अनुभूतिका बाढीपहिरा
नरेन्द्रराज पौडेलको नयाँ पुस्तक ‘आकाशको डर’ पढ्दै जाँदा वाक्य, अनुच्छेद र पाठपाठमा हाँसोको फोहरा छुट्छ। पहिलो पृष्ठ पल्टाउँदा किताबको शीर्षक रहेको ‘आकाशको डर’ निबन्धले तानिहाल्यो। १० वर्षअघि निजी भ्रमणको सिलसिलामा अमेरिका उडेका लेखक दम्पती चढेको जम्बो जेटले सनफ्रान्सिस्को एयरपोर्टमा निर्धारित समयमै उत्रिनुको साटो आकाशमै कावा खाएर यात्रुहरूलाई हैरान बनाएछ। त्यतिबेर लेखक दम्पतीको मनमा कुनै आतंककारी समूहले जहाज अपहरण गरेको या जहाजको चक्का नखुलेको अथवा तेल चुहिएर ग्लाइडिङ गर्दै आकाशमै हल्ट गर्नु परेको जस्ता तर्कवितर्कले हैरान बनाएको विवरण प्रस्तुत गरेका छन्। अमेरिकाबाट फर्कने क्रममा पनि थाई एयरलाइन्सको जम्बो जेट त्रिभुवन विमानस्थलमा निर्धारित समयमा उत्रिन लागेको अवस्थामा आँधी र वर्षाले भुइँमा उत्रिनै नसकेर कताकता कावा खाँदै बाक्लो बादलभित्र हराएपछि अरू यात्रुसँगै सातो उडेको वर्णन गरेका छन् लेखकले।
केही वर्षअघि विमानस्थलमा अवतरण हुन नसकी घ्याङफेदीमा दुर्घटनाग्रस्त भएको थाई जहाज र भट्टेडाँडामा बज्रिएर चकनाचुर भएको पाकिस्तानी बोइङ जहाजकै नियति भोग्नुपर्ने त हैन भन्ने डरले लेखक दम्पती सन्त्रस्त बनेको विवरण टीठलाग्दो छ। बाक्लो बादलभित्र आधा घन्टा आकाशमा हराएर सकुशल अवतरण भएपछि लेखक दम्पती पनि अरू यात्रीजस्तै हर्षातिरेकमा अभिभूत बनेका छन्। लेखक दम्पतीको अनुभवमा दुवै हवाई यात्रा निकै रोचक र विस्मयकारी बनेका छन्।
स्वदेश यात्राका क्रममा लेखिएको ‘तादी किनारमा एक रात’ले पाठकलाई बेग्लै मनोरञ्जनात्मक संसारमा पुर्याएको अनुभव हुन्छ। चार दशकअघिको नुवाकोटको सामाजिक, सांस्कृतिक र जनजीवनका चालचलन भाँती चरित्रलाई वर्तमान नियात्राको सन्दर्भमा प्रस्तुत गरेका छन् लेखकले। गाउँघरका रीतिरिवाज, चलनचल्ती र स्वछन्द आचारविचारका सजीव वर्णनले फ्ल्यासब्याक शैलीमा भरपूर मनोरञ्जन दिएका छन्।
‘बूढीहरूसँग दक्षिणकाली’ अर्को विशिष्ट प्रकारको अनुभव समेटिएको नियात्रा हो। निम्नवर्गका सबाल्टर्न र होचा मान्छेप्रति समकालीन नेपाली समाजबाट देखाइने द्वेष, निन्दा, घृणाजस्ता व्यवहारबाट उत्पन्न मानवीय सकसको मार्मिक अभिव्यक्ति पोखिएको छ यहाँ। शरीरले होचो हुनु, उमेरले बूढी हुनुर यात्रुले खचाखच भरिएको बसमा सिट ओगटेका सहयात्रीबाटै शारीरिक यातना र प्रताडना पाउनुदुःखद लाग्छ। बसको खलासीको निर्मम व्यवहारबाट पनि उत्तिकै हेपिएका र प्रताडित र भइरहेका नेपाली अबोला दीनहीन वर्गका प्रतिनिधि पात्र बनेका छन् दुइटी बूढीआमा। सम्मान र पदीय गरिमाको मर्यादाभन्दा व्यक्तिगत लाभ र दुव्र्यवहारको रसेटोमा पिल्सिएको ज्येष्ठ नागरिक समाजको मार्मिक चित्र
कोरिएको छ यहाँ।
आजको ६ दशकअघि कुन रूपमा स्थापित र पूजित थियो गुरुजनको बानी–व्यवहार अनि गुरुकुलको पढाइ भन्ने देखाउँछ ‘स्मृति शेष ती दिनहरू’ निबन्धले। स्रष्टा गुरुजनलाई आफ्नै घरमाथिको जुगल हिमाल र घरैमुनि बगेको शरदकालीन सङ्लो इन्द्रावती नदीसँग तुलना गर्दै पवित्र वाणी–व्यवहारले गुरुजनलाई ऋषिकल्प मान्छन्। वर्तमान समयका विद्यार्थी वर्गले बारम्बार पढ्नुपर्ने देखिन्छ यो पाठ। त्यस्तै किशोरकालको आफ्नै चटपटे उत्ताउलो बानीले कुष्ठरोगी बन्न पुग्दा लेखक विक्षिप्त अवस्थामा पुगेको विवरण पनि आकर्षक र स्वाभाविक ढंगले प्रस्तुत गरिएको छ यसै निबन्धमा।
सिन्धुपाल्चोकका विभिन्न साहित्यिक कार्यक्रममा स्रष्टा स्वयं अभिनन्दित हुँदा निर्वाचन अभियानमा युवा पुस्ता र उदार प्रजातान्त्रिक पक्षमा लाग्दा भएका आरोह–अवरोह र सत्यतथ्य घटनालाई कतै कथात्मक, कतै नाटकीय र कवितात्मक शैलीमा प्रस्तुत गरेका छन् स्रष्टाले। ‘जित्नेरूको बस्ती’ निबन्धमा यस्तै छनक पाइन्छ। ‘कागे भेडा र कविताको सिरेटोे’ निबन्धमा सिन्धुपाल्चोकको दुर्गम गाउँ किउलमा आयोजित साहित्यिक कार्यक्रमलाई रोचक र रसिलो पाराले प्रस्तुत गरिएको छ। त्यहाँसम्म आउँदाजाँदा बसयात्राका साथीहरूसँग आपूm बाल्यकालमा पैदल हिँड्दाका रुमानी घटना तथा अनुभवलाई मनोरञ्जनात्मक शैलीमा बखान गरेका छन्।
‘राम्रो म,’ ‘सम्झनाको घाउ बोकेर’ निबन्धले ५० वर्षअघिको सीपापोखरे तीनघरे धुसिनी आदि गाउँको अँध्यारो फ्ल्यास ब्याकमा आधुनिक परिवर्तन र भौतिक उपलब्धिका पक्षहरू प्रतिविम्बित गरिएका छन्। यहाँ स्वयं लेखकले बाल्यकालमा पौडी खेलेको खोला दह र अध्ययन गरेका मावली गाउँको जीवनचित्र उतारेर पाठकसामुकिशोर सुलभ रमाइला प्रसँग र अनुभूति पस्किएका छन्।
त्यस्तै ‘जुहारीमा जमेको रात’ले ठाडो भाका हालेर सिलोके जुहारी घन्काउने अन्ताक्षरी प्रतियोगिता गरेर आपसमा रमाउनेजस्ता प्रसँग आकर्षक रूपमा प्रस्तुत भएका छन् स्रष्टाले। जित्नेहरुको बस्तीले पनि तत्कालीन बागमती अञ्चलको राजनीतिको निर्णायक केन्द्र रहिआएको सिन्धुपाल्चोक बाँडेगाउँ छर्लंग देखिन्छ। अहिलेको पुस्ताले पल्याउनै गाह्रो पर्ने अनेक घटना प्रपञ्चहरू पुनः कथनशैलीमा पोखिएका छन्। विदेश यात्रातर्फ नियाल्दा ‘यात्रा हलिउडको...’ ‘हिप्पीबस्तीमा एक दिन’ यी दुवै निबन्ध पनि रोचक र पठनीय छन्।
पपसम्राट्का रूपमा विश्वचर्चित माइकल
ज्याक्सनको ग्लान्डेल सहरबाट भएको शवयात्रा र लेखकको हलिउड यात्रा एकै दिन पर्नु वियोगान्त संयोग मान्नुपर्छ। तर भएको छ त्यस्तै। आपूmले बाल्यकालमा देखेका विन्दास छाडा हिप्पी चरित्र र जीवनचर्याले लेखकलाई अतीतको संसारतिर डुलाएको तर हालको अवस्थामा हिप्पीबस्ती हाइट एस्बोरीमा कतै केही गतिविधि नभएको वृत्तान्तलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ‘हिप्पीबस्तीमा एक दिन’ निबन्धमा। ‘जुरासिक पार्क’, ‘सन्निभेलमा दसैं’ जस्ता निबन्धहरूले लेखकको अमेरिका बसाइका नौरंगी अनुभव प्रस्तुत गरेका छन्।
दक्षिण कोरियाका विभिन्न उद्योग प्रतिष्ठान र ऐतिहासिक स्थलहरूको भ्रमण वृत्तान्तले अरू वस्तुतथ्यको उद्घाटन र मनोरञ्जन प्रदान गरेका छन्। युरोप, अफ्रिका र एसियाका १८ देशका २२ जना वरिष्ठ सरकारी अधिकारीहरूको जमघटले कोरियाका पुराना बस्तीको भ्रमण गर्दै त्यहाँको खानपान, रहनसहन र भौगोलिक अवस्थितिको रोचक प्रस्तुतिले निबन्ध झनै स्वादिष्ट लाग्छ। त्यस्तै पुट्टपर्तीको भ्रमणमा साईबाबाको गौरवपूर्ण गरिमा विभूषित व्यक्तित्व र साई आ श्रमआसपासका मन्दिर गौशाला संगीतकला र चिकित्सा अध्ययन अनुसन्धानका महाविद्यालय र शैक्षिक सांस्कृतिक प्रतिष्ठानको निर्माण र व्यवस्थापनजस्ता वृत्तान्तले आ श्रमलाई विचित्र रूपमा प्रस्तुत गरिएको छ। समग्रमा नियात्रा संग्रह ‘आकाशको डर’ पठनीय छ।