सेक्स, ड्रग्स एवं रक एन्ड रोल

सेक्स, ड्रग्स एवं रक एन्ड रोल

के उज्याला तारा छिट्टै बलेर सकिन्छन् ? छोटो र उत्तप्त जीवन राम्रो कि लामो र औसत ? के प्रतिभा र पागलपनको केही सम्बन्ध छ ? इतिहासले असाधारण मानेका व्यक्तिहरू सबैमा मानसिक समस्या देखिएकै छ। फ्रिडा काहलो, भर्जिनिया वुल्फ, सिल्भिया प्लाथदेखि भिन्सेन्ट भ्यान गगसम्मको जीवन हेर्दा उनीहरूको जीवन प्रतिभा र पागलपनबीचको सीमामा दौडिएको देखिन्छ। आधुनिक युगका मनोविश्लेषकहरू सिर्जनशीलता र अस्थीर मानसिक अवस्थामा सम्बन्ध देख्छन्। उनीहरूका अनुसार असाधारण सिर्जनशीलता मुड डिसअर्डर, बाइपोलर डिसअर्डर आदि जस्ता समस्याको नतिजा हो। महान् सर्जक भनिएका धेरै व्यक्तिहरूको आफ्नो मानसिक अस्थीरताका कारण अल्पायुमा मृत्यु भएको छ। पाश्चात्य रक संगीतको क्षेत्रमा त्यस्तै गायक कलाकारहरूको बाहुल्य छ। 

साठीको दशकयता पाश्चात्य सांगीतिक परिदृश्यमा तीन कुराको दबदबा रह्यो— सेक्स, ड्रग्स र रक एन्ड रोल। यी तीनलाई प्रख्यात बनाउने श्रेय जान्छ ट्वन्टी सेभेन क्लबलाई।
सत्ताइस वर्षको हाराहारी उमेरमा मरेका केही प्रतिभाशाली युवा गायक, संगीतकारहरू छन् जसको समूहलाई ट्वन्टी सेभेन क्लब भनिन्छ। देब्रे हातले गिटार बजाउने भगवान् भनिएका जिमी हेन्ड्रिक्सदेखि ग्रन्ज रकका हस्ती मानिएका कर्ट कोबेनसम्म यो समूहमा पर्छन्। तर सायद यो समूहमा पर्ने सबैभन्दा प्रख्यात हस्ती हुन्, ‘द डोर्स’ ब्यान्डका गायक जिम मोरिसन। 

नशामा धुत्त भएर स्टेजमा चढ्ने अनि स्टेजमा अनेक बितन्डा मच्चाउने गायक पात्रमाथि हलिउडदेखि बलिउडसम्मले अनेक पल्ट अनेक सिनेमा बनाएका छन्। यी सबै सिनेमा केही न केही जिम मोरिसनकै जीवन र व्यक्तित्वमा आधारित हुन्। 

इम्तियाज अली निर्देशित र रणवीर कपुर अभिनीत फिल्म रकस्टारको पात्र जोर्डन एक महानतम् रकस्टार बन्न चाहन्छ। हृदयबाट संगीत निस्कन त्यो नमज्जाले तोडिनुपर्छ भन्ने मान्यता हुन्छ उसको। जीवन अराजक हुनुपर्छ भन्ने मान्यता हुन्छ उसको। समयक्रमसँगै ऊ आफूले चाहेजस्तो प्रख्यात त हुन्छ तर उसको आफ्नो जीवन भने लथालिंग हुन पुग्छ। कहिले ऊ पत्रकारसँग झगडा गर्छ त कहिले स्टेजमा दर्शकलाई माझी औंला देखाउँछ।

अमर्यादित व्यवहार गरेको आरोपमा पक्राउसमेत पर्छ। जोर्डनको पात्रको व्यक्तित्व जिम मोरिसनको जीवनबाट धेरै प्रभावित देखिन्छ। रक संगीतको दुनियाँको पहिलो ब्याड ब्वाइ हुन् जिम मोरिसन। उनीपछि आजसम्म पनि उनकै समानको ख्याति चाहेका सबै रक स्टारहरू उनैको कदम र शैली पछ्याइरहेका हुन्छन्। उनीजस्तै बन्ने प्रयास गरिरहेका हुन्छन्। तर उनीजस्तो अर्को न कहिले कोही भयो न हुने नै छ। 

हिप्पीहरूको युग

साठीको दशक अमेरिका थियो नै त्यस्तै। पागलपनको हद पार गर्ने किसिमका पार्टीहरू, यौन स्वच्छन्दता र ड्रग्सको मादक सम्मिश्रणको दशक थियो यो।अमेरिकाका युवाहरू पुँजीवाददेखि विकर्षित भएर मुक्ति र आनन्दको खोज गर्न थालेको समय थियो साठीको दशक। त्यस बेलाको कला र संगीतमा यही भावना प्रकट हुन थालेको थियो। हिप्पीहरूको उदय हुँदै थियो। एलएसडी र गाँजा चरेसले दिएको रुमानी अनुभवहरू त्यस बेलाका कलाकारहरू आआफ्नो सिर्जनामार्फत व्यक्त गरिरहेका थिए।

सेक्स, ड्रग्स, पागलपनको हद पनि पार गरे केही रक गडहरूले। यिनै लेजेन्डरी केहीमध्येमा पर्छन्, जिम मोरिसन। यिनले आफ्ना केही स्टेज पर्फर्मेन्सहरूमा जे गरे, रक संगीतको इतिहासमै त्यसलाई नभुलिने हर्कत मानिन्छ। 

त्यसैले यो युगका रक गायक संगीतकारहरू ‘रक गड’को स्ट्याटसमा पुगे। उनीहरूको गीत त पुजिन्छ नै, फ्यानहरू यी रक गडहरूका एक एक किस्सा श्रद्धापूर्वक सुन्ने सुनाउने गर्छन्। सेक्स, ड्रग्स, पागलपनको हद पनि पार गरे केही रक गडहरूले। यिनै लेजेन्डरी केहीमध्येमा पर्छन् जिम मोरिसन। यिनले आफ्ना केही स्टेज पर्फर्मेन्सहरूमा जे गरे, रक संगीतको इतिहासमै त्यसलाई नभुलिने हर्कत मानिन्छ। 

सधैं नशाले लट्ठजस्ता देखिने आँखा, फेसन मोडलहरूले लगाउने जस्तो लुगा लगाइ, ग्रिक देवताहरूजस्तो सुन्दर अनुहार र शरीर। जिमको व्यक्तित्व सम्मोहक थियो। पूर्वीय आध्यात्मिक दर्शनमा पश्चिमाहरूको रुचि बढेको समय थियो त्यो। जिम मोरिसन महर्षि महेश योगीद्वारा प्रतिपादित भावातीत ध्यान गर्थे, नित्सेको दर्शन र बिट जेनेरेसनका कविहरूको कविता पढ्थे, अनेक लागूपदार्थ र मदिराले लट्ठ पर्थे। 

मस्तिष्कले अर्कै लोकको उडान भर्न थालेपछि उनी त्यही लोकको वर्णन कागजमा उतार्थे। यसरी बन्थ्यो उनले गाउने गीत र लेख्ने कविताहरू। बिटल्स र अन्य समकालीन ब्यान्डहरूले शान्ति, खुसी र प्रेमका गीतहरू गाइरहँदा उनको ब्यान्ड ‘द डोर्स’ले अँध्यारा र रहस्यमयी गीतहरू गायो। 

इतिहासकै सबैभन्दा विवादास्पद रकस्टार जिम मोरिसन आफ्नो समयको सेक्स सिम्बोल मानिन्थे। पुरुषहरू उनीजस्तो बन्न चाहन्थे भने महिलाहरू उनीसँग सुत्न चाहन्थे। जिम पनि कम थिएनन् आफ्नो यो स्टेटसलाई बढावा दिनमा। जननेन्द्रियको आकार देखिने गरी लगाएको टाइट लेदर प्यान्ट त उनको पहिचान नै बनेको थियो। आफ्ना कन्सर्टहरू खुला मैदानमा भन्दा बढी बन्द अडिटोरियमहरूमा गर्न रुचाउँथे जिम। उनले गीत गाउँदा बीचबीचमा कराउने आवाज अडिटोरियमका भित्ताहरूमा थर्किएर भित्रै रुमल्लिरहोस् भन्ने उनको चाहना हुन्थ्यो। जहाँसुकै जाँदा उनका वरिपरि कुनै चामत्कारिक गुरुलाई घेरेझैं गरी भीडले उनलाई घेरेको हुन्थ्यो। जिम असाधारण विद्वान् थिए। उनको आईक्यु १४९ थियो। १३० माथिको आईक्यु भएको मान्छेलाई जिनियस मानिन्छ। 

ज्ञानलाई सर्वोपरि मान्ने उनले कलेजका दिनहरूमा कैयौंपल्ट किताब किन्नकै लागि भनेर खाना खान छुट्याएको पैसा खर्च गरेका थिए। पुस्तक पढ्नु र कविता लेख्नु विशेष सोख भएका जिमले नित्से, ज्याक केरुवाक, एलन गिन्स्बर्गजस्ता कवि लेखक र दार्शनिकहरूलाई छिचोलेर पढेका थिए। त्यसको प्रभाव यिनका गीतहरूमा स्पष्ट देख्न सकिन्छ। भनिन्छ, यी सम्भोग गर्दा महिलाहरूले निकालेको आवाज ध्यान दिएर सुन्थे र आफ्ना गीतहरूमा तिनै ध्वनिको नक्कल गरेर कराउने गर्थे। 

संसारलाई माझी औंला

‘यु आर लस्ट लिटल गर्ल’ गीतको स्टुडियो रेकर्डिङ हुँदै हुन्छ। डोर्स ब्यान्डका सदस्यहरू जिमलाई आवाज केही नरम बनाउन भन्दै हुन्छन्। उनको स्वर निकै धोद्रो आइरहेको हुन्छ। केही उपाय नलागेर उनीहरूले जिमकी त्यस बेलाकी प्रेमिका पामेला कोर्सनलाई बोलाउँछन्। पामेलाले स्टुडियोभित्रै छिरेर जिमलाई ब्लो जब दिन थाल्छिन्। जिम गाइरहन्छन्। अब भने उनले नरम आवाजका साथ गाउँछन्। 

१९६७, डिसेम्बर ९ का दिन अमेरिकाको कनेक्टिकट राज्यको न्यु हेभेन भन्ने ठाउँमा कन्सर्ट हुँदै हुन्छ, जिमको। केही बेरमै उनी स्टेजमा पुग्नुपर्ने हुन्छ। उनी भने कन्सर्ट स्थलको बाथरुममा एउटी युवतीसँग प्रेमालापमा व्यस्त हुन्छन्। यही क्रममा एउटा प्रहरीले उनलाई देखेर सार्वजनिक स्थलमा त्यसो नगर्न भन्छ। प्रहरीलाई जिमले मुख छाड्छन्। प्रहरीले उनलाई लट्ठीले हान्छ। यसको केही बेरमा स्टेजमा पुगेका उनी स्टेजबाटै प्रहरीलाई तथानाम गर्न थाल्छन्। केही प्रहरीहरू तत्काल स्टेजमै चढ्छन् र उनलाई प्रक्राउ गर्छन्। यसरी उनी कार्यक्रम हुँदाहुँदै स्टेजबाटै पक्राउ पर्ने पहिलो गायक बन्न पुग्छन्।

मार्च १, १९६९ जिम मोरिसन र उनको ब्यान्ड ‘द डोर्स’को कन्सर्ट हुन्छ अमेरिकाको मायामीमा। उनी भने बिहानैदेखि रक्सी खाएर झल्लु भई बसेका हुन्छन्। कन्सर्ट हुन लागेको हलमा सात हजार मान्छे मात्र अटाउने, तर आयोजकहरूले १२ हजार मान्छे छिराएका हुन्छन्। अत्यधिक गर्मीले भीड आलसतालस भएको हुन्छ।

रातको ११ बजेतिर ढलमलिँदै स्टेजमा चढ्छन् जिम। उनी गाउन सक्ने अवस्थामै हुँदैनन्। गाउनुपर्ने गीतका लिरिक्स भुलिसकेका हुन्छन् उनले। त्यसैले गीत सुरु गर्दै लिरिक्स भुलेर बीचमै त्यसलाई छाड्ने गरिरहेका हुन्छन्, जिम। केही बेरमै उनी गाउन छाडेर बर्बराउन थाल्छन्। हिटलरदेखि समाजवादसम्मका कुरा गर्न थाल्छन् स्टेजबाट। 

रक्सीले मातेर गाउनै नसक्ने भएका जिमलाई देखेपछि भीड उत्तेजित हुन थाल्छ। एकजना दर्शकले स्टेजमै चढेर जिमको शरीरमा रक्सी खन्याइदिन्छन्। जिमले हाँस्दै आफ्नो लुगा खोल्छन् र दर्शकलाई पनि आआफ्ना लुगा खोली एकअर्कासँग सम्भोग गर्न आग्रह गर्छन्। यतिले नपुगेर उनी प्यान्ट खोलेर सबैलाई आफ्नो लिंग देखाउँदै भन्छन्, ‘तिमीहरू मेरो गीत सुन्न हैन, यही हेर्न आएका हौ ! लौ हेर !!।’ यो रात रक म्युजिकको इतिहासमै सम्झनयोग्य र कुख्यात रातको रूपमा दर्ज हुनेवाला थियो। केही बेरपछि स्टेजमा कसैले एउटा भेडा ल्याएर राखिदिन्छ। जिम त्यसलाई समात्छन् र दर्शकलाई सोध्छन्, ‘के तिमीहरू मैले यो भेडासँग सम्भोग गरेको हेर्न चाहन्छौ ?’ 

नशाले लट्ठिएका १२ हजार दर्शक आफूले पूजा गर्ने गरेको रक गडको यो बहुलट्ठीमा पनि रमाउँछन्। धन्न जिमले भेडालाई केही गर्नचाहिँ गर्दैनन्। आश्चर्य त के भने त्यो रात त्यस कन्सर्टमा के के भयो र त्यहाँ जिमले के भने, गरे भन्ने कुरा ठ्याक्कै कसैलाई सम्झना हुँदैन। यो रातका बारेमा अनेक किस्सा सुनाइन्छ तर ती किस्सामा एकरूपता छैन। २७ वर्षको कलिलो उमेरमै जिमको मृत्यु भएपछि त झन् उनका यस्ता कर्तुतहरूमा अनेक उपकथा थपिने र यस्ता घटनालाई मिस्टिफाई गरिने क्रम बढ्न थाल्छ। 

५ मार्चका दिन जिमलाई स्टेजमै कपडा खोलेको, सार्वजनिक स्थलमा आफ्नो लिंग देखाएको जस्तो आरोपमा ६ महिनाको जेल सजाय सुनाइन्छ। जिमका वकिलले थमौती गराइरहेकै हुन्छन् जेल सजाय, यस्तैमा जिमको मृत्यु भएको खबर आउँछ। सन् २०१० मा आएर मायामीको अदालतले जिमलाई त्यस घटनाका लागि मरणोप्रान्त माफी दिएको घोषणा गर्छ। 

मृत्यु

संसारलाई आश्चर्यचकित र स्तब्ध पार्दै जिमी हेन्ड्रिक्स, जेनिस जोप्लिन र ब्रायन जोन्सकै झैं २७ वर्षकै उमेरमा जिम मोरिसनको मृत्यु भएको खबर आउँछ। सुरुमा त कसैले पत्याउँदैनन्। धेरैले ठान्छन्, संसारदेखि वाक्क भएका जिमले कतै लुक्नलाई आफ्नो मृत्यु भएको हल्ला आफैंले फैलाउन लगाएका हुन्। फ्रान्सको एउटा घरको बाथटबमा उनी मृत फेला परेको भन्ने खबरलाई उनका फ्यानहरूले पत्याएकै हुँदैनन्। फ्रान्सकै एक डाक्टरले तयार गरेको डेथ सर्टिफिकेटमा उनको मृत्यु हृदयाघातका कारण भएको भनिएको हुन्छ। कालान्तरमा उनको मृत्यु हेरोइन ओभरडोजबाट भएको रहस्य खुल्छ। 

उनले आत्महत्याको प्रयास गरेको पनि अनुमान गरिन्छ। पछि कुनै क्लबको शौचालयमा हेरोइनको अत्यधिक प्रयोग गरेर अचेत अवस्थामा फेला परेका उनलाई उनकै साथीहरूले होश खुलाउन घर ल्याएर बाथटबमा हालेको कुराको खुलासा हुन्छ। सन् १९७१ यता फ्रान्सस्थित जिम मोरिसनको समाधिस्थलमा पर्यटक र फ्यानहरूको मेला लाग्ने गरेको छ। कोही त्यहाँ बसेर लागूऔषध सेवन गर्ने चाहनाका साथ गएका हुन्छन् त कोही त्यहीँ आफ्नो पार्टनरसँग सम्भोग गर्ने इच्छा राखेर गएका हुन्छन्। फ्यानहरू आआफ्नै ढंगले यी रक लेजेन्डप्रति आफ्नो सम्मान प्रकट गर्न त्यहाँ जाने गर्छन्। आइफिल टावरपछिको दोस्रो प्रख्यात फ्रेन्च पर्यटकीय आकर्षण मानिन्छ, जिम मोरिसनको समाधिस्थल। आजसम्म पनि वार्षिक करोडौं प्रतिका दरले जिम मोरिसन र ‘द डोर्स’को अल्बम बिक्री हुने क्रम जारी छ। 

१२ वर्षको उमेरदेखि नै नशामा लटठएर स्कुल जाने गरेका जिम आफ्नो छोटो जीवनभर डिप्रेसनसँग संघर्षरत रहे। कवि बन्ने सपना पाल्थे उनी। सन् १९६९ मा रोलिङ स्टोन म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘सभ्यताको अन्त्यमा केवल गीत र कविता बाँकी रहनेछन्। उपन्यास, पेन्टिङ र कलाका अन्य स्वरूप हराएर जालान् तर गीत र कविता मान्छे पृथ्वीमा रहुन्जेल रहिरहनेछन्।’ उनी जीवित रहुन्जेल त उनको संगीतकै चर्चा रह्यो तर हाल आएर जिम मोरिसनका कविताहरूले पनि आफ्नो लायकको ख्याति पाउँदै छन्।

अमेरिकी विद्वान्हरूले उनका कवितालाई उनको समयको सशक्त क्रान्तिकारी आवाज मानेका छन्। कविताका किताब पाँच हजारदेखि सात हजार प्रति बिक्दा बेस्ट सेलर मानिन्छन् जब कि जिम मोरिसनका कविताको संग्रह ‘वाइल्डरनेस ः द लस्ट राइटिङ अफ जिम मोरिसन’ दुई लाख पचास हजार प्रतिको हाराहारीमा बिकिसकेको छ। 

आर्मी अफिसरका छोरा जिम डिसेम्बर ८, १९४३ मा जन्मिएका थिए। बाल्यकालदेखि नै पुस्तक भनेपछि हुरुक्क हुने उनी जर्मन कवि दार्शनिक फ्रेडरिक नित्सेका फ्यान थिए। रक्सी र ड्रग्सको प्रभावमा उनको व्यक्तित्व जस्तो प्रकारको बन्दै गयो, त्यसले उनको ब्यान्ड र उनलाई चर्चाको शिखरमा त पुर्‍यायो तर चार वर्षको छोटो समयका लागि मात्र। सायद ताराहरू जति उज्याला हुन्छन्, त्यति नै छोटो उनीहरूको आयु हुन्छ। 

राजा र रानीको भेट

साठीको दशकको अन्त्यतिर रक एन्ड रोलका राजा मानिन्थे जिम मोरिसन। उनको कन्सर्टमा केटीहरू उनलाई देखेर उत्तेजनाले काम्थे। गायिका ज्यानिस जोप्लिन पनि रक एन्ड रोलकी रानी कहलिएकी थिइन् तिनताका। प्रोड्युसर पल रोथचाइल्डले यी दुवैलाई भेटाउने विचार गरे। राजा र रानीलाई साथै लिएर केही नयाँ परियोजना सुरु गर्ने उनको स्वार्थ हुँदो हो। दुवै अत्यधिक मदिरा पिउने र नशामा मनपरी गर्ने मान्छे हुन् भन्ने रोथचाइल्डलाई थाहा थियो। त्यसैले उनले दुवैलाई नपिईकन आउन आग्रह गरेका हुन्छन्। रोथचाइल्डले आयोजना गरेको कुनै पार्टीमा 

ज्यानिस र जिमको भेट हुन्छ। आफ्नो समयका सेक्स सिम्बोल मानिएका ह्यान्डसम जिमलाई देखेर सुरुमा ज्यानिस भुतुक्कै हुन्छिन्। जिम पनि ज्यानिसको उन्मुक्त स्वभाव देखेर दंग पर्छन्। अब यी दुईको सहकार्यबाट केही नयाँ हुन सक्ने सम्भावना देखेर रोथचाइल्ड दंग परिरहेका हुन्छन् तर जसै रात छिप्पिँदै जान्छ र मात चढ्दै जान्छ, दुवै आआफ्नो असली रङ देखाउन थाल्छन्। 

विशेष गरी जिम पिएपछि निकै झगडालु हुन्थे। जिम जानाजान ज्यानिससँग निहुँ खोज्न थाल्छन्, सुरुमा त रोथचाइल्डको मुहार हेरेर ज्यानिस चुप लाग्छिन् तर अति नै भएपछि भने ज्यानिस त्यहाँबाट निस्कन खोज्छिन्। रोथचाइल्ड उनको इशारा बुझेर उनलाई साथै लिएर तल गाडीसम्म छाड्न जान्छन्। जिम दौडेर उनीहरूको पछिपछि लाग्छन्। ज्यानिस गाडीमा बसिसकेकी हुन्छिन्। जिम त्यहीँ गएर उनलाई बाहिर निस्किन भन्छन्। ज्यानिस बाहिर निस्किन नमानेपछि जिम उनको कपाल तानेर उनलाई बाहिर निकाल्न खोज्छन्। ज्यानिस पनि के कम, जिमको टाउकामा सिसाको बोतलले हानिदिन्छिन्। यति हुँदासम्म भने जिम ज्यानिसको हठी र बलियो व्यक्तित्वप्रति मोहित भइसकेका हुन्छन्। भोलिपल्ट उनी रोथचाइल्डसँग ज्यानिसको नम्बर माग्छन्। रोथचाइल्डले जिमको इशारा बुझेर ज्यानिससँग पुनः एकपल्ट जिमसँग भेट गर्न अनुनय गर्छन् तर ज्यानिस यसपालि भने टेर्दिनन्। 

ज्यानिसको १९७० मा मृत्यु हुन्छ भने जिमको १९७१ मा। सायद स्वर्गमा अझै पनि जिम ज्यानिसलाई पछ्याउँदा होलान् र ज्यानिस जिमलाई पन्छाइरहेकी होलिन्। रक संगीतको इतिहासमै यी दुईबीच भएको पहिलो भेटलाई निकै रमाइलो घटना मानिने गर्छ। ट्वन्टी सेभेन क्लबका तीन सदस्य एकसाथ भेट भएको पनि एउटा रमाइलो किस्सा छ। 

गिटारका देवता भनिने गरेका जिमी हेन्ड्रिक्सको जाम सेसन हुन्छ न्युयोर्कको एउटा नाइट क्लबमा। हेन्ड्रिक्स स्टेजमा गाउँदै हुन्छन्। ज्यानिस जोप्लिन एउटा टेबलमा बसेर सुन्दै हुन्छिन्। यत्तिकैमा त्यहीँ पिएर बसिरहेका जिम मोरिसन स्टेजमा चढेर तथानाम गर्न थाल्छन् र स्टेजमै लड्छन्। त्यसपछि जिमी हेन्ड्रिक्सको खुट्टा तानेर उनलाई पनि घिसार्दै स्टेजबाट तल झार्ने क्रममा एउटा टेबल लडाउन पुग्छन् जिम। टेबलमा राखेको पेय पदार्थ सबै ज्यानिसको काखमा पोखिन्छ।

पागल प्रेम 

आफूलाई राजा ठान्ने र ‘लिजार्ड किङ’ उपनामले चिनिन मन पराउने जिमलाई तह लगाउने उनकी रानी थिइन्, पामेला कोर्सन। आफ्ना धेरैजसो कविता र गीतहरू उनले पामेलालाई नै सम्झेर लेखेका थिए। पामेला पनि उनलाई मरिमेटेर प्रेम गर्थिन्। कति प्रेम गर्थिन् भने जिमको मृत्यु भएको तीन वर्षभित्र पामेलाको पनि मृत्यु भयो। त्यो पनि सत्ताइस वर्षकै उमेरमा। 
जिम २२ र पामेला १९ वर्षको हुँदा उनीहरूको भेट भएको थियो। साठीको दशकका युवाको साँचो प्रतिनिधि थिइन् पामेला। वर्तमानमा जिउने, सक्दो मोज गर्ने र भोलिको केही चिन्ता नगर्ने। उनका यही गुणहरूले जिम उनीप्रति आकर्षित भएका थिए। ख्याति पाउनुअघि लन्डन फग नामको नाइट क्लबमा जिम आफ्नो ब्यान्डका साथ गाउने गर्थे।

त्यहीँ उनीहरूको पहिलो भेट भयो। दुवैले एकअर्काको वाइल्ड व्यक्तित्वमा समानता देखे। दुवैबीच प्रेम भयो। यिनीहरूको प्रेम जति प्रगाढ थियो त्यसमा त्यति नै पीडा र पागलपन पनि थियो। झगडा, कुटाकुट भइरहन्थ्यो। दुवै केही समयलाई कोही अर्कै व्यक्ति डेट गर्न थाल्थे तर फेरि हरेकपल्ट मिलाप भइहाल्थ्यो। एकपल्ट त पामेलाले जिमसँग झगडा गरी आफ्नो कोठाभित्र छिरेर ढोका लगाइन्। जिमले कोठामा आगै लगाइदिए। जसातसो बचेर बाहिर निस्कन सफल भइन् पामेला। दुवै अनेक लागूऔषध र मादकपदार्थका अम्मली थिए। मानौं, दुवै आफैंलाई र एकअर्कालाई बरबाद गर्नमा उद्यत थिए। 
 

पामेला चाहन्थिन्, जिमले ब्यान्ड छाडून्। उनको नजरमा जिमभित्रको कवि उनीभित्रको रकस्टारभन्दा धेरै प्रतिभाशाली थियो। अन्ततः १९७१ मा ‘द डोर्स’सँगको आफ्नो अन्तिम एल्बम रेकर्ड गराएर जिमले ब्यान्ड छाडे र पामेलासँग पेरिस बसाइँ सरेर गए। पेरिसमा केही महिना जिमले कविता लेखे। त्यहाँ उनीहरूको शान्तिपूर्वक जीवन व्यतीत भइरहेकै थियो, त्यही वर्षको जुलाईमा जिम मोरिसन मृत फेला परे। आफ्नो मृत्यु भएको खण्डमा सबै सम्पत्ति पामेलाले पाउने व्यवस्था गरेर गएका हुन्छन् जिम। यसकारण पामेलाको मिलेमतोमा जिमको हत्या भएको आशंका गरिन थाल्छ। यता जिमको मृत्युपश्चात् पामेलाको मानसिक अवस्था दिनानुदिन डामाडोल हुँदै गइरहेको हुन्छ। उनी जिम जिउँदै भएको र जिमले आफूलाई फोन गर्ने गरेको दाबी गरिरहेकी हुन्छिन्। यस्तैमा ड्रग ओभरडोजका कारण सत्ताइस वर्षको उमेरमा पामेलाको मृत्यु हुन्छ।

अहिले नै आएनौ भने हाम्रो प्रेम 
चिताको आगो बन्नेछ
त्यसभन्दा अघि 
आऊ आजको रात सँगै मिलेर जलाऊँ
आऊ प्रिय आगो सल्काइदेऊ 
कमन बेबी लाइट माई फायर
नसोध किन अलाबामाको चन्द्रमा
छिट्टै र नजिकै कुनै भट्टी नभेटे 
हामी बाँच्दैनौं 
त्यसैले हामीलाई बाटो देखाइदेऊ 
        –जिम मोरिसन @swamianoopamaxl 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.