२० वर्षसम्म बनेन मार्तडी-कोल्टी सडक
बाजुरा : मार्तडी-कोल्टी सडकखण्डको शिलन्यास भएको २० वर्ष पुगिसकेको छ। तर, अझैं पनि सडक निर्माणले तीव्रता पाएको छैन। जिल्लाको पूर्वी उत्तर क्षेत्रका चार स्थानीय तह र कणाली प्रदेशका हुम्ला,मुगु,कालीकोट जिल्लाको मुख्य मार्ग मार्तडी कोल्टी सडकखण्ड शिलान्यास भएको २० वर्षसम्म पनि सम्पन्न भएको छैन।
४२ किलोमिटरको सडक निर्माणका लागि ३५ करोडभन्दा बढी खर्च भइसकेको छ। तर सडकखण्ड पूरा नहुँदा स्थानीय गाडी तानेर यात्रा गर्न बाध्य छन्।अव्यवस्थित सडक र खाल्डाखुल्डीका कारण जोखिमपूर्ण तरिकाले गाडी चलाउनुपर्ने बाध्यता भएको चालकले बताए।
२०५६ सालमा निर्माण कार्य सुरु भएको थियो।मार्तडी-कोल्टी सडक ४२ किलोमिटर रहेको छ। जीप र ट्याक्टर सञ्चालनमा आएपनि बाटो निकै अप्ठयारो भएकाले गाडी बिग्रने, फसीने गरेको जीप व्यवसायी पृथ्वी रावलले बताए। ४२ किलोमिटर बाटोमा जीप पुग्न ६ घण्टा भन्दा बढी समय लाग्ने गरेको उनले बताए।
उक्त सडक निर्माणका क्रममा १६ वर्षसम्म ३५ करोडभन्दा बढी खर्च भइसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पूरा नभएको स्थानीयबासीले बताए।जसका कारण यातायात संचालनमा असहज भएको छ।
२०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति वर्तमान प्रतिनिधिसभाका सदस्य लालबहादुर थापाले उक्त सडकको शिलन्यास गरेका थिए। शिलन्यासको बेला २०६० सम्म कोल्टीमा गाडी पुर्याइ सक्ने लक्ष्य थियो।
कामका लागि खाद्यन्न कार्यक्रमबाट २७ करोड ४० लाख, तत्कालिन जिल्ला विकास समिति बाजुराबाट ८ लाख, कर्णाली वरिपरिको कार्यक्रमबाट ३६ लाख र तत्कालिन उत्तरी क्षेत्रका ११ गाविसबाट २१ लाख र सडक विभागबाट ५ करोड गरी ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका नगरपालिका बुढिन्नदा नगरपालिकाबाट १ करोडभन्दा बढी खर्च भइसकेको छ ।
करोडौ रकम खर्च भइसकेको छ।अहिलेसम्म सडक निर्माण हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले बताए ।सडक निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङन गर्नुपर्ने हुन्छ। तर उक्त सडकमा अध्ययनविना नै सडक निर्माण गरी मनोमानी तरिकाले रकम खर्च गरेको स्थानीय जनम धामीले बताए।
अध्ययन विनानै सडक खन्ने काम भएको प्राविधिकले बताएका छन्।सडक निमार्णका क्रममा पोरखे लेकमा करोडौं मूल्यका रुख फडानी भएको स्थानीय लक्ष्मीराज पाध्याले बताए।
'डोजर नै प्राविधिक भएर बाटो खन्ने काम भएको छ।वातावरणीय अध्यान विना सडक निर्माण गर्दा बडिमालिका नगरपालिका ७ जिल्ली गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको,' बडिमालिका नगरपालिका- ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।
सूदुरपश्चिम प्रदेश सरकारले वहुवर्षीय सडक भन्दै उक्त सडकका लागि रकम बिनियोजन गरेको छ।मार्तडीदेखि पोरखेसम्म कालोपत्रेका लागि ५७ करोड २८ लाख २७ हजार ७ सय ५३ रकम बिनियोजन भएको प्रदेश सांसद बल्देब रेग्मीले बताए।