व्यक्तिका नाममा सांसदका योजना

व्यक्तिका नाममा सांसदका योजना

सिरहा : सिँचाइ योजनामा व्यक्तिव्यक्तिको नाममा बोरिङ बाँडिएपछि सिरहा नगरपालिकाका वडाध्यक्षहरूले विरोध जनाएका छन्। सिरहाको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा चालू आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कार्यपालिका सदस्य र वडाध्यक्षहरूले संयुक्त रूपमा नगरपालिका कार्यालयमा निवेदन दिँदै व्यक्तिको नाममा योजना विनियोजन गरिएपछि त्यसलाई रोक्न माग गरेका छन्।

प्रतिनिधिसभा सांसद लीलानाथ श्रेष्ठले आफ्नो पार्टीका नेता, कार्यकर्ताको नाममा योजना दिएका छन्। कृषि सिँचाइका लागि बोरिङ जडान शीर्षकमा छुट्याइएको बजेटबाट कुन व्यक्तिको, कति किता नम्बर जग्गामा बोरिङ जडान गरिने उल्लेख गरी जिल्ला समन्वय समितिबाट स्थानीय तहमा पठाइएको छ। व्यक्तिको नामै तोकेर योजना बाँडेपछि उक्त कार्यक्रमका निर्देशक समिति सदस्य सांसद सीतादेवी यादवले पनि असहमति जनाएकी छिन्।

सिरहा नगरपालिकाका २२ वटै वडाका लागि बोरिङ जडान गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये ३ सय ७८ जना व्यक्तिको नाममा बोरिङ बाँडिएको छ। त्यस्तै अर्नमा गाउँपालिका–१ मा १० लाख बजेटमा इनुस मियाँ, तालिब अन्सारी, आलम अफरोज अन्सारी, ध्यानी महतो, चन्द्रकला केवटनी, सन्जितिया देवी मुखिया, इजराइल मियाँ, हसमथ खातुन, बेचनीवती केवटनी, एकासीदेवी चौधरी र नरहा गाउँपालिका–२ मा १० लाख बजेटमा विलट सिंहको नाम तोकेर उनीहरूको कुन कित्ता नम्बर जग्गामा बोरिङ जडान गरिनेसमेत उल्लेख छ।

व्यक्तिको नामै तोकेर योजना बाँडेपछि सांसद सीतादेवी यादवले असहमति जनाएकी छिन्।

गतवर्षको कात्तिक ३० गते कार्यक्रम निर्देशक समितिको पहिलो बैठकमा सांसद श्रेष्ठले सिरहा नगरपालिकाका लागि डेढ करोड रुपैयाँ व्यक्तिव्यक्तिको नाममा बोरिङ जडान र वडा नम्बर २ मा धर्मशाला निर्माणका लागि विनियोजन गरेका थिए। पछि धर्मशाला निर्माणको योजना पनि परिवर्तन गरेर बोरिङ जडानमै रकम खर्चिइयो। तत्कालीन जिल्ला समन्वय अधिकारी शोभाखर रेग्मीले पनि उपस्थितिमा मात्रै हस्ताक्षर गरेका छन्।

नियमावलीअनुसार नै योजना छनोट र परिवर्तन गरेको सांसद श्रेष्ठले बताए। ‘आफ्ना कार्यकर्तालाई मात्रै योजना दिइएको छैन’, उनले भने, ‘सबैलाई समेटेर बोरिङ बाँडिएको छ।’

कसरी फेरियो योजना ?

स्थानीय पूर्वाधार विकास कार्यक्रम साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली–२०७५ अनुसार सरकारले छुट्याएको एक निर्वाचन क्षेत्रका ४ करोड बजेटको छनोट भइसकेका योजना ०७५ माघ १५ गतेभित्र परिवर्तन गर्न सकिने समयसीमा उल्लेख छ। तर सांसद श्रेष्ठले ०७५ फागुनमा धर्मशाला निर्माण योजना संशोधन गरेका छन्।

योजना संशोधन गरिएको पत्र जिल्ला समन्वय समितिले सिरहा नगरपालिकामा ०७५ फागुन १९ गते दर्ता गराएका छन्। त्यो पत्र ०७५ माघ १४ गते लेखिएको मिति उल्लेख छ। पत्रमा चलानी नम्बर ५६२ ‘क’ लेखिएको छ। कर्मचारी स्रोतका अनुसार नियमावलीले तोकेको मितिभन्दा फरकमा योजना संशोधन गरिएकाले पुरानो मिति राखेर चलानी नम्बर फेरिएको हुन सक्छ। उक्त पत्रमा निमित्र जिल्ला समन्वय अधिकारी मोहम्मद सुल्तान राहीले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.