जसले पाए आमाको नामबाट नागरिकता
पोखरा : अदालतसम्म धाएर न्याय मागेपछि पोखरा ९ पृथ्वीचोकका रोशन गुरुङले आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनले बिहीबार नागरिकता लिए। यसअघि उनले दायर गरेको रिटमा उच्च अदालत पोखराले रोशनलाई उनकी आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो।
आमाको नामबाट नागरिकता पाऊँ भनी रोशनले जिल्ला प्रशासन कार्यालय कास्कीमा २०७४ कात्तिक १२ गते निवेदन दिएका थिए। तर प्रशासनले नदिएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा उनी अदालत गएका हुन्। प्रशासनलाई विपक्षी बनाएर रोशनले उच्च अदालत पोखरामा २०७५ कात्तिक ३० गते रिट दायर गरेका थिए।
न्यायाधीशद्वय जीवनहरि अधिकारी र विनोदप्रसाद शर्माको संयुक्त इजलासले २०७६ वैशाख ४ गते जिल्ला प्रशासन कार्यालय कास्कीका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन भनेको थियो।
आमा कन्याकुमारी गुरुङको नामबाट रोशनले बिहीबार वंशजको आधारमा नागरिकता पाएका हुन्। प्रशासकीय अधिकृत ऋषिराज आचार्यले हस्ताक्षर गरी रोशनलाई नागरिकता उपलब्ध गराएका छन्। रोशनकी आमासँग वंशजकै नागरिकता थियो। वेपत्ता बाबाका बारेमा भने रोशनलाई नै थाहा छैन।
कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ। तर पनि कास्की प्रशासनले रोशनलाई नागरिकता दिन इन्कार गरेको थियो। नागरिकता पाएपछि रोशनले आफूलाई खुसी लागेको अन्नपूर्णलाई बताए।