहित पुरस्कृत गरिनेछ। प्रतिस्पर्धामा गीत भने ५६ वटा प्राप्त भएका थिए।