जवाफहीन शासकको बोझ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता लिने एकजना पत्रकारलाई अहंकारी, उद्दण्ड, अशिष्ट र असनको साँढेजस्तो भनेर ट्वीट गरेका छन्। नागरिकले तिरेको करको सुविधामा बस्ने बाबुरामले एक सञ्चारकर्मीसँग उपेन्द्रले देखाएको अहंकार, अशिष्टता, उद्दण्डता र साँढेपना भने देखेनन्। यो राजनीतिज्ञको सर्वसत्तावादी सोचको उपज हो।
नेपालको राजनीतिका एक अत्यधिक अध्ययनशील र विद्यावारिधिसम्मको औपचारिक शिक्षा प्राप्त गरेका नेता बाबुरामको मानसिकता सर्वसत्तावादी हुन्छ भने पुनर्जागरण, गोरखापत्र र जनआस्था आदि मात्र पढेका नेताहरूबाट के अपेक्षा गर्ने ? शिष्टता भनेको अर्काको सम्मान हो। पत्रकार जनताको सन्देशवाहक हो। जनताका सन्देशवाहकको सम्मान गर्न नसक्ने नेता जनताको पिठ्युँको बोझ हो। बिमति राख्नेलाई सुराकी भनेर सफाया गर्ने सिद्धान्तका प्रतिपादक बाबुराम हुन्। चालीसबुँदेको उपयोग गरेर उनी प्रधानमन्त्रीसमेत भए। आफैंले लेखेको संविधानमा गरेको हस्ताक्षरको सही नसुक्दै विरोध गर्ने उनै हुन्।
कांग्रेसलाई प्रमुख शत्रु मान्ने र कांग्रेससँगै तालमेल गरेर निर्वाचित हुने बाबुराम हुन्। डेकेन्द्र थापाको हत्याराको रक्षा गर्ने तर उपेन्द्रलाई प्रश्न सोध्नेलाई उद्दण्ड मान्ने बाबुराम हुन्। एक नयाँ अवधारणासहित नयाँ शक्ति निर्माण गर्ने भनेका बाबुराम हाललाई उपेन्द्रको शरणमा लम्पसार भएका छन्। विचारमा दृढ धारणा नभएको आफ्नो द्वैध चरित्रको परिचयलाई बाबुरामले यो ट्वीटमार्फत निरन्तरता दिएर आफ्नो परिचय जीवित राखेका छन्। पढेका नेताको यस्तो हविगत छ भने नपढेकाको कस्तो होला ?
नेपालमा राजनीतिक क्रान्तिमार्फत संघर्षको अनुभव मात्र भएका नेताहरू धेरै छन्। ०७ सालको क्रान्ति र १७ सालको कदमको विषयमा तिनले प्रशस्त ज्ञान आर्जन गरेका छन्। बीपीवाद, समाजवाद, माक्र्सवाद, माओवाद, लेनिनवाद र स्टालिनवाद पढेर त्यसअनुरूपको राजनीतिक संघर्ष पनि गरेका छन्। तर समस्या के हो भने संघर्षका दौरान गरिएका जघन्य अपराधलाई वैध मानेर अशिष्टता, उद्दण्डता, अहंकार र साँढेपना जीवित राखिएको छ। ४७ सालदेखि अहिलेसम्म पत्रकारको पुस्तान्तरण भइसकेको छ तर तिनले अन्तर्वार्ता लिने नेताहरूको सूची आजसम्म उही छ। एउटै नेतालाई छापाले दसकौंसम्म कभर गर्छ। नेताहरू हामीलाई मिल्न दिइएन, हामीलाई फुटाइयो, हामी जंगल पस्छौं, हामी बुद्ध बन्छौं, अर्को प्रचण्ड जन्मिन्छ, तनाशाही लादियो, संघीयता संकटमा पारियो आदि रटानमा रमाएका छन्। यस्तो उकुसमुकुसमा नयाँ पुस्ताका केही पत्रकारको नैराश्य कहिलेकाहीं विस्फोट हुन्छ, जसरी माओवादीको युद्ध भएको थियो।
हामी भूमण्डलीकरणको युगमा छौं। इन्टरनेटको विकासले सञ्चारको विस्तार तीव्रगतिमा भइरहेको युगमा तालिमप्राप्त सञ्चारकर्मीहरू संकुचित राजनीतिभन्दा माथि उठेर विश्वस्तरीय मापदण्डको ज्ञानले सुसूचित छन्। ज्ञान र क्षमताको अभिवृद्धिले निर्भय भइसकेको आजको सञ्चारकर्मी वा एक शिक्षित नागरिक नेताहरूका घोके–रटेका तम्तयार जवाफले सन्तुष्ट हुँदैन। राजनीतिज्ञले अन्तर्वार्ताको अवसरलाई आफ्नो वकबासको प्रचारप्रसार र भाषणबाजी गर्न प्रयोग गर्दा क्षमतावान् पत्रकार उससामु नतमस्तक भएर कृतज्ञ हुनुभन्दा उसबाट छुटकारा पाउनु व्यावसायिक ठान्छ। जसरी १७ हजार नागरिकको हत्या, हजारौंको विस्थापन, करोडौंको फिरौती र बैंकको लुटलाई नजरअन्दाज गरेर माओवादी आन्दोलनको महिमा गाइन्छ त्यसरी नै उपेन्द्रको अन्तर्वार्तालाई नेपालको सञ्चारको युगमा एउटा नयाँ सुरुवात भन्न सकिन्छ। शिष्टता कुनै विश्वविद्यालयमा प्राप्त हुने उपाधि होइन। यो ठूलोले सानोलाई व्यवहारबाट सिकाउने हो।
शिष्टता र अशिष्टताको विषयमा नेताहरूले टीकाटिप्पणी गर्नुभन्दा घटनाको कारण खोज्नु बुद्धिमानी हुन्छ। नेपालमा सञ्चारकर्मीलाई राजनीतिज्ञले आफ्ना कार्यकर्ता झैं ठान्छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अभद्रताको पराकाष्ठा अहिलेसम्म युट्युबमा चर्चित छ। शेरबहादुरका अन्य प्रस्तुतिमा पनि सञ्चारकर्मीसँग आक्रोश अति बढी देखिन्छ। देउवाले एउटा अनुशासनहीन कार्यकर्तालाई हप्काए झैं प्रश्नकर्तालाई हप्काएर जवाफ दिन सजिलो माने। यो ज्ञानको अभावको प्रमाण हो। सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटा केही प्रश्नका जवाफ दिन नसकेपछि एकजना भद्र पत्रकारसँग अभद्र रूपमा प्रस्तुत भएको जनताले पचाउनै पर्यो। झूटो जानकारी दिने सञ्चारमन्त्रीलाई कारबाही भएन बरु पत्रकारले जागिर गुमाउनु पर्यो। जनतासँग साँचो बोल्नुपर्छ भन्ने ज्ञानको उनीसँग अभाव देखियो। सरकारको दृष्टि पुग्न नसकेका कतिपय मुद्दाहरूलाई सञ्चारमाध्यममार्फत उजागर र समाधान गरेर सञ्चारलाई एक नयाँ आयाम दिएका रवि लामिछानेसमेत राजनीतिज्ञको विशाल आलोचनाका पात्र बनेका छन्। गणतन्त्र र संघीयता ल्याउन संघर्ष गर्ने नेताको आलोचना गर्नु हुँदैन भन्ने नेपालका राजनीतिज्ञहरूको तर्क छ। माओवादी युद्ध वा गौर नरसंहारको कुरो त परै जाओस्, नेताको अवैध धनमा समेत नेपालका बहुसंख्यक पत्रकारले आजसम्म प्रश्न गर्ने हिम्मत गरेका छैनन्। सञ्चार क्षेत्रमा नेताको भय कायम छ।
उपेन्द्रको शरणमा स्थान सुरक्षित गर्न प्रेस स्वतन्त्रताविरुद्ध ट्वीट गरेर बाबुराम एकपटक पुनः पराजित भएका छन्।
लोभ र भयले नेपालको पत्रकारिता स्वस्थ्य हुन सकेको छैन। सैद्धान्तिकरूपले नेपालमा प्रेस स्वतन्त्रता छ तर दलीय राजनीतिबाट प्रेसमा प्रवेश गरेका प्रेसकर्मीहरूको नेपालमा बाहुल्य छ। पत्रकारको नेताप्रिय बन्ने होडबाजी पनि छ। एकजना पत्रकार नेताको घरमा गएर उनकी पत्नीलाई ‘तपाईंले नेपालको संघीयता र गणतान्त्रको आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ, तपाईंलाई कस्तो लागिरा छ ? ’ भनेर सोध्छन्। कसैले नेताका छोरा–नातिहरूलाई कार्यक्रममा नायकका रूपमा प्रस्तुत गर्छन्। कोही बिहान–बेलुका नेताको निवासमा देखिन्छन् र नेताको दिनचर्या जनतासम्म पुर्याउने काम गर्छन्। चाकडीबाज पत्रकारलाई अभद्र, अशिष्ट, उद्दण्ड र असनको साँढे भनेर कसैले आलोचना गरेका छैनन्। व्यावसायिक रूपले क्षमतावान् र जनताको मुद्दामा केन्द्रित पत्रकारको मात्रै आलोचना गरिन्छ। आफ्नो पेसासँग बेइमानी गर्ने पत्रकारलाई बरु सरकारी लाभको पदमा नियुक्ति गर्ने तर व्यावसायिक पत्रकारको निन्दा गर्नुको कारण के हो भने राजनीतिकरूपले हामी अज्ञानतामा रमाउने कालमा छौं।
दार्शनिक युभल नोवा हरिरीले आफ्नो पुस्तक ‘सेपियन्स’ मा मानव विकासका क्रममा करिब पाँच सय वर्षअघि मानिसले अज्ञानताको ज्ञान प्राप्त गरेपछि वैज्ञानिक क्रान्ति सुरु भएको लेखेका छन्। त्यसअघि मानिसलाई चाहिने ज्ञानको स्रोत धर्म थियो। अज्ञानताको ज्ञान भएपछि मानिसले प्रतिस्पर्धा पनि गरेको छ। त्यही समयमा युरोपमा साम्राज्यवादको फैलावटमा ज्ञानलाई पनि शक्तिका रूपमा लिइएको ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ मा इतिहासकार पल केनेडीले लेखेका छन्। अर्थात् सैनिक र आर्थिक शक्तिका साथै ज्ञानको शक्तिमा आ िश्रत भएका साम्राज्यहरू बलिया र टिकाउ भएको अनेक तथ्य उनले दिएका छन्। मानव उत्पत्ति भएको कालदेखि अहिलेसम्म केवल विगत दुई सय वर्षमा मानिसको जीवनमा परिवर्तन आएको छ। यो वैज्ञानिक खोजको काल थियो। राजनीतिक शक्तिले ज्ञान आर्जनमा ध्यान दिएका कारण औद्योगीकरण सम्भव भएको हो।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्टिभन पिनकरले आफ्नो पुस्तक ‘इन्लाइटमेन्ट नाउ’ मा विगत दुई सय वर्षमा गरिबी निवारणका साथै मानव जीवनमा व्यापक सुधार भएको तथ्य लेखेका छन्। यसको प्रमुख कारणको रूपमा उनले वैज्ञानिक खोज र प्रविधि विकासलाई मानेका छन्। लेखक जन नोर्वर्गले आफ्नो पुस्तक ‘प्रोग्रेस’ मा ज्ञान, भूमण्डलीकरण र स्वतन्त्र बजारलाई परिवर्तनको कारक मानेका छन्। स्वतन्त्र बजारको विरुद्ध उभिनेका लागि पनि यो पुस्तक लाभदायक छ। स्टिभनले भूमण्डलीकरणलाई औद्योगीकरणभन्दा शक्तिशाली भएको उदाहरण दिएका छन्।
शीतयुद्धको बखतको ध्रुवीकृत विश्वको राजनीति सबैलाई अवगत नै छ। तर शीतयुद्धकालमा भएको प्रतिस्पर्धात्मक शोधले भएको सूचना सिद्धान्तको विकासले अहिले हामी डिजिटल युगमा छौं। अप्रत्यासित उद्यमशीलताले आर्थिक वृद्धि सम्भव हुन्छ भन्ने तर्कसहितको अर्थशास्त्री जर्ज गिल्डरको पुस्तक ‘नलेज एन्ड पावर’ जानकारीमूलक छ। पुस्तक पुँजीवादी अर्थतन्त्रका पक्षमा लेखिएको भए पनि वैज्ञानिक चुनौतीहरू, उद्यमशीलता, सूचना क्रान्तिका तगारा र तिनको निरूपणका विषयमा लेखकले तथ्यगतरूपमा लेखेका छन्। अर्थात् ज्ञानको आवश्यकताले विश्वमा क्रान्ति भएको यी सबै लोकप्रिय पुस्तकमा पाइन्छ। विज्ञानले अज्ञानताको प्रमाण माग्दैन। अज्ञानता विज्ञानको स्वयंसिद्ध तथ्य हो। अज्ञानताको स्वीकारोक्तिबाट उन्नतिको बाटो खुल्छ। मानिसले ज्ञान प्राप्त नगरेसम्म अज्ञान रहन्छ। अयोग्य र जवाफहीन नेताको बोझबाट छुटकारा नभएसम्म नागरिक समृद्ध पनि हुँदैन। नेपालको समस्या यही हो।
नेपालको राजनीतिमा ज्ञानको आवश्यकता बोध नभएरै राजनीतिक परिवर्तन हुँदा पनि नेपालमा गुणस्तरीय शिक्षाका लागि कदम चालिएका छैनन्। युवाहरू ज्ञानको खोजीमा बिदेसिने क्रम जारी छ। दक्ष जनशक्ति पनि विदेशमै रोजगार खोज्दै छ। सरकार स्वयं श्रमिकहरूलाई विदेश पठाउने नीति निर्माण गर्दै छ। स्वास्थ्योपचार गर्न पनि विदेशै गइन्छ। विदेशी नहुँदा मेलम्चीको सुरुङ खन्ने काम रोकिन्छ। सडक सफा गर्ने ब्रुमर (कुच्चो) विदेशका। विमानका पाइलट विदेशी। जलविद्युत् निर्माण गर्ने कम्पनी बिदेशी। नेताहरूले चढ्ने मोटरहरू विदेशी। विदेश भ्रमणमा रमाउने नेता। व्यापार घाटामा छ। त्यस्तो अवस्थामा तपाईं महान् र क्रान्तिकारी नेता हुनुहुन्छ, ‘तपाईंलाई कस्तो छ’ भनेर सोध्नुको सट्टा व्यावसायिक प्रश्न सोध्ने एक दबंग पत्रकार कहिलेकाहीं निस्कन्छ। बेथितिको परिणामस्वरूप ऊ उग्र पनि देखिन्छ।
सञ्चारकर्मी र राजनीतिज्ञको वाक्युद्ध संसारमा सबैतिर हुन्छ। दर्शकको धैर्यको बाँध नफुटेसम्म अन्तर्वार्तामा पत्रकारको व्यवहारलाई अशिष्ट मानिँदैन। पत्रकारको अशिष्टताको मूल्यांकन उसका दर्शकले गर्छन् र प्रस्तोतालाई बहिष्कार गरेर उसको पेसासमेत समाप्त गर्न सक्छन्। तर नेपालमा त मन्त्रीले पत्रकारलाई निष्कासन गर्छ। त्यसैले यो एक प्रेस स्वतन्त्रतासँग जोडिएको विषय हो। यद्यपि सुशील पाण्डेसँग यसलाई सौहार्दपूर्ण रूपले सम्पन्न गर्ने अवसर थियो, ‘लोहा लोहेको काटता है’ भने झैं उनले उपेन्द्रसँग रक्षात्मक भएर जस्तालाई तस्तै गरे। यो स्वाभाविक हो, अमर्यादित हुँदै होइन। उपेन्द्रको शरणमा स्थान सुरक्षित गर्न प्रेस स्वतन्त्रताविरुद्ध ट्वीट गरेर बाबुराम एकपटक पुनः पराजित भएका छन्।
अन्त्यमा, शिष्टता नागरिकको गहना हो, पत्रकारको पनि। वार्तालापका क्रममा आएका व्यक्तिगत आरोपलाई पत्रकारले नजरअन्दाज गरेर आफ्ना प्रश्नमा केन्द्रित हुनु व्यावसायिक हुन्छ। अहम्भावलाई महŒव दिएर आक्रोशित मुद्रामा आनन्दित हुनु पत्रकारका लागि शोभनीय हुँदैन। तर मौजुदा परिस्थितिमा भने एक शक्तिशाली नेतासामु साँढेजस्तै उभिने पत्रकार एक उच्च मूल्यांकनको हकदार हो। नेपालका सबै पत्रकार सुशीलजस्तै निर्भय भएर असनका साँढेजस्तै नेतासामु उभिए भने राजनीतिमा जवाफदेहिता र सतर्कता सहितको एउटा सकारात्मक परिवर्तन आजै देखिन्छ। द्वैधचरित्रधारी, सर्वसत्तावादी, ज्ञानशून्य र जवाफहीन नेताको बोधबाट जनताले छुटकारा नपाएसम्म देश बन्दैन।