ढोरपाटन पुग्नै सकस
ढोरपाटन(वाग्लुङ) : गुल्मी मालिका गाउँपालिका-५ की गोमा गिरी सकस यात्रा पार गर्दै ढोरपाटन पुगिन्।दिनभर सडक यात्राको धुलोले उनी साँझपख बिरामी भइन्। ढोरपाटन पुगेर मनोरम दृश्य अवलोकन गर्ने उनको इच्छा बिरामी भएपछि विस्तारामै सिमित भयो। सडक धुलाम्मे र साँघुरो हुँदा ढोरपाटन पुग्ने उनीजस्ता धेरैको इच्छा अपुरो हुने गरेको छ।
बुर्तिवाङ बजारदेखि झण्डै तीन घण्टाको उकालो यात्रापछि पर्यटकीय एंव धार्मिकस्थल ढोरपाटन पुगिन्छ।साँघुरो सडकमा गाडी ओहोरदोहोर गर्न निकै गाह्रो छ। 'गाडीलाई साइड दिने ठाउँ समेत छैन,'सवारी चालक बसन्त श्रीसले भने,'यस्तोमा दुर्घटना हुन्छ कि भन्ने डर लाग्छ।'
एकतर्फी सवारी मुस्किलले चल्ने उक्त सडकमा उडेको धुलोले सडकसमेत देखिदैन।दायाँतर्फबाट उकालो चढ्दै गरेका सवारीलाई साइड दिन झण्डै १० मिनेट बायाँतर्फका सवारीले पर्खिनुपर्छ।सडक साँघुरो र धुलाम्मे भएकाले ढोरपाटन आउने पर्यटक कष्टकर यात्रा गर्न बाध्य छन्।
पछिल्लो समय ढोरपाटनमा पर्यटकको संख्या ह्वात्तै बढेको छ। तर सडकको अवस्था राम्रो नहुँदा यहाँ आउने आन्तरिक पर्यटक मन खिन्न बनाएर फर्किन बाध्य छन्। केहीदिन अघि छिमेकी जिल्ला गुल्मीबाट ढोरपाटन पुगेकी कमला केसीले सडक अप्ठ्यारो भएकाले ढोरपाटन फर्केर आउन मन नलागेको बताइन्। 'बाटो अप्ठ्यारो छ,'उनले भनिन्, ' सडक सास्तीले ढोरपाटन फेरी आउन मन छैन।' उनले ढोरपाटनमा पर्यटकलाई बास बस्नका लागि समेत समस्या भएको बताइन्।
जिल्लाको खर्वाङ बजारदेखि बुर्तिवाङसम्म पक्की सडक छ। बुर्तिवाङदेखि ढोरपाटनसम्म पुग्ने उकालो सडक साँघुरो भएकाले ढोरपाटन पुग्ने तिर्थयात्री र पर्यटकलाई समस्या भएको हो। नेपालकै सुन्दर यस पर्यटकीयस्थल ढोरपाटनमा विभिन्न जिल्लाबाट धार्मिक भ्रमणका लागि दिनहुँजसो पर्यटक आउने गर्छन्। तर, सडकको दुरावस्थाले पर्यटकलाई सास्ती हुने गरेको छ।
ढोरपाटन पुग्ने उक्त सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। पानी परेपछि सडक चिप्लो हुने भएकाले गाडी ढोरपाटन पुग्नै सक्दैनन्। त्यसैले धेरैजसो पर्यटक वैशाख र जेष्ठ महिनामा ढोरपाटन आउने गरेको स्थानीयले बताए।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्र सडक र पर्यटक बस्ने भौतिक संरचनाको अभावले सुन्दरता नियाल्न पुगेका पर्यटकलाई कष्टरकर बनाइ दिएको छ। ढोरपाटनलाई व्यवस्थित र सडकलाई राम्रो बनाउनका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ।
पर्यटकीय एवं धार्मिकस्थल ढोरपाटनमा वैशाख पूर्णिमा र भदौ महिनामा ढोर बराह मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।सोही मेला हेर्न र दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजनको घुँईचो लाग्ने गर्दछ।