१३० करोड जनता श्रीकृष्ण झै भारतको पक्षमा उभिए : मोदी
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १३० करोड भारतीय श्रीकृष्णका रुपमा भारतका पक्षमा उभिएको बताएका छन्।
लोकसभा चुनावको नतिजा आइरहँदा भारतीय जनता पार्टीले दिल्लीमा गरेको विजयोत्सव कार्यक्रमलाई सम्बोधन मोदीले महाभारतमा श्रीकृष्णले हस्तिनापुरको पक्षमा उभिए झैँ १३० करोड भारतीय मुलुकको पक्षमा उभिएको बताएका हुन्।
‘यो चुनाव कुनै दल वा उम्मेदवारले नभएर जनताले लडेका हुन्’, उनले भने, ‘महाभारत युद्धपछि कसको पक्षमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा कृष्णले भन्नुभएको थियो, ‘म कसैको पक्षमा छैन। हस्तिनापुरको पक्षमा छु।’ भारतीय जनता पनि मुलुकको पक्षमा छन्।’
मोदी बोलिरहँदा विजयोत्सवका सहभागीले ‘‘‘मोदी..मोदी..’ नारा लगाइरहेका थिए। मोदीले फकिरको झोला जनता जनार्दनले भरिदिएको बताए। ‘हामी देशबासीमाझ जनादेश लिन गएका थियौँ’, उनले भने, ‘आज हामीले देखेका छौँ कि करोडौँ नागरिकले फकिरको झोला भरिदिएका छन्।’
मोदीले विजयीसभामा भारतीय नागरिकप्रति शिर झुकाएर नमन गरे। ‘म भारतका १३० करोड नागरिकलाई शिर झूकाएर नमन गर्छु’, उनले भने, ‘लोकतान्त्रिक विश्वमा २०१९ को यो चुनाव र मतदानको आँकडा सबैभन्दा ठूलो घटना हो।’
देश स्वतन्त्र भएपछिका सबै लोकसभा चुनावमा यसपटकको चुनावमा सबैभन्दा बढी मतदान भएको उनले बताए। ‘यो भारतका मतदाताको जागरुकता हो’, उनले भने, ‘लोकतन्त्रप्रति भारतको प्रतिबद्धताप्रति पूरा विश्वले विश्वास गर्नुपर्छ।