राजधानी एक्सप्रेस
दाइ
कलंकी चोक आइपुग्यो
हिँड्दै जाऊँ दाइ
हेर्दै जाऊँ दाइ
एकछिनमा आइपुग्छ त्रिपुरेश्वर
बरु यताबाट जाऊँ
यो उल्टो बाटो नजाऊँ
यताबाट सीधै पुगिन्छ– केन्द्रीय कारागार
जहाँ पर्न नपर्नेहरू पनि परेका छन् भन्छन्
बरु सीधै जाऊँ
हाम्रो घरको आँगनभन्दा अलि ठूलो
टुँडिखेल आइपुग्छ– एकछिन बसौं
क्रिकेट खेलेको हेरौं
कुन श्रीपेचको आदेशमा घोडा हिन्हिनाइरहन्छ ?
–त्यो पनि हेरौं
हाम्री बहिनी उमेरकी–एक बहिनी
कसरी बदाम बेच्छिन् ?
–त्यो पनि हेरौं
छेउमै छ
मायालुहरूको प्रेमपत्रभन्दा पनि
पीर पीर बोकेर बसेको हुलाकघर
–त्यो पनि हेरौं
एउटा कुरा के दाइ !
यहाँ त
मान्छेको भाग्य सुगाले बताउँछ
धरहरा छैन दाइ
उहिल्यै मन भत्किएझैं भत्कियो
हामी सीधै यही बाटो जाऊँ
यो बाटैमा भेटिन्छ
आफैं अस्पताल हिँड्न लागेको अर्को अस्पताल
हेर दाइ !
यो चैं भोटाहिटी चोक हो
अलि भित्र पर्छ असन र इन्द्रचोक
त्यतातिर बढी जात्रा लागिरहन्छ
उतातिर त फर्केर पनि नहेर
ठेकेदारले माझीँ औंलामा लगाएको
हीराको औंठी भइसक्यो– रानीपोखरी
उतापट्टि भित्तामा बस्छन् भानुभक्त बा।
बरु एकछिन यो शान्ति बाटिका बसौं
रत्नपार्क हेरौं
उहिल्यै यहाँ छ नि दाइ
ज्यान किन्ने र बेच्नेको बजार लाग्थ्यो रे
ऊ त्यो चैं घण्टाघर हो दाइ
जो उहिल्यैदेखि उभिएको छ
असमय बोकेर
उठ दाइ !
यहाँबाट जाऊँ हामी
पुरानो बसपार्क हुँदै निस्कौँ
त्यताबाट सीधै पुगिन्छ सिंहदरबार
जसको भित्र पसेर हेर्ने हो भने
बूढो चस्मा निदाइरहेको भेटिन्छ– कुर्सीमा
यो चैं न्यायालय हो दाइ
यसैको मूलढोकामा भेटिन्छन् अझै न्याय खोजिरहेका–प्रेतआत्माहरू
वारिवारि हुँदै जाऊँ
माइतीघर मण्डला आइपुग्छ
तिमीले रेडियोमा खुब सुनेको माइतीघर मण्डला त्यही हो
जेसुकै होस् हिँड्दै जाऊँ
अलि पर देखिन्छ
नयाँ बानेश्वर चोक
संसद् भवन र माननीयहरू
जसलाई हामीले पठाएका थियौं– देश बनाउन
एकछिन सुस्ताऊँ है दाइ !
यो चैं तीनकुने हो
अलि एकछिनमा आइपुग्छ विमानस्थल
देखिन्छन् थरीथरीका जहाज
जो जाँदा जिउँदो लिएर जान्छ
दाइ
यो बाटो सीधै जाऊँ हामी
यो बाटो सीधै पुगिन्छ आर्यघाट
एकछिन टक्क अडिएर
घाटमा आगो कुरिरहेको लाससँग यो कुरा सोधौं
तिमी सबभन्दा सुखी कहिले भएका थियौ ?
[email protected] ‘सालिकहरूको देश’ र ‘बा’ पुस्तकका सर्जक हुन्।