पर्खाइ मोदी ‘सहकार्य’
काठमाडौं : भारतमा नरेन्द्र मोदी दोस्रोचोटि प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदैछन्। गैरकांग्रेसी नेता दोहोरिएर प्रधानमन्त्री बन्ने मोदी पहिलो नेता हुन्। बेलायती उपनिवेशबाट मुक्तिपछि मोदीले जसरी गैरकांग्रेसी नेताले यसरी दोहोरिने अवसर पाएका थिएनन्।
भारतीय जनता पार्टी (बीजेपी) सहितको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को सफलतापछि भारत, क्षेत्रीय र विश्वराजनीतिमा पर्ने प्रभावबारे बहस हुन थालेको छ। लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत ल्याएपछि उनले सबैसँग ‘सहकार्य’ गर्ने उद्घोष गरेका छन्। हिन्दुत्वको नारामा अघि बढेको दलले ल्याएको जितमा भारतको आगामी यात्रा तय हुने भएको छ।
नेपालको अधिक सहकार्य र अन्तरक्रिया रहने मुलुक भारत भएकै कारण पनि उसको चुनावी परिणामबारे नेपालीले चासो लिनु स्वाभाविक भएको पूर्वराजदूत दीपकुमार उपाध्याय बताउँछन्। नेपाल–भारत सम्बन्ध विभिन्न तहमा रहेकाले धेरैको सोचाइ भारतले नेपाललाई कसरी हेर्छ ? त्यसमा अडेको छ। उपाध्यायले भने, ‘कतिपय कूटनीतिक निर्णय सरकारी तहबाट मात्र सम्भव छैन। त्यही बिन्दुमा अडेर सहकार्य अघि बढ्छ।’
उनको जस्तै बुझाइ छ, प्राध्यापक लोकराज बरालको पनि। प्राध्यापक बराल भन्छन्, ‘हाम्रा लागि जसले जिते पनि तात्त्विक भिन्नता आउँदैन। तर हामीले आफ्नो पथमा स्पष्ट हुनुपर्छ।’ भारतको नेपाल हेर्ने दृष्टिकोणमा नीतिगत बदलाव आउँछ कि भन्ने चासो पनि छ।
बीजेपीले अघिल्लोपटक ल्याएको सिट तीन दशकमा कसैले ल्याउन सकेको थिएन। सन् २०१४ मा बीजेपी एक्लैले २८२ र गठबन्धनले संसद्मा कुल ३३६ सिट ओगटेको थियो। त्यतिबेलै विरासत र व्यक्तित्व टकरावको राजनीति संग्राम चलेको थियो। त्यो अहिले पनि दोहोरियोे। यसलाई क्यास गरेर विकास प्रक्रिया अघि बढाएको मात्र होइन, सहकार्य स्पष्ट पारेर मोदी अघि बढेका छन्।
नेपाल नीतिमा परिवर्तन होला ?
विदेश मामिला यस्तो विषय हो, जसको स्थायी नीतिमा तत्काल परिवर्तन आउँदैन। तर, राजनीतिक नेतृत्वले कुन विषयलाई महत्त्व दिने भन्ने स्पष्ट हुन्छ। त्यसैले कुन विषय नेपालमा प्राथमिकतामा पर्ने र कुन थाती रहने भन्ने चासो छ। ‘संविधानपछि निर्वाचित सरकारप्रति भारतीय नेतृत्वको ‘रबैया वा सदभाव’ के हुन्छ ? ’ नेपालीको चासो छ। यद्यपि बीजेपी र कम्युनिस्ट सम्बन्ध राम्रो नरहने भन्ने सन्देश चिर्न केपी ओली प्रधानमन्त्री हुनुअघि नै मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर सुधारको संकेत गरेका थिए। पुनः उनै मोदी सत्तामा आउँदा सम्बन्ध कता लैजान्छन् भन्ने विषय यहाँ आमचासोमा छ। कतै मोदीले हिन्दुत्वको भाव त राख्दैनन् भन्ने आमबुझाइ पनि छ।
मोदीले आफ्नो पाँचवर्षे कार्यकालमा पटकपटक नेपाल भ्रमण गरे। १७ वर्षदेखि नेपालमा भारतका प्रधानमन्त्रीले पाइला नटेकेको सन्दर्भमा उनी प्रधानमन्त्री भएलगत्तै भुटान गए। त्यसपछि नेपाल आएर दक्षिण एसियामा नेपालको महत्त्व झल्काए। उनले संसद्मा भाषण गरे। नेपाली जनता र नेताको मन जितेर गए। त्यसपछि उनी पुनः नेपाल आए सार्क शिखर सम्मेलनमा सहभागी हुन। उनको दोस्रो भ्रमण खासै सुखद रहेन। जनकपुर जाने इच्छा त्यतिबेला अधुरै भयो।
‘कतिपय कूटनीतिक निर्णय सरकारी तहबाट मात्र सम्भव छैन। त्यही बिन्दुमा अडेर सहकार्य अघि बढ्छ।’ - दीपकुमार उपाध्याय, पूर्व राजदूत
नेपालमा महाभूकम्पपछि उनले देखाएको सदासयता निकै प्रशंसनीय रह्यो। मोदीले नयाँ संविधान जारी नगराउन जोड मात्र गरेनन्, संविधान भएपछि चर्काे असन्तुष्टि देखाए। नाकाबन्दी लाग्यो। जसले गर्दा मोदीको विरोध मात्र होइन नेपालमा समग्र भारतविरोधी भावना बाहिर आयो। त्यसपछि सुध्रिएको सम्बन्ध सुधार्दै उनी बिमस्टेक सम्मेलनमा नेपाल आए। बिमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नहुने धारणाले पुनः चिसोपन देखिन थाल्यो।
सम्बन्ध सुमधुर अनि बिग्रिएको र पछि सच्चिएको अवस्थामा मोदीले नेपाललाई कुन तवरले लिन्छन् भन्ने जिज्ञासा छ। पूर्वराजदूत उपाध्यायले हामीले हाम्रो आन्तरिक मामिला र मुद्दामै केन्द्रित भएर भारतसँग सहकार्य गर्न सके अबका दिनमा समस्या नआउने बताए।
‘हाम्रा लागि जसले जिते पनि तात्त्विक भिन्नता आउँदैन। तर हामी आफ्नो पथमा स्पष्ट हुनुपर्छ।’- लोकराज बराल, विश्लेषक
विश्लेषक हरि शर्माले पाकिस्तानसँगको सम्बन्धले यस क्षेत्रको शान्ति र विश्वराजनीति तय गर्ने बताए। नेपाल–चीन, नेपाल–अमेरिका र नेपाल–भारत एकअर्कामा कसरी सहकार्य गर्छन् भन्ने विषयले पनि मोदीको आगामी कूटनीतिक यात्रा तय हुनेछ। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक रणनीति अनि नेपाल–भारत सम्बन्ध साँच्चै सोचेर अघि बढ्नुपर्ने अवस्था छ’, शर्माले भने।
प्रधानमन्त्री केपी ओली, सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुले मोदीलाई बधाई तथा शुभकामना दिएर सदभाव त कायमा गर्न खोजेका छन्, तर सम्बन्ध तथ्यमा अघि बढ्छ।
मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका छन्। साथै छिमेकीसँग सहकार्य गर्ने विषय आफंैमा अर्थपूर्ण छ। उनले एक नयाँ भारतको कल्पनासमेत सुनाए। उनले गल्ती सुधारेर भारतलाई छिमेकसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबाट पनि उनको छिमेक नीति प्राथमिकतामा रहने स्पष्ट छ।
‘मोदीको अघिल्लो कार्यकाल विवादमा बित्यो। उनले जातीयता, राष्ट्रवादमात्र होइन सञ्चारमाध्यम र स्रोतको परिचालन गरेर निर्वाचन जिते,’ द वायरका सम्पादक सिद्धार्थ बद्र्धराजनको निष्कर्ष छ। पछिल्लो समय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क, नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले बुझाएको प्रतिवेदन लगायतमा टसमस देखिनुले उनीमाथि शंका गर्ने स्थान प्रशस्त छ। यद्यपि गल्ती सुधारेर सहकार्य बढाउने बाचा सकारात्मक पक्ष हो।