वडा कार्यालय पुग्नै तीन घण्टा !
चुँजा (प्यूठान) : वडा कार्यालय टाढा हुँदा मल्लरानी गाउँपालिका वडा नम्वर १ का सर्वसाधरणले सास्ती पाएका छन्। दुर्गम क्षेत्रका स्थानीय वडा कार्यालय पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ। कार्यालयसम्म सडक सुविधा नहुँदा उनीहरूले हैरानी खेप्नुपरेको गुनासो गरेका छन्।
‘बुढाबुढीलाई वडा कार्यालय हिँडेर पुग्न तीन घण्टा बढी समय लाग्छ’,मल्लरानी १ अल्कामाझका स्थानीय बृद्ध डोर बहादुर केसीले भने, ‘अपायक ठाउँमा कार्यालय हुँदा जनताले दुःख पाए।’ सिफारिस लिनका लागि एक दिन छुट्टाएर घरबाट हिड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
वडाका अल्कामाझ, ठूलाचौर सहित गैरालुक्का, सलिथुम, सिद्धारा, सोलहाल्ना, टोड्के, थाम, चुदरीखोला, अर्वाङ र सानीलेक क्षेत्रका स्थानीय कार्यालय टाढा हुँदा बढी मर्कामा परेका छन्। सदरमुकाम खलंगामा रहेको गाउँपालिका कार्यालयबाट नजिकै परेपनि वडाबासीका लागि कार्यालय टाढा रहेको छ।
मल्लरानी १ र २ को सिमाक्षेत्र चुँजाको खौलेपोखरीको भाडाको घरमा वडा कार्यालय संचालनमा रहेको छ। वडाका कार्यालय सहयोगी अल्कामाझका रमेश केसी कार्यालय खोल्न दिनहुँ घरबाटै आउजाउ गर्छन्। उनी धेरैजसो कार्यालय समयभित्र कार्यालय खोल्न पुग्न सक्दैनन्। मल्लरानीकै दुर्गम क्षेत्रमा रहेका यस क्षेत्रका स्थानीयले वडा विभाजनपछि थप सास्ती खेप्नु परेको गुनासो गरेका छन्।
१ र २ वटा वडा सचिवको जिम्मेवारी नायव सुव्वा सुदिप सुवेदीले पाएका छन्। गाउँपालिकाको प्रशासन र पञ्जीकरण शाखा प्रमुखको जिम्मेवारी समेत उनकै काँधमा छ। उनको पदस्थापन गाउँपालिका कार्यालयमा भएको छ। तर, सुवेदीलाइ कर्मचारी अभावले गर्दा वडा सचिवको जिम्मेवारी तोकिएको हो।
गाउँपालिकाकै काममा भ्याइनभ्याइ भएकाले वडामा पुग्न नसकिएको सुवेदीले प्रतिक्रिया दिए। वडाका सामाजिक परिचालकहरूले लेखिदिएको सिफारिसमा हस्ताक्षर गर्न सेवाग्राही सचिव खोज्दै गाउँपालिका पुग्ने गर्छन्। विशेष काममा मात्र वडामा पुग्ने गरिएको सुवेदीले बताए।
अपायकमा वडा कार्यालय भएपछि सवैलाइ सहज हुनेगरी अरवाङ देउरालीमा नयाँ भवन निर्माणको प्रक्रिया यसवर्ष अघि बढेको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी गराए। जिल्ला सम्वन्य समितिबाट प्राप्त ५० लाख र गाउँपालिकाबाट विनियोजित ३५ गरी कुल ८५ लाखमा भवन निर्माण गर्ने योजना रहेको उनले सुनाए। भवन निर्माण लागि स्थानीयले दुइ रोपनी क्षेत्रफल जग्गा निःशुल्क दिएका छन्। आउँदो आर्थिक वर्षभित्र भवन बनिसक्ने उनको भनाइ छ।