मुलुक सामाजिक न्याय र समानतामा आधारित समृद्धितर्फ अग्रसर : राष्ट्रपति
ओखलढुंगा : राष्ट्रिपति विद्यादेवी भण्डारीले मुलक सामाजिक न्याय र समानतामा आधारित समृद्धितर्फ अग्रसर भएको बताइन् । स्वर्गीय युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
प्राकृतिक र सांस्कृति वैभवले सम्पन्न ओखलढुंगाजस्ता पहाडी जिल्लाको विकासबाटै समृद्ध नेपाल निर्माण संभव हुने राष्ट्रपतिको भनाइ छ ।
मुलक अहिले समृद्धिको बाटोमा अग्रसर रहेको बताउँदै भण्डारीले प्रदेश सरकारले गुणस्तरीय प्राविधिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन, उद्योगग्रामको विकास गरेर स्थानीय समुदायमा रोजगारी सृजना गर्न अग्रसर हुनु पर्ने बताइन् ।
खेलकुदको पूर्वाधार विकासमा ध्यान दिएर दक्ष खेलाडी र स्वस्थ नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास राष्ट्रिपति भण्डारीले व्यक्त गरिन् । सडक सञ्जालको विस्तार र सुदृढीकरण, खानेपानीको यथोचिथ वितरण, पहाडी जिल्लामा एकीकृत वस्ती विकास गरेर कम लगतैमा सेवा दिन सकेमा समृद्धिको नारा सार्थक हुने भएकाले सम्बन्धित निकाय यसफर्त अग्रसर हुन राष्ट्रपतिको आग्रह छ ।
राष्ट्रपति भण्डारीले मौलिक कला र संस्कृतिको रक्षा गर्न रुम्जाटारलाई स्मार्ट सिटी बनाउन लागेकोमा शुभकामना समेत दिइन् । शालिक अनावरण र नव निर्मित श्रष्टा पार्क उद्घाटनपछि भण्डारीले ओखलढुंगाको श्रष्टापार्कले साहित्यिक र सांस्कृतिक पर्यटन प्रबर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताइन् । ओखलढुंगालाई चिनाउने सिद्धिचरणको कविता प्रशंसा गर्दै भण्डारीले युगकविका साहित्य सिर्जनाले प्रकृति र मातृभूमिप्रति अगाध माया र आस्था जगाउन प्रेरणा दिने बताइन् ।
साहित्य सिर्जनाको माध्यमबाट योगदान पुर्याउने सर्जकहरुलाई सम्मान गर्दै राष्ट्रपति भण्डारीले मुलुक सामाजिक न्याय र समानतामा आधारित समृद्धिको दिशातर्फ अग्रसर भएको अवस्थामा साहित्यकार, कलाकार तथा सर्जकहरुले आफ्ना सृजनामार्फत आम जनसमुदायमा आफ्नो भविश्यप्रति दृढ जगाउने सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिइन् ।
सिद्धिचरण नगरपालिका र युगकवि सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण तथा श्रष्टापार्क उद्घाटन कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति भण्डारी बिहीबार बिहान ११स्२० मा ओखलढुंगा आएकी थिइन् ।
कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रपतिको उपस्थितिमा भएको बृहत कार्यक्रमले ओखलढुंगाको विकासका लागि कोशेढुंगा भएको बताए । उनले आफ्नो जन्मस्थान समेत ओखलढुंगा रहेकाले यस क्षेत्रको विकासमा योगदान गर्ने बताए । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले भाषा साहित्य र संस्कृति हाम्रो वैभव भएको बताए । उनले साहित्यिक भूमिका रुपमा रहेको ओखलढुंगामा साहित्यिक पर्यटनको विकास गर्न यो कार्यक्रम कोशेढुंगा भएको बताए ।
सिद्धिचरणको जन्मस्थान, सिद्धिचरण नगरपालिका १२ मा रहेको अर्धकदको शालिक विस्थापन गरेर पूर्ण कदको शालिक निर्माण गरिएको छ । त्यस्तै श्रष्टापार्कमा प्रथम गायिक मेलवादेवी, लोकगायक पाण्डव सुनुवार, सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको अर्धकदको प्रतिमा तथा उद्यान निर्माण गरिएको छ ।